काठमाडौँ । त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस तथा नाट्यसम्राट् बालकृष्ण समको १२३औँ जयन्तीको अवसरमा एक समारोह आयोजना गरी तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ। समारोहमा रामबाबु सुवेदी, प्रा.डा. सावित्री कक्षपती र प्रा.डा. बेञ्जु शर्मालाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।

छ दशकदेखि नेपाली भाषासाहित्यको सेवामा समर्पित शास्त्रीय छन्दकविताका सर्जक रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको थियो। उहाँको छन्दकाव्यको प्रचारप्रसारमा पुर्‍याएको विशिष्ट योगदानलाई कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो।

नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नुका साथै नेपाली रंगकर्मको संवर्धनमा योगदान पुर्‍याएकी प्रा.डा. सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको थियो। नेपाली भाषासाहित्यको सेवामा उहाँको समर्पणलाई सम्मानित गर्दै यो पुरस्कार प्रदान गरिएको हो।

विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर क्रियाशील रही नेपाली कविताको संवर्धनमा विशिष्ट योगदान पुर्‍याउनुभएको प्रा.डा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको थियो । उहाँको निरन्तर साधना र कविता क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको हो।

तीनै पुरस्कारमा जनही एक लाख रुपैयाँ राशि सहित ताम्रपत्र रहेको छ। त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थीले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो।