नौ डाँडापारि –विष्णु एस राई

लेखक विष्णु एस राईको यात्रा निबन्ध संग्रह हो ‘नौ डाँडापारि’ । राईले पुस्तकमा आफ्नो वैदेशिक यात्रा छिमेकी मुलुक भारत, चाइना, हुँदै बेलायत, स्विट्जरल्यान्ड, फिनल्यान्ड, इन्डोनेसिया जस्ता देशमा पुग्दाको अनुभव लेख्नुभएको छ ।

”नौ डाँडापारि’ नियात्रा सङ्ग्रह राई सरले विदेशी मुलुकहरूमा घुमेका अनेक स्थानहरूको सामान्य विवरण र उहाँले गरेका अनुभूतिहरूको सपाट वर्णन मात्र होइन ।”, पुस्तकमा डा.रामप्रसाद ज्ञवाली लेख्नुहुुन्छ, ”यस पुस्तकमा युगका विविधताहरूको जानकारी सहितको युगबोध पनि पाइन्छ। राजनीति, इतिहास, शिक्षा, संस्कृति, स्वास्थ्य, साहित्य, कला, शोध, जीवनी आदि अनेक कुराहरूको जानकारी दिने यी नियात्राहरूमा बहु आयामिक युगबोध छ। लेखक जहाँ जहाँ जानुभएको छ त्यहाँ त्यहाँको इतिहासको जानकारी पनि लिनुभएको छ। यी नियात्राहरू पढ्दा तपाईं ती ती देश र स्थानमा भएका युद्ध, हिंसा, क्रूरता, निर्माण, अभिलेखीकरण, स्मारक तथा तिनको संरक्षण आदिको जानकारी पाउनुहुन्छ। यस क्रममा अनेक तथ्य सूचित छन्। अनेक अनुभूति अभिव्यञ्जित छन् । युद्ध विभीषिकाहरूको वर्णन छ। राजनीतिक विद्रोहको जानकारी छ। क्रान्ति र परिवर्तनका सन्दर्भहरूको विवरण छ। पुराण, उपनिषद्, श्रुतिस्मृति र किंवन्दतीहरूको उल्लेख छ। तीर्थस्थल र तिनका बारेमा भनिने-सुनिने मान्यताहरूको जानकारी छ। मानव समाज र व्यक्ति जीवनमा उपर्युक्त कुराहरूले पारेको प्रभावबारे गरिएका टिप्पणीहरू छन् । धर्म र संस्कृतिका नाममा भएका अत्याचार र अन्य विशेषताहरूको चर्चा छ। ती ती देशका भाषा-साहित्य र साहित्यकारहरूका योगदानको जानकारी छ। जानकारी दिने क्रममा लेखकले आफू घुमेका र पुगेका ती देशहरूले आफ्ना महान् पुर्खा, कलाकार, साहित्यकार, सहिद आदिको सम्झना, सम्मान र संरक्षणका लागि गरेका गम्भीर प्रयत्नहरूको खुलेर प्रशंसा गर्नुभएको छ। प्रशंसाका माध्यमबाट अप्रस्तुत प्रस्तुतिको शैलीमा नेपालको पछौटेपनप्रतिको असन्तुष्टि पनि प्रकट गर्नुभएको छ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । दुई सय ३४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ९० रुपियाँ रहेको छ ।