साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई  अध्यात्मदर्शनको क्षेत्रमा कलम चलाउँदै आएका कमल रिजालकृत प्रयोगात्मक कृति “धर्मदर्शन” प्राप्त भएकाे छ ।

पुस्तकलाई स्वास्थ्य दर्शन, स्वभाव दर्शन, र स्वधर्म दर्शन गरी तीन खण्डमा विभाजित गरेका  छन् ।

“स्वास्थ्य दर्शनमा आसन, चक्र, ध्यान आदिका सारभूत कुरा छन् । पहिचान, प्रयोग, प्राप्ति र पदचिह्नका सूत्रहरू छन् । सूत्र छन् तर सरल भाषामा सम्पूर्णतामा बोकेका सूत्र । लेखकको अध्ययन, अभ्यास र आदतबाट निःसृत सूत्रहरू ।” भूमिकामा डा. नवराज लम्साल लेख्छन्, “स्वभाव दर्शनमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, यिनका प्रभाव, व्यवस्थापन र व्यवस्थापन कौशलबाट पाइने प्राप्तिको चर्चा छ । तेस्रो हो- स्वधर्म दर्शन । यसमा धृति, क्षमा, शम, अस्तेय, शौच, इन्द्रियनिग्रह, विद्या, बुद्धि, सत्य र अक्रोधको कुरा छ । मूल कुरो समस्या होइन, मूल कुरो त त्यसको व्यवस्थापन हो । सृष्टिको कुनै सिर्जना  र रहस्य बेअर्थ छैन । अप्रयोग र अज्ञानता बेअर्थको कारण हो । हामी आफूलाई हेर्छौँ, सामग्रीलाई हेर्छौँ तर मूल स्रोतलाई हेर्दैनौँ । यहीँ छ समस्या । समस्याको समाधान कसरी ? झन् आफैँबाट समाधान कसरी त ? लाग्छ उत्तरका रूपमा यहाँ पहाड रसाएर अमृत खसेको छ । मेरो भनाइलाई अतिशयोक्ति नठानियोस् कि यो साँच्चै सारभूत, प्रयोगात्मक र लोकोपकारी ग्रन्थ हो र ग्रन्थै हो ।”
लेखकीयमा लेखिएको छ, “मानिसले दुःख पाउनुको कारण मानिस आफैँ हो । अथवा यसलाई यसरी पनि बुझौँ आफ्नो स्वास्थ्य, स्वभाव र स्वधर्मलाई बुझ्न नसक्दा वा बुझ्न नखोज्दा नै दुःख पाएका हुन् मानिसले । यीमध्ये रोग, रोगको कारण र उपचारको खोजी स्वस्थ दर्शनअन्तर्गत भएका छन् । मानिसको स्वभाव, तिनका परिणाम र तिनलाई कसरी आनन्ददायी बनाउन सकिन्छ भन्ने कुराको चर्चा स्वभाव दर्शनअन्तर्गत भएका छन् भने स्वधर्मको पहिचान तथा तिनको उपयोगिताको उल्लेख स्वधर्म दर्शनअन्तर्गत आएका छन् ।”

पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । ५७ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य १ सय ८५ रुपियाँ रहेको छ ।