
सीमान्त सम्झना – गणेशप्रसाद लाठ
आख्यानकार गणेशप्रसाद लाठको संस्मरण सङ्ग्रह हो सीमान्त सम्झना ।
सीमान्त सम्झना एउटा उत्सुक बालक–किशोरले देखेको आफ्नो घर –समाजको रुपान्तरणको संस्करण हो । विज्ञान र प्रविधिका आविष्कारहरुले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरुको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पुरा हुँदैन नि हैन र !
पुस्तकमाक अन्त्यमा गणेशप्रसाद लाठ लेख्नुहुन्छ, ”मइयाले फकाईफकाई सिलेटमा कखरा लेख्न नसिकाउनुभएको भए, असल मान्छे बन्ने काइदा नसिकाउनुभएको भए, बाउजीले औँला समाएर स्कुलसम्म नलगिदिनुभएको भए, बेलाबखत मेरा कान ननिमोठिदिनुभएको भए, शिक्षक शिक्षिकाले स्नेह र लट्ठीको कूटनीति प्रयोग गर्दै स्कुले पढाइमा अगाडी नबढाइदिनुभएको भए म के बन्थेँ होला ? त्यो त थाहा भएन, तर यो किताब पक्कै आउने थिएन । मइया, बाउजी र शिक्षक– शिक्षिका – मेरो जीवनका यी आर्किटेक्टहरुको ठूलै रुण छ ममाथि । यस जुनीमा त रुणको भार उतार्न सक्दिँन होला; अर्को जुनी कसले देखेको छ र ! हृदयबाट नमन गर्नुबाहेक म जस्तो रुणीको विकल्प नै के छ र !
मैले ‘यो संस्करण तयार गर्न झण्डै ६० वर्ष खर्चिनुपर्यो’ भनेँ भने कतिपय पाठकले प्रतिक्रिया ठोक्न सक्नुहुन्छ, ‘ढाँट्नुको पनि सीमा हुन्छ नि यार ! ‘ तर धरोधर्म, झूटो कुरो गरेकै होइन । धरतीमा पाइला टेकेदेखिका संस्मरणहरु सङ्कलन गर्दै बसिराखेको छु । तिनलाई कागजमा उतार्ने काम चाहिँ पछिल्ला तीन वर्षमा गरेँ । अनि तयार भयो सीमान्त सम्झना । सीमान्त सम्झनामा आफ्ना अनुभव त हुने नै भए, अरुहरुका थोरैथोरै कथा पनि छिराएको छु । इतिहासका पानासमेत पल्टाउने प्रयास गरेको छु । म एक्लैले सबै चीज भ्याउन सम्भव नै थिएन, न अगाडि होला ।”
पुस्तकलाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो । तीन सय ३२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ४५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

