नेपाली भाषा साहित्यको पहिलो दैनिक (इ) पत्रिका साहित्यपोस्टको युएई संयोजकको रुपमा गजलकार तथा गायक राज यात्री लम्साललाई नियुक्त गरिएको छ । सगरमाथा साहित्य प्रतिष्ठान युएईका प्रदेश इन्चार्ज समेत रहनु भएका गजलकार लम्साललाई दुबईमा गत अगस्ट २७ तारिख आइतबार आयोजित एक समारोहका बिच युएई संयोजकको जिम्मेवारी दिइएको हो ।

साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना”द्वारा युएईको दुबईमा आयोजित “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम”का अवसरमा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले गजलकार लम्साललाई युएई संयोजक घोषणा गर्नुभएको थियो ।

रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनु भएका लम्साल विशेष गरी गजल लेखन र गायनमा रुची राख्नु हुन्छ । उहाँका केही गीतहरू रेकर्ड भएर बजारमा आइसकेका छन् । साथै उहाँद्वारा लिखित केही गीतहरू अन्य गायक गायिकाको आवाजमा रेकर्ड समेत भएका छन् ।

राज यात्री लम्साल

राज यात्री लम्साल

मोरङको सुन्दरहरैँचा निवासी गजलकार लम्साल युएईमा पछिल्लो केही वर्षदेखि निजी व्यवसायमा आबद्ध हुनुहुन्छ । गजलकार लम्साल सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना”का प्रस्तोता समेत हुनुहुन्छ ।

साहित्यपोस्टसँग आबद्ध भएर काम गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको र यसले आफूमा थप जिम्मेवारी बोध गराएको लम्साल बताउनु हुन्छ । साहित्य सिर्जना र साहित्यिक रिपोर्टिङ अलग-अलग पाटो भएकाले युएई संयोजक बनेसँगै एक किसिमको चुनौती पनि थपिएको उहाँ उल्लेख गर्नुहुन्छ । क्षमताले भ्याएसम्म आफ्नो जिम्मेवारी पूरा गर्ने कोसिस सदैब रहने उहाँको भनाइ छ ।

गजलकार लम्साल जस्तो जुझारु साहित्यिक व्यक्तित्वलाई साहित्यपोस्टमा आबद्ध गराउन पाउँदा खुसी लागेको प्रधानसम्पादक अश्विनी कोइराला बताउनुहुन्छ । युएई बसाइका क्रममा गजलकार लम्साललाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएकाले उहाँमा साहित्यप्रति ठुलो प्रेम र झुकाब रहेको आफूले पाएको कोइरालाले उल्लेख गर्नुभएको छ ।

पछिल्लो दुई वर्षदेखि साहित्यपोस्टको युएई संयोजकको रुपमा कवि डिजी शर्माले काम गर्नुभएको थियो । अहिले कवि शर्मालाई साहित्यपोस्टको युरोप संयोजकको जिम्मेवारी दिइएको छ ।