प्रिय छोरा,

म यता परलोकमा आरामपूर्वक छु, मेरो बारेमा कुनै चिन्ता-फिक्री नलिएस् । म यता आएको झण्डै एक वर्ष बितेछ, समय कसरी बित्यो ‌‍? भेउ नै पाइएन । यताको म्याद पनि सक्किने बेला भएको छ । यसपछि कुन्नि कता जाने हो ? खैर, यता जग्गासग्गा किन्ने, घर ठड्याउने चलन नै छैन । परलोकमा प्रवेश गर्दैगर्दा नै हरेकलाई उसको कर्मअनुसार प्लट उपलब्ध गराइन्छ । यता तिर्खा अथवा भोक पनि लाग्दैन, त्यही भएर खानेपिउने कामै रहेन । हाडमा‌ंसको त्यो बाक्लो आवरण त त्यही इहलोकमा छुटेको हुन्छ, त्यही भएर होला, यहाँ लुगा लाउने बानी रहेनछ । रुपैयाँ पैसाको चलन त पिटिक्कै छैन यहाँ । केही किन्ने काम परे पो ! अनि सुनचाँदीजस्ता देखिने धातु त बाटोभरि ओछ्याइका हुन्छन् । सुरू सुरूमा बाटो हिँड्दा कुल्चिन अप्ठेरो लाग्थ्यो । अब त बानी परिसकेको छ ।

खैर, तिम्री आमालाई सञ्चो त छ नि ! ऊ पनि दमको रोगी, त्यो मृत्युलोकमा कुन्नि कति दिन बस्नु पर्ने हो त्यो बिचरीलाई अझै ! इहीलोकबाट यता आउने चिर-परिचितहरूसित तिमीहरूबारे सोधखोज गरिराख्छु । यतातिरको अध्यागमन विभाग तिम्ले कल्पना नै गर्न नसक्ने गरी विशाल र सुव्यवस्थित रै’छ नि । दिनका दिन लाखौँ मान्छे आउँछन् । आगन्तुकहरूको देशअनुसार अध्यागमन विभागमन फाँट छुट्याइएका छन् । त्यहाँ सपैभन्दा अन्तिममा नेपालको लागि पनि एउटा फाँट छुट्याएको छ । नेपालको भूमिमा जोसुकैले प्राण त्यागोस्, उसको अध्यागमनको काम त्यही नेपाली फाँटले हेर्ने गर्छ । नेपालकै छेउमा पाकिस्तान, भारत, चीन, बाङ्गलादेश जस्ता छिमेकी मुलुकका फाँटहरू राखिएका छन् । आफूले चिनेको कोही मान्छे आइपुग्या छ कि भनेर मनमनै आस गर्दै म उता ठिम ठिम गर्दै दिनहुँ पुगिराख्छु ।

नेपाली फाँटकी प्रमुख हाकिम्नी जापानको सिमान्तो नगरबाट आएकी हुन् । एकदम दुब्ली, ज्यानमा हाड र छालाबाहेक केही बाँकी छैन । रिसाहा पनि उतिकै । तर मलाई असाध्यै माया गर्छिन् । नेपाली चुटकिलाहरू सुनाइरहन्छु । उता केही महिनाअगाडि पोखरामा प्लेन दुर्घटना हुँदा बाफ रे, यताको नेपाली फाँटमा हल्लीखल्ली नै भएको थियो । त्यो दिनमा नेपाली फाँटकी त्यही हाकिम्नीले त रिसाएर उधम मचाएकी थिइन् । आगन्तुकहरुलाई तथानाम गाली गर्दै थिइन्, “यता परलोकमा गोडा राख्ने ठाँउ छैन, उता नेपालीहरुलाई परलोकमै घरजम गर्नु पर्ने ?”

उसलाई पनि के दोष दिनु ? ऊ आफू एक सय दस वर्ष सिमान्तोमा बिताएर आएकी थिइन्, उसले अरू जापानीहरूलाई पनि उमेरको हदम्याद पुगेपछि मात्र इहलोक त्यागेको हेरेकी थिइन् । उनलाई के थाहा ? नेपालको भूगोल र नेपालीको कथा ।

यता परलोकमा नेपालीहरूको अपत्यारिलो सङ्ख्यामा आगमन देखेर केही दिनअगाडि मात्र एक जाँच आयोग गठन गरिएको छ । संयोगले आयोग प्रमुख छिमेकी राष्ट्र, भारतका पूर्व प्रधानमन्त्री रहेछन् । मलाई चिन्दा रहेछन् । एक दिन उनी पनि आफ्नो पूर्वाग्रह वमन गर्दै थिए, “सशस्त्र द्वन्द्वको बहाना झिकेर बथानका बथान यता आउने तिमीहरू नै । भुईँचालो देखाउँदै झुण्डका झुण्ड यता शरणार्थी भएर आउने तिमीहरू नै । घरि, खाडी मुलुकको काम र तापले च्यापिएर यता आउनु पर्यो भन्ने पनि तिमीहरू नै । घरि सिटामोलको बहाना, घरि झाडापखालाको बहाना, घरि बाढीपहिरोको बहाना ।”

“रहर लागेर आएका हौँ र ?” दुईचार कडा–कडा जवाफ फर्काउने झोंक त मलाई पनि चलेको थियो । तर पावरफुल हाकिमसित मुख लाग्नु हुँदैन भनेर मलाई चेत थियो । चुप नै रहेँ ।

तर उनी चुप लागेनन् । क्रान्तिकारी नेता जस्तै झन् झनै विष वमन गरिरहे, “मलाई सबै थाहा छ, तिम्हरू गुड्दै गरेको गाडीलाई अनाहकमै खाल्टोमा लैजाने गर्छौ । म खुबै बुझेको छु, तिमीहरूको चर्तिकला, आकाशको प्लेनलाई जानाजानी भुईँमा घोप्ट्याउने गरेका छौ । अब त पासो लगाउने नयाँ जुक्ति पनि निकाल्यौ । पहिला बैंकबाट अनापसनाप कर्जा झिक्ने, जथाभावी लगानी गर्ने, अनि भुक्तान गर्न सकिएन भनेर पासो लगाउने ? संसारभरिका महङ्गा गाडी चढ्ने शौक तिम्हरूलाई नै । कर्जा काढेर भए पनि ककटेल पार्टी गर्ने रहर तिम्हरूलाई नै । इज इट फेयर ?” सहन नसकेपछि म त्यहाँबाट उठेर हिँडेँ ।

“जीवनभरि राजनीति गर्दै आएको मान्छेलाई के थाहा, गरिखानेहरूको पीडा ? मुला इण्डियन !” मनमनै बरबराएँ । इन्डियालाई गाली गरेपछि मनमा आज पनि गज्जबको तृप्ति हुँदो’रैछ।

अस्ति नै हाम्रा पुराना छिमेकी बिसुनजीको छोरो त्रिपुरारीसित परलोकको अध्यागमन विभागमा जम्काभेट भएको थियो । उदास थियो बिचरो ।

“खाईलाग्दो भर्भराउँदो जवानीमा हर्टअट्याक कसरी आयो ?” भनेर सोधेँ । “एकातिर आफूउपर कर्जाको भार थेग्नै नसक्ने गरी बढेको थियो, आर्कोतिर सरकारलाई राजस्व बुझाउनु पर्ने । कुन्नि कानुन पालनामा कसरी गल्ती भयो ? जानाजानी गरेको थिएन । करोडौँ कर तिरिसकेको कसैले सम्झेन, लाख रूपैयाँ बेइमानी गरे भनेर अखबारमा ठुलै समाचार बन्यो । सरकार पनि के कम, थेग्नै नसक्ने गरी कर, जुर्माना र ब्याज निर्धारण गरेर चिठ्ठी पठायो । केही महिना जेलको हवा खाएँ । जग्गा बेच्न खोजेँ, आधी भाउमा पनि ग्राहक भेटिनँ । मन्दीको मारमा कारोबार पनि आधीमा झरेको थियो । बजारको बाँकी बक्यौता पनि जसका तस थियो । दिनरात चिन्तामा रहन्थेँ । एक दिन छाती दुख्यो, रिङ्गटा लाग्यो । भुईँमा ढलेँ, त्यसपछि उठ्नै सकिनँ ।”, रून्चे मुख बनाउँदै उसले फर्कायो ।

अनि छोरा, एउटा घतलाग्दो कुरो भन्न नै छुटाएँ । इहलोकवासीले कल्पना गरेअनुसार यहाँ स्वर्ग विभाग अथवा नर्क विभाग भनेर क्यै छुट्याइएको छैन । मान्छेको पछिल्लो कर्मअनुसार उसको चित्तमा दुःख अथवा सुखका तरङ्गहरू सम्प्रेषित गरिन्छ । अत्यधिक खराब कर्म गरेकाहरू यहाँ जतिसुकै सुखसुबिधामा रहे पनि दुःखी नै रहन्छन् । उसको चित्तले उसको खराब आचरणको कथा उसलाई सम्झाइरहन्छ । आफ्ना इहीलोकका कर्महरू सम्झेर ऊ दिनहुँ ग्लानिको आगोमा जलिरहन्छ । म पनि यहाँ आउँदा सुरू सुरूमा निकै दुःखी रहन्थेँ । आफ्नो भागको फल भोग्दै जाँदा बिस्तारै दुःखका भाव घट्दै गएका छन् । दिनको बेलामा त ठीक हुन्छु, रात परेपछि मानसमा पुराना कुराहरू तरोताज हुन थाल्छन् । अनि चित्तमा पछुतो र ग्लानिभावले शिर उठाउन थाल्छ । यहाँ दिन र रातको अवधि पनि १५–१५ दिनको रहेछ नि । क्यार्नु ! जे गर्या छु, त्यो भोग्नै पर्छ ।

छोरा, तिम्ले एउटो कुरो जानै पर्ने भयो । परलोकबाट पृथ्वी फुटबलभन्दा पनि सानो देखिन्छ नि । मैले एक दिन एक जना बडेमान हाकिमलाई फकाएर एकदमै शक्तिशाली दूरबिन उधारोमा पाएको थिएँ । दूरबिन लगाएर सो फुटबलमा हाम्रो देश खोज्ने प्रयास गरेँ । एउटा झिनो रेखा मात्र हेर्न भ्याएँ । त्यो झिनो रेखाभित्र हाम्रो गाँउ, हाम्रो घर र तिम्हरूलाई हेर्न भ्याउने कुरै भएन । अचेल यसो गम्ने गर्छु, “तिम्रा साना काकासित जग्गाको भागबन्डाको लागि गरेको झगडा अनाहकमै गरेको रहेछु । भोलि नै गएर “बुवाले क्षमायाचना पठाएका छन्” भनी मेरो भाइलाई मेरो सन्देश दिनू । उनले खोजेको सम्पत्ति उनलाई जिम्मा लगाउनू । तिम्ले पनि काकापट्टिका भाइबहिनाहरूसित मेलमिलाप गर्नू । सबै जना मिलेर बस्नू ।

अनि, तिम्लाई रामेश्वरजी याद छन् ? उनको पाँच लाख पचाए भनेर उनले मउपर आरोप लगाएका थिए । पछि पञ्चायतीमा उनी नै झुठो सावित भएका थिए । असलमा उनी सत्य थिए । म नै झुठो थिएँ । यहाँ आएपछि एक दिन रामेश्वरजीसित भेट भयो । उनी मुसुक्क हाँसे । केही बोलेनन् । म नै उनका आँखासित आँखा मिलाउन सकिनँ । सक्छौ भने उनको परिवारलाई त्यो पाँच लाख ब्याजसहित फिर्ता गर्नू । सक्दैनौं भने उनको परिवारलाई कुनै अन्य प्रकारले सहयोग गर्नू । अनि जुगेश्वर काका याद छन् नि ? उनी कोरोनामा परेर मरेका थिए । उनी पनि एक दिन भेट भएका थिए । मलाई राम्ररी सम्झना छ, ‘उनकी श्रीमती हाम्रो ढोकामा अक्सिजन सिलेन्डर माग्न आएकी थिइन् । सिलेन्डर दिनु त परै जाओस्, हामीहरू अगाडि आउन पनि मानेनौं । असलमा त्यो पनि एक किसिमको पाप थियो ।

छोरा, म धर्मकर्ममा जीवन समर्पण गरेको मान्छे । तिम्लाई थाहा भएकै कुरो हो । श्रीमद्भगवद्गीताका अठार अध्याय त मलाई कण्ठै थिए । अनि पूजाअनुष्ठानमा मेरो श्रद्धा कस्तो थियो, तिम्लाई भनिराख्नु नै परेन । यहाँ आएपछि मैले फरक कुरो थाहा पाएँ, धर्मकर्ममा त बडो सरल कुरो रै’छ । आफ्नो होस् अथवा अन्य कसैको, चित्तलाई पीडा हुने काम कहिल्यै नगर्नू । भूलबस कसैको चित्त दुखाएका छौ भन्ने तु गएर इमान्दारीपूर्वक क्षमायाचना गर्नू । कोही तिम्रो ढोकामा क्षमादानको याचना गर्दै आएको छ भने उसलाई तु क्षमादान दिनू । कसैको सदासयता अथवा सहयोगले तिम्रो चित्तको पीडा घटेको अथवा खुसी बढेको छ भने पनि तु गएर सच्चा मनले आभार प्रकट गर्नू । तिम्रो चित्त प्रसन्न छ भने त्यो प्रसन्नता आफूसम्म मात्र नराख्नू, अप्रसन्न चित्त भएकाहरूलाई बाँड्ने प्रयास गर्नू । यति गरेपछि तिमीले धर्मकर्मको नाममा अरू क्यै गर्नु पर्दैन है, बाबु !

ल, आजलाई यति नै ।

तिम्रा परलोकवासी पिता