काठमाडौँ । युवा कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ। ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवा कविहरूलाई काव्यक्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्वज्योति पाण्डुलिपि पुरस्कार’ जितेको यस सङ्ग्रहको लोकार्पण ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल, तथा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले संयुक्त रूपमा गर्नुभएको हो ।
कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय हुनुहुन्छ। उहाँको ‘बन्द कोठाको झ्याल’ विश्वज्योति पाण्डुलिपि पुरस्कार जितेर प्रकाशित हुन पुगेको हो, जसले युवा कविहरूलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि प्रदान गर्ने घोषणा गरिएको ‘विश्वज्योति काव्य सम्मान’ बाट कवि उषा शेरचन सम्मानित हुनुभएको छ । २०१२ सालमा पोखरामा जन्मिनुभएको शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेको छ। विश्वज्योति काव्य सम्मानमा सम्मानपत्रसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार रहेको छ।
कार्यक्रममा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, विधान आचार्य, बाबू त्रिपाठी, उषा शेरचन, लक्ष्मी माली र प्रज्वल अधिकारीका कविताहरू एम आर्टका कलाकारहरूले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको निर्देशन वीरेन्द्र हमालले गर्नुभएको थियो । यस कार्यक्रमले नेपाली साहित्यको समृद्धिमा योगदान पुर्याउने आशा गरिएको छ। साङ्ग्रिला बुक्सले बजारमा ल्याएको शिशिरको पुस्तकको मूल्य ३ सय रुपैयाँ रहेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
‘साहित्यपोस्ट काव्य पुरस्कार २०८१’ को अन्तिम सूचीमा ‘‘बन्द कोठाको झ्याल’’
३० कार्तिक २०८२, आईतवार 








