काठमाडौँ । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ। त्यस्तै, आभास उत्कृष्ट साहित्य पुरस्कार २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिएको छ।
नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले एक कार्यक्रमका बीच बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गर्नुभएकाे हाे । उक्त अवसरमा अध्यक्ष बुढाथोकीले साहित्य क्षेत्रमा वर्षौंदेखि योगदान गर्दै आएका व्यक्ति तथा कृतिको सम्मान गर्दै कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयाे ।
कार्यक्रममा कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले सम्मानित र पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्नुभएकाे थियाे । जोशीले बानियाँको निष्ठापूर्ण लेखन र कृतिप्रतिको न्यायपूर्ण समीक्षाप्रति प्रशंसा व्यक्त गर्नुभयाे भने प्रभासले शैलेन्द्र अधिकारीको ‘अर्हत्’ उपन्यासलाई पठनीय र उत्प्रेरक कृति भनेर वर्णन गर्नुभयाे ।
सम्मानित बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई थप ऊर्जा प्रदान गर्ने धारणा राख्नुभयाे । कोषका अध्यक्ष बालकृष्ण श्रेष्ठले कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पुरस्कार तथा सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
आभास साहित्य सम्मान र पुरस्कारको राशि क्रमशः डेढ लाख र एक लाख रुपैयाँ रहेको छ। यसअघि यो पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई प्रदान गरिएको थियो।
तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादनमा सक्रिय बानियाँ र ‘अर्हत्’ लगायत ‘निर्वेद’ र ‘ब्रह्मास्त्र’ जस्ता आख्यान कृति प्रकाशित गरिसक्नुभएकाे अधिकारीलाई यस पुरस्कारले थप उत्साह थपेको विश्वास लिइएको छ। यस पुरस्कारले नेपाली साहित्यको जग बलियो बनाउन थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१७ माघ २०८२, शनिबार 








