साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई वरिष्ठ साहित्यकार डा. एकनारायण पौड्यालद्वारा लेखिएको अनुसन्धानात्मक कृति “नेपाली कथामा आञ्चलिकता”  प्राप्त भएको छ ।

यसमा खण्ड एकमा ‘आञ्चलिकताको सैद्धान्तिक अवधारणा’, खण्ड दुईमा ‘आञ्चलिक साहित्यलेखनको परम्परा’, खण्ड तीनमा ‘आञ्चलिक साहित्य विश्लेषणका मानदण्डका आधारमा नेपाली कथाहरूको विश्लेषण’, खण्ड चारमा ‘आञ्चलिक साहित्यका तत्त्वगत आधारमा नेपाली कथाहरूको विश्लेषण’, खण्डा पाँचमा ‘उपसंहार तथा निष्कर्ष’ आदि समावेश छन् ।

मन्तव्यमा सनत रेग्मी लेख्छन्, “यस अनुसन्धानात्मक कृतिले, नेपाली कथा या आञ्चलिक लेखनको विषयमा निरूपण गरेको छ । नेपाली कथामा आञ्चलिक विषयमा लेखिएको यो पहिलो कृति हो । यो कृति लेखेर नेपाली साहित्यमा आञ्चलिक कथा लेखनमा उल्लेखनीय काम गरेकामा श्री एकनारायण पौड्यालप्रति धन्यवाद ज्ञापन गर्दछु ।”

“नेपाली साहित्यमा आञ्चलिक कथाको थालनीबारे गहन अध्ययन गर्दा अरू रचना पनि प्राप्त होलान् र यसको इतिहास अझ लामो होला तर हालसम्म प्राप्त र मान्य पहिलो कथाका रूपमा भवानी भिक्षुको ’हारजीत’ देखिएको छ । यसको लेखन २०१५ सालमा भएको हो । यसपछि विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल आदि स्रष्टाका कथामा पनि आञ्चलिकताका विशेषता भेटिन्छन् र तिनको लेखन पनि २०३० सालभन्दा अघि नै भएको देखिन्छ ।” लेखकीयमा डा. एकनारायण पौड्याल उल्लेख गर्छन्, “आञ्चलिक कथाको लेखन २०३० सालपछि अझ फस्टायो । यसै दशकमा नन्दराम लम्सालले आफ्नो कथासङ्ग्रह विसर्ग (२०३४) लाई आञ्चलिक कथाहरूको सँगालो भनी पुस्तकमा नै किटानीका साथ उल्लेख गरे। हुन पनि सो पुस्तक आञ्चलिक कथाहरूको सङ्ग्रहका रूपमा रहेको छ । यसरी सचेततापूर्वक आञ्चलिक कथा लेख्ने कार्यको थालनी २०३० का दशकदेखि नै भएको हो ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेसन हाउसले प्रकाशनमा ल्याएको हो । ३ सय २८ पृष्ठमा आबद्ध यसको मूल्य ६ सय रुपियाँ रहेको छ ।