बाँकेको नेपालगन्जमा जन्मिएर सुदूर पश्चिममा हुर्किनुभएको किरण आचार्य पूर्व अध्यापक हुनुहुन्छ । लामो समयदेखि कविता र कथामा सक्रिय हुँदै आउनुभएको छ । उहाँको पहिलो पौराणिक मिथकीय उपन्यास ‘जरत्कारु’ हो भने हालै परशुराम उपन्यास बजारमा ल्याउनु भएको छ । र अहिलेसम्म ८ वटा पुस्तक प्रकाशन गरिसक्नु भएको छ ।
प्रस्तुत छ, बहुप्रतिभाशाली पौराणिक साहित्यकार किरण आचार्यसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
तपाईं शिक्षणबाट सेवा निवृत्त हुनुभयो । परिवारको दायित्वलाई छाडेर फुर्सदको समय कसरी बिताउनु हुन्छ ?
– सेवा निवृत्ति भन्नु झन्डै झन्डै जीवनका सबै दायित्वबाट निवृत्ति हुँदो रहेछ । यो उमेर सम्ममा सन्तान वयस्क भएर आफ्नो गृहस्थी सुरु गरी सक्छन् तसर्थ सन्तानप्रतिको दायित्व समाप्त भैसकेको हुन्छ । शारीरिक शक्ति क्षीण हुने क्रम जारी हुन्छ जसले गर्दा बिस्तारै जीवन सन्तानहरूको आश्रय लिनुपर्ने अवस्थातिर उन्मुख हुँदो रहेछ । स्पष्ट रूपमा भन्नुपर्दा शारीरिक मेहनतबाट बिस्तारै कम परिश्रम गर्ने कार्य चयन गर्नुपर्दो रहेछ । अनि आफूसित बच्छ भयानक फुर्सद । यो भयानकताको उपचार नै अध्ययन र लेखन हुँदो रहेछ । तसर्थ अध्ययन र लेखन नै जीवको महत्त्वपूर्ण सहयोगी बनेका छन् ।
साहित्य, जीवन दर्शन र आत्मा तपाईंले कसरी हेर्नुभएको छ ?
– साहित्य र दर्शन ज्ञानका अभिन्न पाटा हुन् । दर्शन प्रणेताका विहङ्गम विचार हुन् जसले विश्व ब्रह्माण्डका ज्ञानलाई समेटेको हुन्छ जस्तै सांख्य दर्शनले ब्रह्माण्डको सृष्टिबारे व्याख्या गरेको छ साथ साथै आत्माको अलग अस्तित्व स्वीकार गर्छ । भन्नाले आत्मा र ब्रह्म दुई भिन्न हुन् भन्छ र कार्य कारण वादको सिद्धान्तको वकालत गर्छ । साहित्यकारले रचना गरेका कृतिले कहीँ न कहीँ दर्शनलाई स्पर्श गरेका हुन्छन् । साहित्यकारको भाव र विचारको सम्प्रेषण नै साहित्य हो । साहित्यकारले आफ्ना भावहरूलाई सम्प्रेषण गरेर साहित्यको जन्म हुन्छ जुन कालान्तरमा गौरवमय साहित्यिक इतिहास बन्न सक्छन् ।
बजारमा नेपाली साहित्यको पाठक दिनानुदिन घट्दै गएको गुनासो छ अचेल । यसको कारण के हाेला ?
– हामी साहित्यकारले कस्तो कृति सिर्जना गर्छौं, समालोचकहरूले कतिको निर्भीक र गहन अध्ययन गरेर समालोचना गर्छन् एवं पाठकले कत्तिको स्वीकार गर्छन् यी सबैमा भर पर्छ । स्वीकार्नै पर्छ, पाठकको संख्या दिनानुदिन घट्दो छ । यसको कारण पठन संस्कृति घटेर गएको हो वा साहित्यकारले पाठकको अभिरुचि अनुसारको साहित्य सिर्जना गर्न नसकेको हो ।
तपाईंले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई कसरी हेर्नुभएको छ ?
– अनेसास जस्तो साहित्यिक संस्थालाई महत्त्व रूपमा लिएकी छु । आफ्नो माटो छोडेर बिदेसिन बाध्य भएका वा स्वेच्छाले बिदेसिएका नेपालीहरूले आफ्नो मूल पहिचान भाषा र संस्कृतिको रक्षा गर्न लागिपर्नु आफैमा गौरवपूर्ण र अमूल्य कुरा हो । अनेसाससित सम्बन्धित सबै जना श्रद्धाका पात्र हुनुहुन्छ । सबै जना सम्मानयोग्य हुनुहुन्छ । तर मलाइ आशङ्का लागेको कुरा के भने यो संस्थाले यो पुस्तामा त विश्वभरि नेपाली भाषा र साहित्यमा अतुलनीय योगदान पुर्याउने अनेक प्रयास गरिरहेको छ जुन आजसम्म अन्य कुनै संस्थाले गर्न सकेको थिएन । अझ साँचो भन्नुपर्दा सोचेको पनि थिएन होला तर भविष्यमा बिदेसिएका नेपालीका सन्तानले नेपाली भाषा र साहित्यप्रति कतिको आकर्षित हुन्छन् । यो निरन्तरता प्रदान गर्छन् । त्यो अर्को गम्भीर पाटो हो ।
तपाईंको साहित्यिक यात्रा कहाँ र कसरी सुरु भयो ?
– विद्यालय श्री पन्चोदय मा वि धनगढीमा हाम्रा श्रद्धेय गुरुहरूले अनेक साहित्यिक कार्यक्रमहरूका आयोजना गराइरहनु हुन्थ्यो । मलाई पनि त्यस्ता कार्यक्रममा सहभागी हुन मन लाग्थ्यो । जानी नजानी भाग लिन्थें । आफ्नो पिता श्री गोपालप्रसाद पौडेलसित लेख्न अनुरोध गरेर भए पनि कविता वाचन गर्थें । यसरी सुरुवात भएको थियो मेरो साहित्यिक यात्रा ।
नेपाली साहित्यलाई विश्वको दाँजोमा पुर्याउन के गर्नु पर्ला ?
– हामीले नै प्रयत्न गर्नुपर्छ । हामी पनि विश्व साहित्यको तुलनामा मात्र होइन उनीहरू भन्दा औवल लेखन गर्न सक्छौं यदि प्रयत्नरत भयौं भने ।
प्रायः तपाईंले पौराणिक विषयमा लेख्नुहुन्छ । पढ्न चाहिँ केकस्ता साहित्यिक पुस्तक रुचाउनुहुन्छ ?
– मैले विशेष गरी यथार्थमा आधारित साहित्य पढ्न रुचाउँछु । जीवन र जगतका भिन्न भिन्न भोगाई बारे लेखिएका, ऐतिहासिक एवं पौराणिक ग्रन्थहरू पनि मेरा रोजाइका विषय हुन् ।
तपाईंलाई मन पर्ने साहित्यकारहरूको नाम लिनु पर्दा ?
– नेपालीमा शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मी प्रसाद देवकोटा, माधव घिमिरे, र विश्वेश्वर प्रसाद कोइराला । संस्कृतमा वेदब्यास , कालिदास र मारकंडेय । अंग्रेजीमा जोन गल्स्वर्दी एवं पी बि शेली । अमेरिकन साहित्यमा अर्नेष्ट मिलर हेमिंवे ।
जरत्कारु उपन्यासबारे केही भनिदिनुहुन्छ कि ।
– ‘जरत्कारु’ पौराणिक पात्रको जीवनी हो । महत्त्वपूर्ण कुरो वैदिक सनातनीहरूले आजसम्म कन्या पूजा गर्दै आएका छौं तर कन्या पूजन किन र यसको पछिको कारणबारे अनभिज्ञ छौं । त्यो कुरा केही पुराण अध्ययन गरेर सूचना प्राप्त भएपछि यो उपन्यास लेख्ने प्रयास गरें । त्यसको साथ साथै तत्कालीन समयमा अर्थात् सृष्टिको सुरुवाती अवस्थामा पनि स्त्रीको अवस्था (चाहे ती रानी हुन् वा राजकुमारी हुन् ) आजको भन्दा कम शोषित र पीडित थिएन भन्ने कुरा प्रस्ट्याउने प्रयास गरेकी छु । साथै व्यक्तिको केही गर्ने अठोट र प्रयासले आफ्नो जीवन सफलताको उचाइ सम्म पुर्याउन सकिन्छ भन्ने कुरा जरात्कारुको जीवनीले प्रस्ट पारेको छ ।
जरत्कारु पश्चात् पौराणिक मिथकीय उपन्यास ‘परशुराम’ बजारमा लिएर आउनु भएको छ । यो लेखिनुको मूल उद्देश्य के थियो ?
– हामीले अन्शावतार भनेर भगवान् श्री परशुरामलाइ भन्ने गर्छौं । उनलाई विष्णुका अवतार हुन् पनि भन्छौं तर उनले त आफ्ना चार चार जना भ्राताहरूको वध गरे त्यो भन्दा भयानक आफ्नी माताको वध गरे । त्यति मात्र होइन उनले एक्काइस पटक हैहय वंशीय क्षत्रीयहरुको वध गरे । बाइसौं पटकमा वध गरेर संसारलाई क्षत्रिय विहीन बनाउन लागेका थिए त्यही बेला उनलाई श्री हनुमानले त्यसो गर्न रोकेका थिए । यो कुराले मलाइ निकै पिरोल्ने गर्थ्यो । कुरा स्पष्ट थिएन । जब मैले श्रीमद्भगवदमहापुराण, मारकंडेय पुराण, शिव पुराण एवं रामायण आदि अध्ययन गरें अनि बल्ल कुरो स्पष्ट भयो । त्यो कुरा तत्कालीन अवस्थामा राज्य आतङ्कबाट सुरुवात भएको दुर्भाग्यपूर्ण जातीय द्वन्द्व रहेछ । शासक सहस्त्रार्जुन एवं उनका पुत्रहरूबाट अनेक प्रकारले मच्चाएको राज्य आतङ्क एवं ब्राह्मणबद्ध विरुद्ध परशुरामले क्षत्रिय वध सुरु गरेका रहेछन् । यो इतिहास बारे पनि सबैलाई जानकारी होस् भन्ने हेतुले मैले यो उपन्यास लेखें ।
‘परशुराम’बाट पाठकले के पाउनेछन् ?
– मलाइ विश्वास छ पाठकले इतिहासबारे जानकारी प्राप्त गरेर सन्तुष्ट हुनेछन् साथै नयाँ मिठास प्राप्त गर्ने छन् ।
अध्यापकीय कालमा केही महत्त्वपूर्ण कुरा सम्झिनु पर्यो भने कुन चाहिँ विषय सम्झिनु हुन्छ ?
– जीवनमा केही गर्नुपर्छ भन्ने धारणा राख्छु । स्थान प्राप्त गर्नु महत्त्वपूर्ण कुरो हो तर त्यसको लागि कति योग्य भएँ भनेर साबित गर्नु अर्थात् त्यो स्थानलाई न्याय प्रदान गर्नु स्थान प्राप्ति भन्दा अझ महत्त्वपूर्ण कुरो हो । कर्म कहिले पनि सानो र ठुलो हुँदैन । त्यो केवल कर्म हुन्छ । आफ्नो कार्यलाई के कति महत्त्वपूर्ण बनाउने त्यो व्यक्ति स्वयमको हातमा हुन्छ । कान्छो छोराको एसएलसी पछाडि घरका दायित्व समाप्त भयो अब केही गर्नुपर्छ जस्तो लाग्यो । जिल्लाभरिकै असहज परिस्थितिको विद्यालय धम्बोझी मावि मा सरुवा लिएर गएँ । मेरो मूर्खतापूर्ण निर्णयमा सबै जना हाँस्थे ।
विद्यालयमा डेढ सय विद्यार्थी थिए । त्यो विद्यालय अझ असहज परिस्थितिमा थियो । त्यसलाई केही गर्ने सुरुवात प्रधान अध्यापक सुशिला शर्माले गर्नु भएको थियो र डेढ सय जति विद्यार्थी भएका रहेछन् । उहाँले मलाई “विद्यार्थी भर्ना बढाउने काम गर्नुस्” भन्नुभयो ।
म केही साथीहरू मिलेर घर घर गएर विद्यार्थीलाइ भर्ना हुन मनायौं र ढाई सय पुगे । अर्थात् अर्को वर्ष म प्रधान अध्यापक हुँदा ढाई सय विद्यार्थी र डेढ लाख रकम थियो विद्यालयमा । कक्षा दशसम्म पढाइ हुन्थ्यो । विद्यार्थी एस एल सी मा पास हुँदैन थिए ।
म गएको वर्ष निकै मेहनत गरें । निशुल्क कोचिङ पढाएँ । प्र अ सुशिला मेडमले विज्ञान शिक्षक पनि नियुक्त गर्नुभयो । हामीले निकै मेहनत गरेर पढायौं र त्यो वर्ष चार जना एस एल सी पास भए । त्यसपछि उहाँ सेवा निवृत्त हुनुभयो । उहाँले मलाइ प्रधान अध्यापक बनाउनु भयो । मलाई प्रधान अध्यापक हुनबाट रोक्न अनेक शक्ति लागिपर्यो तर उहाँले मान्दै मान्नुभएन ।
सुशिला मेडम र तत्कालीन जिल्ला शिक्षा अधिकारी स्व विष्णु प्रसाद थैबज्युले कुनै पनि राजनीतिक दलका कुरा नसुनेर मलाई नै जिम्मा दिनुभयो । दुवैलाई शत शत नमन ।
म प्रधान अध्यापक भए पछि मैले अध्ययन गर्दै गएँ । शिक्षकहरूको मनोबल जगाएँ । पढाउन उत्प्रेरित गरेँ । शिक्षकहरूले पढाए तर अधिकांश विद्यार्थीहरू त माथिल्ला कक्षामा पनि निरक्षर नै थिए । त्यो मेरोलागि सबैभन्दा लज्जास्पद हार थियो । “कहाँ गल्ती भयो त ?” म कैयौं रात निदाउन सकिन । शिक्षकहरूको बैठक बसालें सबैले सिकाइका सिद्धान्त अनुसारको जवाफ थिए अर्थात् अभिभावकको सक्रियताको पाटो शून्य छ । कैयौं रातको र दिनको सोचपछि उपाय भेटाएँ । हामीले बालविकास देखि नै सुरुवात गर्यौं । बालविकास कक्षा एक, दुई र तिनमा विशेष तरिका प्रयोग गर्यौं । करिब तिन वर्षमा नतिजा आउला भन्ने सोचमा थियौं तर एक वर्ष मै हामी विजेता भैसकेका थियौं ।
त्यसपछि माथिल्ला कक्षाहरूमा पनि निकै ध्यान दिन लाग्यौं सबै शिक्षक साथीहरू उत्साहित हुँदै जानु भयो । विद्यार्थीहरूलाई कम ज्ञान भएका विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्यौं । उपचार विधि प्रयोग गर्यौं । विज्ञान, अंग्रेजी र गणितमा विशेष जोड दियौं । परीक्षामा कडाइका साथ चोरी हुनबाट रोक्यौँ ।
विद्यार्थीहरू हामीले आशा गरेका भन्दा कैयौं गुणा राम्रा भए । समुदायमा विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भित्र ल्यायौं । विद्यालयका भवनहरू, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय एवं आइ टी प्रयोगशाला निर्माण गर्यौं ।
मलाई व्यवस्थापन समिति अध्यक्ष श्री धन बहादुर चन्द ज्युले हरेक कुरामा सहयोग गर्नु भयो । बाह्र वर्ष सम्म बिहान छ बजे घरबाट विद्यालय जान्थें र साँझ पाँच–छ बजे घर फर्किन्थें । घरबाट पतिदेवले पठाएको भात पनि कहिले भोका शिक्षा त कहिले विद्यार्थीलाई खान दिन्थें । एघार बाह्र कक्षा सञ्चालन गरियो । जिल्लाकै पहिलो प्राविधिक विद्यालय बनाइयो । त्यसमा पनि खै कस कसको आँखा लाग्यो ।
विद्यार्थी भर्ना भएर ओभरसियर पढ्न लागे फारम भर्ने बेलामा थाहा भयो कार्यक्रम षडयन्त्रपूर्ण तरिकाले खारेज गरेर बजेट ल्याप्स गराइदिएका । ४८ जना विद्यार्थीको एक वर्ष बरबाद हुने भयो त्यो पनि विद्यालयको अर्थात् मेरो कारणले । म पागल हुने जस्ती भएँ । आत्महत्या गर्ने अवस्था सिर्जना गराइदिए ।
त्यही बेला मैले विभागमा फोन गरेँ । उनीहरूले अस्वीकार गरे । अब के गरूँ ? एका एक मलाई एकजना देव तुल्य व्यक्तिको स्मरण भयो । उहाँ हुनुहुन्थ्यो – प्रा डा जयराज अवस्थी । उहाँलाई आफ्ना सबै समस्या फोनबाट अवगत गराएँ । उहाँले तत्कालीन शिक्षाका महानिर्देशक डा. लवदेव अवस्थी ज्युलाई फोन गरिदिनु भयो । म र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रद्धेय धन बहादुर चन्द विभागमा गयौं र हाम्रा समस्या राख्यौं । प्रातः स्मरणीय महानिर्देशक डा लवदेव अवस्था ज्युले समस्याको निराकरण गरिदिनुभयो र बालबालिकाको शिक्षा सुचारु गराइदिनुभयो । दुबैलाई मेरो श्रद्धापूर्ण नमन छ ।
एक दिन एउटा हत्यारा हातमा खुकुरी लिएर एउटी केटीलाई काट्न आयो । त्यो दरले मलाई अँगाली । हत्याराले “त्यो केटी मलाई दे” भन्छ । केटीले “मलाई बचाउनुस्” भन्छे । मैले केटीलाई लिएर अफिसमा राखें र प्रहरीमा फोन गरेँ । त्यो हत्यारा केही महिनाअघि जेल परेको रहेछ । छुटेपछि फेरि त्यो केटीको पछि पर्यो । केही क्षणमा प्रहरी आएर त्यस अपराधीलाई नियन्त्रणमा लिए ।
त्यसपछि त्यो हत्यारा र उसका परिवार मेरो विरुद्ध कति लागे कति । तर म पछि परिन । म जहाँ गए पनि फोनबाट थर्काउँथे । आधा रातमा मस्त सुतेको बेला पनि “तँलाई मारिदिन्छु । तेरा परिवारका सदस्यलाई मारिदिन्छु भन्थे ।”
म आजित भएँ । आतङ्कित भएर त्यसपछि तत्कालीन एस पी पाल सरसित निकै बाझें , त्यो हत्याराको पछि तत्कालीन एकजना प्रहरीका अधिकृतको पनि हात रहेको रहेछ । एस पी साहेबलाई सबै भने । उहाँले मलाई निश्चिन्त हुन आग्रह गर्नु भयो र मैले त्यसपछि बल्ल मुक्ति पाएँ । पाल एस पी साहेबलाई पनि नमन ।
म प्रधान अध्यापक हुने बित्तिकै कक्षामा पढ्दै गरेकी एउटी छात्रालाई अपहरण गरेर लाग्न लागे । केही रोएकी छ उनीहरू त्यसलाई मोटर साइकलमा बसाल्ने प्रयासमा छन् । मैले के गर्ने ? मेरो अगाडी दुई वटा विकल्प थिए – एउटा देखेको नदेख्यै गर्ने । अर्को प्रतिकार । ती सबल गुण्डा म शारीरिक रूपले दुर्बल नारी । जे भए पनि मेरो मनले मानेन । त्यहाँ रहेको एउटा भत्ठा उठाएँ र “आ साले, ल लैजा त कसरी लग्छस्” भनेर दौडिएँ । त्यो देखे पछि सबै मोटर साइकल कुदाएर भागे र केटी सुरक्षित भै । यसरी विद्यालयमा वातावरण सुरक्षित बनाउने प्रयास गरेँ ।
त्यसपछि पनि कतिपय असामाजिक तत्त्वहरूलाई मेरो विरुद्ध प्रयोग गरियो । मलाई अनेक तरिकाले लाञ्छित गरियो । मेरो विरुद्ध अख्तियारमा पाँच पाँच वटा मुद्दा समेत हाले तर जब अख्तियारका कर्मचारी आएर हाम्रो बिल र भौचर हेरे उनीहरूले मलाई भने, “मेडम, यी बिल हेर्दा हाम्रा आँखाबाट आँसु झरे । यति इमानदार व्यक्ति संसार मै दुर्लभ हुन्छन् ।” मलाई अत्यन्त श्रद्धा गर्दै गए र त्यो मुद्दा तामेलीमा हालिदिए तर ती व्यक्तिहरूले फेरि मुद्दा उल्टाएर काठमाडौँमा हालेछन् ।
त्यसपछि ती सहसचिवले भनेछन्, “किरण मेडमले करोडौंको काम इमानदारीका साथ पूर्ण गरेर दुई लाखको हिनामिना गर्नुभयो त ? यो सबै अपराधीहरूले उहाँलाई दुख दिएका हुन् ।” उहाँको कुरामा सबैको सहमति भएछ । ती महान् आत्मा हुन् सहसचिव हुन् किशोर सिलवाल र उनका सहकर्मीहरू । सबैको जय होस् ।
मैले सेवा सुरु गर्दा मदेखि परिचर सम्म सबै गरेर पन्ध्र जनाको स्टाफ थियौं भने चौध वर्ष पछि म सेवा निवृत्त हुँदा ढाई हजार विद्यार्थी र छपन्न जना शिक्षक थियौं । हाल लगभग चौध पन्ध्र जिल्लाका विद्यार्थी पढ्न आउँछन । धम्बोझी स्कुलमा भर्ना नपाए मात्र बोर्डिङ स्कुल जान्छन् । हाल उक्त विद्यालयमा तीन हजार बढी विद्यार्थी छन् । मैले सेवा सुरु गर्दा पढ्ने गरेका विद्यार्थीहरू अधिकांश हत्या काण्ड एवं अनेक अपराधमा जेल सजाय काटिरहेका छन् । बिस्तारै सामान्य परिवारका मधेसी समुदायका बालबालिका पढ्न आउन लागे ।
हाल ती अति सामान्य परिवारका विद्यार्थी डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, वकिल, शिक्षक, बैंकर, सेना, प्रहरी छन् भने सबै विद्यार्थी अध्ययनमा सफल छन् । मैले सुरु गर्दा सचेत वर्गका विद्यार्थी निजी विद्यालयमा जान्थे । केवल अति सामान्य परिवारका मधेसी मूलका विद्यार्थी आउँथे । उनीहरू अहिले निकै उच्च ओहोदामा छन् । अब त सचेत वर्गका विद्यार्थीहरूको लाम लाग्छ । धम्बोझीमा भर्ना नपाए मात्र बोर्डिङमा जान्छन् ।
सेवा निवृत्ति पछिको समाजसेवा के कस्तो छ ?
– सेवा निवृत्ति पछि २०७६ सालबाट मुस्लिम बहुल क्षेत्रमा अति सामान्य परिवारका केटीहरूको सेवा गर्ने अवसर नगरपालिकाले जुराइदियो । चार वर्ष पछि विद्यालय धम्बोझीको हाराहारीमा पुगेको छ ।
नयाँ लेखकलाई के सुझाव दिनुहुन्छ ?
– सिर्जना सबैको वशको कुरो होइन तर जसलाई सिर्जनातर्फ आकर्षण छ कृपया अगाडी बढ्नुस् । अध्ययन गर्नुस् – पुस्तकको, समाजको, व्यक्तिको अनि भावनाको । अर्काको अनुकरण नगर्नुस् बरु आफ्नोपन प्रस्तुत गर्नुस् । साहित्य तपाईंको प्रतीक्षामा छ ।
तपाईंको विचारमा कर्म के हो ?
– हो, व्यक्ति निभेको चुल्हो होइन बल्दो आगो हुनुपर्छ जस्तो लाग्छ मलाई । सबैले बलेको आगो नै ताप्ने गर्छन् । हाम्रो कार्य अर्थात् सत्कर्म नै हाम्रो परिचय हो । कार्य कहिले पनि सानो हुँदैन न त यो नाशवान् छ । आफ्नो कर्मलाई प्रेम गर्नुस्, यसैलाई पूजा ठान्नुहोस् । कर्मको साथमा बेइमानी कहिल्यै नगर्नुस् बरु रमाउनुहोस् । व्यक्तिको बल र लिस्नो नै कर्म हो । कर्मले नै व्यक्तिलाई उठाउँछ, अमरत्व प्रदान गर्छ – श्री कृष्णले पनि त भन्नुभएको छ ।
अन्त्यमा केही भन्नु छ भने
– मैले लेखेका रचना पढिदिनुहोस् । बुझेर मात्र प्रतिक्रिया दिनुहोस् किनभने एउटा साहित्यकारले निकै मेहनत र समय खर्चेर साहित्यको सिर्जना गरेको हुन्छ । त्यसलाई सरसरी मोटामोटी तरिकाले पढ्दा लेखनको गम्भीर पाटोले न्याय नपाउन सक्छ । मैले अधिकांश लेखनमा हाम्रा अवतार एवं देवदेवीहरूका बारेमा जनजीवनमा रहेका भ्रम अन्योल हटाउने प्रयास गरेकी छु ।
उनीहरूले भोगेका जीवन र हाम्रो जीवनबिचको भिन्नता र समानता के के छन् त ती पनि प्रस्तुत गर्ने प्रयास गरेकी छु । ती महान् व्यक्तित्व र हाम्रा अग्रजहरूका हाम्रा देवदेवीहरूका जीवन र योगदानबारे आफूले प्राप्त गर्न सकेका सूचना सम्प्रेषण गर्ने प्रयत्न गरेकी छु । बडो दुख र मेहनतले अध्ययन गरेर प्राप्त गरेका तथ्य प्रस्ट्याउने प्रयास गरेकी छु तसर्थ सबै पाठक माझ मेरा कृति पढिदिन अनुरोध गर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।