साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, एक दशक भन्दा बढी समयदेखि नियमित रूपमा स्वास्थ्यसम्बन्धी लेखहरूका लेखक डा. बालकृष्ण साहकृत गैरआख्यान विधाको कृति “गर्भका गर्व” प्राप्त भएकाे छ

१ सय १९ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘छोरी किन भएछु’, ‘चेलीको पीडा’, ‘प्रीतिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’, ‘बाध्यता’, ‘कोरोनाको फरक कथा’ र ‘युद्ध जितेको रात’ जस्ता जीवन्त शीर्षकहरूमा स्त्रीरोग, मातृशिशुको स्वास्थसँग सम्बन्धित ९ वटा लेख सङ्ग्रहित छन् ।

“यो सिर्जनात्मक गैरआख्यानको आवश्यकता किन पर्यो, यसको छोटो मीठो उत्तर छ- साहित्य र स्वास्थ्यको संगम गराउन । साहित्य समाजको ऐना हो भने स्वास्थ्य जीवनको आवश्यकता । यस पुस्तकमा ४० वर्ष उमेर नपुगेका ती महिलाहरूको कथा भन्छ, जसले वैवाहिक जीवनमा सन्तान जन्माउन खोज्दा कस्ता समस्या आइपरे र कसरी जीवन मोडियो ।” लेखकीयमा डा. बालकृष्ण साह लेख्छन्, “नेपालमा १ लाख सन्तान यो धर्तीमा आउँदा १ सय ५१ जना गर्भवतीको मृत्यु हुन्छ । कुनै रोग नलागी, केवल सन्तान जन्माउँदा यति धेरै महिलाहरूको मृत्यु हुनु दुखद् हो । हुन त, पहिलेको तुलनामा मातृ मृत्युदर निकै कम छ, तापनि मृत्यु हुने महिलाको यो सङ्ख्या स्पेन र स्विडेनजस्ता मुलुकका तुलनामा बढी हो । त्यहाँ एक लाख बच्चा जन्मँदा केवल चार गर्भवतीको मृत्यु हुन्छ । अझ इटाली, नर्वे, पोल्याण्डमा त दुई मात्र छ ।”

‘छाेरीकाे माइती’ शीर्षकमा उल्लेख छ, “विगत केही दिनदेखि गर्भकै विषयमा जाेई-पाेई बीचमा द्वन्द्व चलिरहेकाे थियाे । एकातिर सन्तान प्राप्तिकाे असीम चाहना अनि अर्काेतिर स्वास्थ्यकाे जटिलता । दुई वर्षअघि अस्पतालबाट घर आउँदा सङ्गीताले पनि अब सन्तान नपाउने साेच बनाएकी थिइन् । तर अरूका दुई-दुई सन्तान देखेर उनलाई  छट्पटी हुने गर्थ्याे । त्यस्ताेमा उनी आफूले आफैँलाई  सम्झाउँथिन् । तर अहिले आएर एक्कासि महिनावारी राेकियाे । श्रीमान्-श्रीमतीकाे कुनै याेजना थिएन तर गर्भ रह्याे । गर्भलाई निरन्तरता दिने सङ्गीताकाे चाहना पलायाे, जुन स्वाभाविक थियाे तर त्यस गर्भले उनकाे ज्यानै लिनसम्म सक्थ्याे ।”

शब्दमिडिया प्रा. लिबाट प्रकाशित यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।