विगत लामो समयदेखि प्रोस्टेड क्यान्सरसँग संघर्ष गर्दै आउनुभएका वरिष्ठ साहित्यकार, संगीतकार तथा गायक गणेश रसिक अब हामी माझ रहनुभएन ।
नेपाली साहित्य र संगीतका निमित्त उहाँले पुर्याउनुभएको योगदान साँच्चै अतुलनीय छ । नेपाली साहित्यको आकाशबाट एउटा नक्षत्र बिलाए पनि उहाँले छर्नुभएको उज्यालोले नेपाली कला साहित्य र संगीतका क्षेत्रमा सधैँ प्रकाश छरिरहने छ ।
भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका २ छिनामखुमा पिता स्वर्गीय नरोत्तम राई र माता रत्नमाया राईको कोखबाट २००४ साल आश्विन ४ गते जन्म लिनुभएको थियो । हाल फिक्कल इलाममा स्थायी बसोबास गर्दै आउनुभएका उहाँ वास्तविक नाम गणेश रसिक राई हो । उहाँले बी.ए.सम्मको अध्ययन गर्नुभएको थियो ।
वि.स. २०२४ सालमा, करीब २० वर्षको उमेरमै ‘क्षितिजलाई छुन खोज्दा’ (कथासंग्रह) प्रकाशित गर्नुभएका साहित्यकार रसिकको ‘एउटा सारङ्गी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरू’ (गीतसंग्रह २०४५), ‘आकाश गङ्गाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरू टेक्दै हिँडे’ (संस्मरण २०५५), ‘बिलाउँदै गएको गीत’ (कथासंग्रह २०५८), ‘दशगजामा उभिएर’ (संस्मरण २०६३), ‘स्वाधीनताको पीडा’ (गीतसंग्रह २०६८), ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७८) प्रकाशित कृतिहरू हुन् भने उहाँले प्रथम पटक वि.सं. २०२५ सालमा सहिद दिवस कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो । २०२५ सालमै नेपाल युवा महोत्सवमा कथा प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभएका रसिकले २०२८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८ सालमा रेडियो नेपाल राष्ट्रिय गीत प्रतियोगितामा प्रथम पुरस्कार, मुस्याच्यु पुरस्कार (२०४१), छिन्नलता गीत पुरस्कार (२०५६), वासुशशी स्मृति पुरस्कार (२०६०), स्वर संगम साङ्गीतिक पुरस्कार (२०६२), भास्कर लामिछाने लोक संस्कृति वाणी पुरस्कार (२०६३), पद्मश्री साहित्य सम्मान (२०६३), इन्द्रमोहन स्मृति सम्मान पुरस्कार (२०६६), अतिमाया पुरस्कार (२०६७), प्रवासी प्रभात पुरस्कार, नई किर्तिनिधी पुरस्कार, भानु सूर्योदय श्रस्टा सम्मान पुरस्कारलगायत अन्य दर्जनौँ पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।
मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १-२) तथा ओशून्यता (सि.डी.) मा शब्द र संगीत दुबै दिनुभएका साहित्यकार रसिकले श्री रत्न रेकर्डिङ संस्थान (अध्यक्ष/महाप्रबन्धक २०३८-२०४०), साँस्कृतिक संस्थान (महाप्रबन्धक २०४०-२०४६), साझा प्रकाशन (अध्यक्ष/महाप्रबन्धक २०५२-२०५५), नेपाल संगीत नाट्य प्रतिष्ठान (सदस्य सचिव, २०७२-२०७५) लगायत अन्य विभिन्न विभाग र संस्थाहरूमा गरी ३१ वर्ष सरकारी सेवा गर्नुभएको थियो ।
लामो समयदेखि अनवरत रूपमा साहित्य तथा समाज सेवा गर्दै आउनुभएका रसिकले आफ्नै जन्मस्थान छिनामखुमा ‘नौलो गाउँ प्राथमिक विद्यालय’को स्थापना गर्नुभएको थियो । उहाँ लेकाली नेपाल तथा गणेश रसिक फाउण्डेशनको समेत संस्थापक हुनुहुन्थ्यो । गणेश रसिक फाउण्डेशन, वासुशशि स्मृति परिषद् तथा रेडियो फिक्कल, सूर्योदय न.पा. ९ इलामका अध्यक्षका रूपमा संलग्न हुनुभएका रसिकले तात्कालिन सोभियत संघ लगायत जापान, चीन, क्यानडा, बेलायत, हङकङ, थाइल्याण्ड, सिंगापुर र भारतको समेत भ्रमण गर्नुभएको थियो ।
शुभ राज्याभिषेक पदक (२०३१), गोरखा दक्षिण बाहु, चौथो (२०३१), रत्नश्री स्वर्ण पदक (२०४४), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०४५), गद्दी आरोहण पदक (२०५३) तथा नागरिक सेवा पदक (२०५३) बाट सुशोभित साहित्यकार रसिकले नेपाल पत्रकार संघ झापा, फिक्कल माध्यमिक विद्यालय, किराँत राई यायोक्खा केन्द्रीय समिति, निजानन्द युवा जागरण कला पुञ्ज, कलानिधि इन्दिरा संगीत महाविद्यालय, पूर्वाञ्चल साँस्कृतिक संवर्द्धन केन्द्र, गोरखा संगीत साहित्य संवर्द्धन समिति दार्जिलिङ लगायत अन्य दर्जनौँ संघ संस्थाहरूबाट समेत सम्मान तथा प्रसंशा पत्र र पदकहरुबाट सम्मानित हुनुभएको थियो।
यी सबै अब इतिहासका सुन्दर पानाहरू बन्दै गए पनि नेपाली साहित्य र संगीत क्षेत्रले साहित्यकार रसिकलाई नजिकैबाट सधैँ सम्झिरहने छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










