काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले उपन्यासकार किरण आचार्यको नवीनतम कृति ‘जरत्कारू’ उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ। अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी प्रमुख अतिथि रहनुभएको थियो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचकद्वय प्रमोद प्रधान र प्रा.डा. गोविन्दमानसिंह कार्की, आख्यानकार नयनराज पाण्डे, उपन्यास समाजका अध्यक्ष शंकर भारती, पत्रकार एवम् लेखक राजकुमार बानियाँ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. अवस्थीले ‘जरत्कारू’ उपन्यास पूर्वीय दर्शनमा आधारित रहेको र पौराणिक पात्र तथा कथासँगको सम्बन्धले यसको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले उपन्यासको विषयवस्तु र प्रस्तुति दुवै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

सभाध्यक्ष लेकालीले उपन्यासकार किरण आचार्यको व्यक्तित्व र कृतित्वबारे संक्षेपमा प्रकाश पार्दै उहाँबाट भविष्यमा थप पौराणिक कृतिहरूको आशा व्यक्त गर्नुभयो । उपन्यासका भूमिका लेखक समालोचक प्रमोद प्रधान र आख्यानकार नयनराज पाण्डेले ‘जरत्कारू’ उपन्यासका पौराणिक पात्र र कथावस्तुबारे समालोचकीय टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

उपन्यासकार आचार्यले कोभिड महामारीको समयमा लकडाउनको अवस्थामा ‘जरत्कारू’ उपन्यास लेखेको बताउँदै यसअघि लेखिएका पौराणिक उपन्यास ‘अहल्या’ र ‘परशुराम’ बारे पनि संक्षिप्त चर्चा गर्नुभयो । नेपालगन्जमा बसेर साहित्य साधना गरिरहनुभएको आचार्यले आफ्नो लेखन यात्राको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, राजकुमार बानियाँ र शंकर भारतीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ ले गर्नुभएको थियो । साहित्यिक पत्रकार सङ्घले नेपाल लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीलाई बधाई ज्ञापन समेत गर्नुभएको थियो।