साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक वीरेन मगरद्वारा मानवतावादी सत्पात्र भम्पाको जीवन, सङ्घर्ष र शरणार्थी जीवनका  ऊहापोहमाथि लिखित पुस्तक “झम्पा : एक अडान अनेक प्रश्न” प्राप्त भएकाे छ ।

३ सय ११ पृष्ठमा आधारित यस पुस्तकमा खण्ड १ : दिवा, खण्ड २ : आपाआमाले कोरेको बाटो, खण्ड ३ : एक राष्ट्र एक जाति, खण्ड ४ : आन्दोलन, खण्ड ५ : माईबगर, खण्ड ६ : नसुनिएको आवाज, खण्ड ७ : देश दुखेको बेला, खण्ड ८ : उर्मिला लगायत लेखकीय समावेश छन् भने तस्वीर-दस्तावेज खण्डमा तस्वीरहरू राखिएको छ ।

“१७ अगस्ट, १९९० मा भुटानका सहायक गृहमन्त्री दागो छिरिङको एउटा सार्वजनिक सूचना आयो- ‘दक्षिणी भुटानबाट ठूलो सङ्ख्यामा ल्होत्साम्पाहरू राज्यद्रोहको अभियानमा सहयोगी बन्न देश छाडेर हिँडिरहेका छन् । आइन्दा उनीहरूलाई भुटानी नागरिकका रूपमा दर्ज गरिने छैन ।” पुस्तकको पछिल्लो पृष्ठमा देवेन्द्र भट्टराई लेख्छन्, “यही ‘नोटिफिकसन’ बोकेर थिम्पुबाट फुन्चोलिङ-जयगाउँ झरेका एक वरिष्ठ चिकित्सक भम्पा राई फेरि फर्किएर आफ्नो जन्म-कर्मथलो कहिल्यै गएनन् । त्यही दक्षिणी भुटानबाट लखेटिएर शरणार्थी बन्न पूर्वी नेपाल आइपुगेका एक लाखभन्दा बढी आफन्तजनको बीचमा स्वनिर्वासित र आजन्म परोपकारी बनेरै उनले जीवन बिताए । आज पनि दमक, झापाको सीतापुरी राजमार्ग छेवैको जङ्गलमा तिनै सत्पुरुष डा. भम्पा राई र उनकी श्रीमती उर्मिलासहितको समाधिस्थलको जग बसेको छ जसले कथित लोकतन्त्र तथा सुुखी-खुसी राष्ट्रको दुहाई दिएर नथाक्ने त्यही ड्रागुन-माटोको कालो कर्तुतलाई जुगजुगान्तर सम्झाइरहनेछ । यो कृति ‘भम्पा’ इतिहासको यो कालखण्ड उधिन्ने एउटा झिल्को हो, चिंगारी हो । चिंगारी अर्थात् आगोको सूक्ष्म कण जुन दन्किरहेको ज्वालाबाट मात्रै निस्कने गर्छ । प्रश्न अनेक छन्, अडान एउटै – घरफिर्ती !”

म स्वेच्छाको शरणार्थीमा डा. भम्पा राई लेख्छन्, “कहिलेकाहीँ लाग्छ, देशभक्त एउटा ठूलो रोग रहेछ । विगत लामो समयदेखि म यसैले ग्रस्त छु । तर यो रोग मलाई प्रिय लाग्छ । यही रोगले मलाई जीवनको अर्थ सिकायो । बाँच्ने हौसला दियो । कर्मको बाटो देखायो । म चाहन्छु, मेरो शरीरको अन्य सबै रोग भन्दा भयङ्कर यो रोगले मलाई चिहानसम्मै साथ देओस् ।”

रत्न पुस्तक भण्डारबाट प्रकाशित पुस्तकको मूल्य ७ सय ९५ रुपियाँ रहेको छ ।