साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यपोस्टका छन्दकविता सम्पादक तथा साहित्यकार यम रेग्मीको छन्दबद्ध कवितासंग्रह “पहराको जून” प्राप्त भएको छ ।
वणर्मात्रिक छन्दका ५२ वटा कविता रहेको कवि रेग्मीको ‘पहराको जून’मा डेढ दर्जनभन्दा बढी वर्णमात्रिका छन्दहरूको प्रयोग गरिएको छ ।
यसमा “गुरुदेव, महिला यातना, प्रियसीलाई सन्देश ,देश रोइरहेछ, गाउँ, रगतको पर्व, रातो बाकस, हराएको प्राण ,किन यस्तो ?,आकाशे बेली, बाँझो धर्ती, पानी, पहिलो प्रेम, बन्द, मार्ग, सगरमाथा, सीमाको अनुरोध, जिउनुको अर्थ ,सिर्जनामा मेरो समाज, धर्तीले धैर्य त्याग्दा, च्यापिएका सपना” जस्ता फरक फरक ५२ वटा विषयवस्तुलाई कवितामा उठान गरिएको छ ।
भूमिकामा कालीप्रसाद रिजाल लेख्छन्, “प्रायः छन्द कविताहरू प्रकृतिको वर्णन र विषयको लालित्यमय प्रस्तुतिमा केन्द्रित रहेको पाइन्छ तर रेग्मीजीको कवितासंग्रह यो परम्परा भन्दा फरक रहेको र नेपाली जीवनको मार्मिक शब्द चित्र प्रस्तुत गर्नमा केन्द्रित र विस्तृत रहेजस्तो मैले अनुभव गरेँ। यस मानेमा रेग्मीजीले छन्दबद्ध कवितालाई आधुनिक फ्लेवर प्रदान गरेजस्तो मलाई लाग्यो । सामाजिक जीवनका अन्य पक्षका साथै प्रस्तुत कविताले जनमानसमा भएका आशा ,अभिलाषा र अपेक्षाहरूको तुसारापात भएपछि उत्पन्न निराशा, क्षोभ र आक्रोशलाई अत्यन्त सशक्त रूपमा उद्घोष गरेका छन् । यसका साथै समाजमा विद्यमान शोषण उत्पीडन भेदभाव र विसंगतिप्रति पनि कविले चोटिलो प्रहार गरेका छन् । खास गरी नारी जातिमाथि गरिने पक्षपात र दुर्व्यवहारको विरुद्ध विद्रोहको आवाज पनि बुलन्त गरेका छन।”
पुस्तकलाई ए. डी .बी. पब्लिकेसनले बजारमा ल्याएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।