राज यात्री लम्साल

युएई । ‘हाम्रो तनहुँ, हाम्रो शान, सहकार्य र सेवाको अभियान’ भन्ने मूल नाराका साथ स्थापित तनहुँ सेवा समाज युएईले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा दुबईमा कार्यक्रम सम्पन्न गरेकाे छ ।

राजु तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास दुबईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथि रहनुभएको थियो । नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही, नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान लगायत युएईका दुई दर्जनभन्दा बढी संघ–संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम पानसमा दीप प्रज्वलन, नेपाली तथा युएईको राष्ट्रिय गान र आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण तथा अबिर अर्पण गर्दै सुरु गरिएको थियो । समाजकी महिला उपाध्यक्ष अनिता अधिकारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे  ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहावाणिज्यदूत चापागाईंले आदिकवि भानुभक्त आचार्यले संस्कृतबाट नेपाली भाषामा रामायण अनुवाद गरी नेपाली साहित्यलाई नयाँ युगतर्फ डोर्याएको उल्लेख गर्दै नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउनुभयाे ।

कार्यक्रममा आठवटा नविनतम कृतिहरू  ‘सराब’ (कृष्ण काश्यप), ‘साईमा स्यामुना’ (दिलीप राई सागर), ‘जब कविता निस्कन्छ जुलुसमा’ (सुरज राना), ‘रुद्राक्ष’ (आँचल कुमार शर्मा), ‘अन्दाज’ (प्रमोद थापा), ‘आगोको होलि’ (अन्जान यात्री), ‘अग्राख’ (अविनाश सापकोटा) र ‘भिरको फूल’ (सरू लामिछाने) – एकैसाथ लोकार्पण गरिएको थियो । साथै, गजलकार जे सागरको गजल ‘सबैलाई पीर उस्तै त हो नि…’ को भिडियो समेत सार्वजनिक गरिएको थियो, जुन गीतलाई कृष्ण पराजुली र तनहुँकै  गायक राज सिग्देलले गाउनुभएकाे हाे ।

युएईमा रहेका पाँच दर्जनभन्दा बढी स्रष्टाहरूले कार्यक्रममा आफ्ना रचनाहरू वाचन गर्नुभएकाे थियाे । समाजका संयोजक एवं गजलकार टक गुरुङले तरन्नुममा गजल प्रस्तुत गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध बनाउनुभएकाे थियाे  । गुरुङको नविनतम गजल संग्रह ‘टक’ चाँडै बजारमा आउने जानकारी समेत कार्यक्रममा दिइएको थियो ।

साहित्यकार भवानी नेपाल र पत्रकार लालबहादुर ढेंगालाई नेपाली साहित्य र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको औपचारिक सञ्चालन समाजका महासचिव दिपेन्द्र पौडेलले र अनौपचारिक सञ्चालन साहित्यकार भवानी नेपालले गर्नुभएकाे थियाे  । नेपालले युएईका संघ–संस्थाहरूलाई सहकार्यमा जुट्न आह्वान गर्दै साहित्य समाजको सशक्तीकरणमा सहकार्यको आवश्यकता औँल्याउनुभयाे, जसमा सहभागी संघ–संस्थाका प्रतिनिधिहरूले सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे  ।