काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि १५ दिनसम्म राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ।
प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिएको हो। यो प्रदर्शनी ललितकला क्षेत्रकै एउटा महाउत्सवका रूपमा लिइएको छ।प्रदर्शनीमा नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला लगायतका विविध विधाका कलाकृतिहरू समावेश गरिनेछन्। ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ बाट छानिएका कलाकृतिहरू प्रदर्शनीमा देख्न पाइनेछ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनीमा कलाकारको सर्वेक्षण तथा प्रोफाइल तयार गर्ने र विभिन्न कला अभियानलाई अघि बढाउने रणनीतिक योजना अघि सारिएको बताउनुभएकाे छ । यसपटक प्रदर्शनीमा प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिहरू समेत गरी पाँच सय ७१ कलाकारका छ सय ६ कलाकृतिहरू प्रदर्शनमा राखिनेछन्।
प्रदर्शनीका कार्यकारी संयोजक तथा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यस प्रदर्शनीले मौलिकताको जगेर्ना र रैथाने कलाको पहिचानलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । प्रदर्शनीमा प्रदेशगत रूपमा छुट्टाछुट्टै ग्यालरीहरू रहनेछन् भने विभिन्न विधाअन्तर्गत विभिन्न कलाकृतिहरू प्रदर्शनमा रहनेछन्।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृतिहरू समेटिएको बताउनुभयाे । उहाँले समाज रूपान्तरणमा ललितकलाकर्मीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयाे ।
यसवर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि जनही एक लाख ५० हजार र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने भएको छ । ललितकला लेखन पुरस्कारको राशि रु ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि रु ३०/३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि रु ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोशीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
अघिल्लो वर्षबाट सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गंगाधर सारुलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशी रु ५०, ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
अक्षरको यात्रा : हराउँदै गएका नेपाली लिपिको संरक्षणमा कला प्रदर्शनी
२८ जेष्ठ २०८३, बिहीबार 







