साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा लेखक सुशीला खड्का ‘हसिना’कृत पहिलो कवितासंग्रह “पहिरोभित्रको घाम” प्राप्त भएको छ ।
१ सय ५० पृष्ठमा बुनिएको यस संग्रहमा ‘आमाको दस्ताबेज’, ‘मन संवाद’, ‘आकाश र छाती’, ‘सहर सपना’, ‘अविश्वासको औँठाछाप’, ‘रहरको मृत्यु’, ‘युगका नारी’, ‘आलाप’, ‘चौतारो’, ‘नियतिको बाकस’, ‘के रहेछ देश’, ‘अबका मान्छे’, ‘बिरामी दिन’, ‘यस्तो नभइदिए हुन्थ्यो’, ‘सगरमाथा उभिएको देखेर’ लगायत ५५ वटा कविता संग्रहित छन् ।
“कस्तो हुँदो हो प्रत्येक घरमा आमा जातिले आमाजस्तै भएर एउटा प्राक्कल्पनाको सामाजिक मूल्यमा बाँच्न पाए ! आमा शब्द बनाउनेले यसको अर्थलाई यति गहिरो गरी बुझेका थिए वा थिएनन् ! ’आमा’ शब्द उच्चारण मात्र गर्नेले भने उनको दैविक स्तुति गर्नमै धेर समय खर्चिए । आमालाई घर समाजभित्र सामान्यीकरण गरिदिएर उनको प्रजनन् शक्तिलाई मात्र होइन, त्यसको स्वास्थ्यलाई मात्र प्राथमिकतामा राखिदिने क्षमता (आँट) भए आमाहरूले चिसो परालमाथि बच्चा जन्माउनुको दोहोरो खतरा झेल्नुपर्ने थिएन ।” पुस्तकको गीता त्रिपाठी लेख्छिन्, “मझेरीको थाम गाड्न र घर उभ्याउन अहोरात्र श्रम गरेकी आमाले त्यही घरमा बास नपाउनुको पीडा कविताले आमाका कथनबाटै प्रस्तुत गरेको छ, आमाको दस्ताबेज आगतका निम्ति उपहार नभएर अभिशाप बाँचेको समयको विम्ब हुने छ। आमाको दस्ताबेजमा जे छ, कविताले मानिसका मनमा उठाउने तरङ्गभन्दा फरक त्यो व्यवहारमा कदापि छैन :
तिमीलाई सहाराको लट्ठी मानेर भाँचेकी थिएँ यौवनको हाँगा…
आमा र वात्सल्य विपरीत…
गयौ आश्रम पठाउने निर्णय…
तिम्रो एकतर्फी निर्णयमाथि
विमर्श गर्ने छ आगतले
र, राख्नेछ अभिलेख
आमाको दस्ताबेज बनाएर !”
पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा माया ठकुरी लेख्छिन्, “कवि सुशीला खड्का हसिना आफ्नो नवीनतम कृति ’पहिरोभित्रको घाम’ कवितासङ्ग्रह लिएर पाठकसमक्ष उपस्थित भएकी छिन् । वर्तमान समाजमा व्याप्त दूषित मानसिकता र मानिसले मानिसप्रति दर्शाएका अमानुषिक व्यवहारका साथै मानवीय संवेदना ज्यादै निम्नस्तरमा खस्केको कारणले जाति, धर्म, भाषाको आधारमा एकअर्कालाई होच्याउन दुर्व्यवहार गरेको देखिन्छ । यिनै र यस्तै मानिसमा भएको द्वैध चरित्रप्रति कवि हसिनाले कवितामय कविताको अस्त्र निर्माण गरेर आजको हाम्रो समाजको दरिद्र अवस्थाको चित्रण गरेकी छिन् । अन्त्यमा म कवि सुशीला खड्का हसिनालाई यति सशक्त कविताको लागि धन्यवादसहित शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”
पुस्तकको पछिल्लो पृष्ठमा राजेन्द्र थापा लेख्छन्, “हसिनाको कविता लेखन असिना जस्तै बररर बर्सिने शैलीको लाग्छ मलाई त ! लेख्न थालेपछि बुरुरु, अनि प्रहार पनि कडा ! कठोर भइकन भित्र पानीजस्तै नरम अनि कोमल, श्रोतालाई प्रहारपछि बिस्तारै बिस्तारै भिजाउँदै जाने… । हसिनाको कवितामा पानी पनि आगो बनेर बल्छ, जब विषय महिला पीडन र जागरणको आह्वानसँग जोडिन्छ । हसिनाले कवितामा प्रकृतिको चित्र बनाउँदै त्यसमा माटो र वनको सुगन्धसँगै डढेलोको जिजीविषाले विद्रोह पनि बनाएको देख्छु । कविता सङ्ग्रह ’पहिरोभित्रको घाम’ लाई उज्यालो भविष्यको कामनासहित शुभाशिष् !”
पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । यसको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।