राज यात्री लम्साल । सगरमाथा साहित्य प्रतिष्ठान, कोशी प्रदेशको आयोजनामा उपन्यासकार दाजु गुरुङको पहिलो उपन्यास कृति निरजोयामाथि परिचर्चा कार्यक्रम दुर्गा पार्टी प्यालेस इटहरीमा सम्पन्न भएको छ ।

कार्यक्रम प्रतिष्ठानकी कोशी प्रदेश अध्यक्ष मिश्रामाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो भने नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा समालोचक डा. दिवाकर रेग्मी, भोजराज श्रेष्ठ तथा बाबुराम खड्काले कृतिमाथि समीक्षा गर्नुभएको थियो ।

प्रतिनिधि सर्जकहरूको पनि रचनावाचन रहेको उक्त कार्यक्रममा नयन अधिकारी, पदमकुमारी लुङ्गेली, कविता केसरी, रमेन्द्र कोइराला तथा देवान किरातीले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

सुनसरी, मोरङ तथा झापा जिल्लाका साहित्यकारहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त  कार्यक्रममा दाजु गुरुङले प्रवासमा रहेर पनि नेपाली साहित्यमा गरेको अनुपम योगदानको चर्चा गरिएको थियो ।

परिचर्चाकार डा. रेग्मीले भन्नुभयो,  ‘प्रवासमा रहेर नेपालीपन खोज्ने गुरुङको कृतिले नेपाली समाज, संस्कृति र भाषालाई न्याय गर्दै देशभक्ति सिकाएको छ । स्वदेश चिन्नका लागि प्रवासिनु पर्ने नेपालीको कथाव्यथालाई कृतिले सर्लक्कै बोकेको छ । निरजोया यस कारण पनि पठनीय कृति बनेकाे छ ।’

अर्का परिचर्चाकार भोजराज श्रेष्ठले पुस्तकमाथि चर्चा गर्दै भन्नुभयो, ‘भारतीय लेखक बेन्यामिनको उपन्यास ‘खबुज’कै झझल्को दिने यस कृति प्रवासिएका आम नेपालीको कथा हो । खाडी मुलुकमा हराएका हाम्रा दाजुभाइहरूले त्यहाँ गर्नुपरेको सङ्घर्ष भोग्नुपरेको पीडालाई उपन्यासले टपक्क टिपेको छ । उपन्यासले उत्तरआधुनिकतावादी विचारले ग्रस्त भएको हाम्रो मुलुकले एकपटक फेरि आफ्नोपनलाई सम्झनुपर्ने दिन आएको छ । डायस्पोराको लेखनीमा मौलिक र सरल भाषाको प्रयोगले उपन्यासको स्तरीकरणमा सघाएको छ ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. न्यौपानेले डायास्पोरा ३ प्रकारको हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओल्ड डायस्पोरा, न्यू डायास्पोरा र लेवर डायास्पोरा । वैदेशिक रोजगारीमा जाँदाको अनुभूतिलाई समेटिएर लेखिने साहित्यलाई लेवर डायास्पोराभित्र पर्छ ।’

एकपछि अर्को स्तरीय कृति लेख्दै आएका गुरुङले नेपाली साहित्यको भण्डारमा लगाएको गुन सबैले सिक्दै अगाडि साहित्य सेवामा लागिरहनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो।

सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रीय कमिटी संरक्षक विवेक दुलाल क्षेत्री, नेपाल शाखा संरक्षक जीपी तिवारीले संस्थाको स्थापना र गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

सङ्खुवासभाको मादीमा जन्मनु भएका गुरुङका ‘टाँकीका फूलहरू’ र ‘लाईसी’ कथासङ्ग्रह यसअघि प्रकाशनमा आइसकेका कृति हुन भने निरजोया पहिलो नवीनतम उपन्यास कृति हो । महेन्द्र बहुमुखी क्याम्पस, धरानका स्ववियु सभापतिसमेत रहिसकेका दाजु गुरुङ वरुण बहुमुखी क्याम्पस, संखुवासभाका पूर्व क्याम्पस प्रमुख पनि हुन् ।

हाल हङकङलाई कर्मथलो बनाएर साहित्य लेखन गरिरहनुभएका दाजु गुरुङको प्रत्यक्ष उपस्थिति नरहे पनि श्रीप्रसाद पोख्रेल, मधु गुरुङ, रिता ताम्राकार, धन्जीत पराजुली, डेगराज घिमिरे, पुरण राई, केपी घिमिरे, लीला सिलवाल, सुविद गुरागाईं, जीपी तिवारी, किरण टी. लिम्बू, विवेक दुलाल क्षेत्री, राज भट्टराई, निरज कोइराला, सुस्मिता नेपाल, छवि वैरागी घिमिरे, रोहिणी रसिक, डमरुवल्लभ भण्डारी, प्रिन्स प्रमोद ढकाल, रोमु अधिकारी, विवेक विवश रेग्मी, हेमन यात्री, टीका आत्रेय, विनोद विवश घिमिरे, राज माङ्लाक, परिक्रमा श्रेष्ठलगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रको उद्घोषण प्रतिष्ठानका सहसचीव अभिमन्यु अभिजितले गर्नुभएको थियो ।

“नेपाली भाषा साहित्यको संरक्षण सम्वर्धन र विकासका लागि हाम्रो अभियान” भन्ने मूल नारा बोकेर २०६९ सालमा युएईमा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानको कोशी प्रदेशको अध्यक्ष भएर काम गर्न पाउँदा अत्यन्तै हर्षित भएको कुरा राख्दै आफ्नो व्यस्त समयका बाबजुद पनि कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुहुने प्रमुख अतिथिलगायत बौद्धिक वर्ग, प्रतिनिधि स्रष्टाहरू र उपस्तिथ सम्पूर्णमा आगामी दिनहरूमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै सभापति मिश्रामाया गुरुङले कार्यक्रमको समापन गर्नुभएको थियो ।