वंशवृक्ष – पुरुषोत्तम दाहाल, अनिमेष दाहाल

कविद्वय पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कवितासंग्रह हो ‘वंशवृक्ष’ । संग्रहमा कविद्वयले समाज, मूल्य, जीवन दर्शनलाई नवीन तरिकाले चित्रण गर्नुभएको छ ।

”साहित्य अत्यधिक कोमल अन्तर संवेदनाको उपज हो, यसमा पनि कविता सबभन्दा बढी ।” पुस्तकमा कलानिधी दाहाल लेख्नुहुन्छ, ”यसैले यो पुरानो पुस्तासँगभन्दा नयाँ पुस्तासँग मात्रात्मक अधिकता हुन्छ, ज्यादा हुन्छ। कवितात्मक हृदय भएको नयाँ पुस्तासँग पुराना पुस्ताले प्रस्पिर्धा गर्नु पराजयलाई पहिले नै स्वीकार्नु हो निष्पक्ष मूल्याङ्कन भएका खण्डमा । सांसारिक यात्रात्मक सङ्घर्षका धेरै आयामसँग चाहे ती सुखका हुन्, चाहे दुःखका। चाहे ती समतौल तराजुका हुन्, चाहे विषमतौल तराजुका । दुवैले अन्तर संवेदनाका मात्रा समाप्त गर्दै अर्थात् घटाउँदै गएका हुने हुनाले धेरै वयवसन्त पार गरेपछि विचार बढ्छ, अनुभव बढ्छ, हेर्ने दृष्टिकोणहरू दार्शनिक घेरामा पुगेर यो भए यो किन नहुने रु यो नहुँदा यो किन हुने रु जस्ता समदृष्टि जति विकसित हुँदै जान्छन् उति नै संवेदना घट्‌दै जान्छ, जाने हुन्छ । संवेदनाका मात्रा कम हुँदै जानु भनेको नै कवित्वचेतको उचाइमा कमी आउनु हो। कमी हुँदै जानु हो। यसर्थ मेरो मात्र मान्यता होइन गहिरिएर हेर्ने सबैको सर्वसिद्ध मान्यता हो- कवित्वशक्ति अगाडिको पुस्तामा भन्दा आउँने पुस्ता वा नयाँ पुस्तामा बढी हुन्छ, सशक्त हुन्छ, सबल हुन्छ त्यत्तिकै अब्बल पनि । सन्दर्भ ‘वंशवृक्ष’ कविता सङ्ग्रहको छ यहाँ ।”

त्यसैगरी पुस्तकमा प्रा.डा कुलप्रसाद कोइराला लेख्नुहुन्छ,” कवि पुरुषोत्तम दाहाल कविता, उपन्यास, कथा, जीवनी र व्यवसायाख्यान (मेरो पत्रकारिता) जस्ता कृतिका स्रष्टा भएका कारण उनका कवितामा आएका काव्य भाषाले आजको वैश्विक चित्रको अभिचित्रण सारै गम्भीर किसिमले गरेका छन् । संस्कृत वाङ्मयको अध्ययन र कौलिक संस्कारले परिपक्व पौरस्त्य जीवनमूल्यप्रतिको दृढ आस्थाका जगलाई हल्लाउने सामर्थ्यका साथ भोगेको, पढेको र देखेसुनेको आजको भौतिक मूल्यमान्यताप्रतिको प्रभावजनित मूल्यबोधका द्वन्द्वले चिटिक्क पारेर सिंगारिएका चयनपूर्ण शब्दावलीको स्थानरुचि अनुकूलका शब्द प्रयोग क्षमताका दृष्टिले पनि दाहालका कविताको व्यख्याका निमित्त पाणिनिले भनेको ‘शब्दस्य विश्वतो मुखम्’ भन्ने सिद्धान्त स्वीकार गर्नैपर्छ । जसरी ब्रह्ममा अनन्त शक्ति सामर्थ्य रहेको हुनाले त्यो सत्तायुक्त छ ठीक त्यसैगरी अङ्क, चित्र, बिम्ब र प्रतीक तथा प्रतिकृतिले पनि स्पष्ट गर्न नसकेका अर्थ, सङ्केत र सूच्यसन्देशलाई शब्दले नै स्पष्ट पार्नुपर्ने अवस्था रहन्छ ठीक त्यसैगरी विश्वविराट प्रकृतिका शक्तिसामर्थ्यलाई पनि व्यामोहित पार्ने सामर्थ्य रहने भएको हुनाले नै ब्रह्मलाई शब्दसँग उपमित गरिएको हो। साधनाका आरनमा अग्नितापित अभिव्यक्ति सामर्थ्यको शब्दका माध्यमले शब्द कै व्याख्या भनेको काठका चुलामा काठका दाउरा बालेर काठकै चामल पकाउनु जस्तै हो।”

पुस्तकलाई मिलाप पब्लिकेशन प्रा.लि.ले बजारमा ल्याएको हो । तीस ओटा कविता समेटिएको संग्रहको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।