साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक अश्विनकुमार पुडासैनीको प्रेरणामूलक पुस्तक ‘बत्तीमुनि उज्यालो’ प्राप्त भएको छ ।

यसमा ‘समाज र संस्कृति’ खण्डमा ‘प्रकाशकको खोजी’, ‘धर्तीकी अप्सरा’लगायत २० थान लेख, ‘अर्थ र व्यवस्थापन’ खण्डमा‘पैसाको व्यापार’, ‘सफलता कथा’, ‘पर्यटन विकास’लगायत १९ थान लेख, ‘राजनीति र कूटनीति’खण्डमा ‘नयाँ युग’, ‘आफै शासक’, ‘उज्यालो भविष्य’ २३ थान लेख समावेश छन् ।

आभारमा लेखन लेख्छन्, “विज्ञान-प्रविधिको विकास, आविष्कार र समयको परिवर्तन सँगसँगै उक्तिहरू पनि परिवर्तन हुन्छन् । डिबिया वा पानसमा बत्ती बाल्ने समयमा चलेका उक्तिहरू बिजुली बत्तीको आविष्कार सँगसँगै परिवर्तन भएका हुन् । त्यही परिवर्तनको परिभाषा हो बत्तीमुनि उज्यालो ।”

भूमिकामा कृष्णमुरारी भण्डारी लेख्छन्, “यो त्यतिखेर लेखिएका रचनहरूको सँगालो हो, जो लेखिने क्रममा घटनाहरू घटिरहेका थिए, ती ती विषयमा धमाधम देशव्यापी बहस, विमर्श र निर्णयहरू भैरहेका थिए । पस्तकका परिच्छेदहरू जीवन्त, सूचनामूलक, विचारोत्तेजक, विश्लेषणात्मक र दिशानिर्देश गर्ने खालका छन् । पुस्तकको शीर्षकै पिच्छे भैरवी, द्रुपद राग झैँ भरिएको गाग्रोको पानी खन्याउँदा जुन आवाजका साथ पानी निक्लन थाल्छ, लेखक त्यसै गरी मडारिएर अनुच्छेदहरूमा फाल हानेका छन् ।”

भूमिकामा श्यामल अधिकारी लेख्छन्, “पुस्तक आद्योपान्त पढेपछि लाग्छ, लेखक घोर निराशा फैलाइएको यस खास कालखण्डमा आशाको दियो देखाउन खोजिरहेका छन् । उनले स्वेट मार्डनले बताएका सफलताका सूत्रहरू, स्टिभन कोवेको ‘अति प्रभावशाली मानिसहरूका सात आनीबानी’, शिक्षासम्बन्धी डा. रामकण्ठ माकजुको मोडल आदिका माध्यमबाट पाठकहरूसँग सकारात्मक सोच र रूपान्तरणको मार्ग पहिल्याउन संवाद गरेका छन् ।”

पुस्तकलाई दिव्य देउराली प्रकाशन प्रा.लि. ले बजारमा ल्याएका हो । ३ सय ४४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय २५ रुपियाँ रहेको छ ।