पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक – बद्रीप्रसाद ढकाल
लेखक तथा समालोचक बद्रीप्रसाद ढकालको समालोचना कृति हो, ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक’ । यस कृतिमा ढकालले विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास ‘सुम्निमा’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’मा पाइने मिथकहरुको गहन अध्ययन र विश्वेषण गरेका छन् ।
‘बद्रीप्रसाद ढकालले अत्यन्त मिहिनेत गरेर लेखेको यो कृतिमा मिथक तथा आद्यरूपका प्राचीन पक्ष, परिभाषा तथा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास साहित्यमा प्रयोग भएको मिथकको सूक्ष्म अध्ययन छ । त्यसैले यो कृति महत्त्वपूर्ण र गम्भीर देखिन्छ ।’, भूमिकामा प्रा.डा. कुमारप्रसाद कोइराला लेख्छन्, ‘यसमा समालोचक बद्रीप्रसाद ढकालको समालोचकीय सीप राम्ररी प्रकट भएको देखिन्छ । उनले सिद्धान्तलाई आधार लिएर विश्वेश्वरप्रसाद कोइरालाका मिथकीय उपन्यासको विश्लेषण गरेका छन् ।’
त्यस्तै, लेखकीय समालोचक ढकाल लेख्छन्, ‘यो कृति मिथकको अध्ययनसँग सम्बन्धित छ । प्रस्तुत अध्ययनबाट विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा जीवनजगत्सँग सम्बन्धित घटना र प्रसङ्गहरुसँगै मिथकीय घटनालाई मुख्य विषयका रुपमा चित्रण गरिएको छ । कोइरालाका उपन्यासहरुमा पूर्वीय तथा किरात संस्कारका तपस्या, ध्यान धर्मकर्म तथा शिकार जस्ता आदिम सभ्यता, संस्कार र संस्कृतिजन्य घटना जोडिएर आएका छन् । किरात धर्म संस्कृति, हिन्दु धर्म, गीता दर्शन र त्यसले पारेको प्रभावलाई मिथकीय कथानकको रुपमा उपन्यासमा वर्णन गरिएको छ । कोइरालाका उपन्यासमा वर्णित द्वितीय विश्वयुद्ध, महाभारत धार्मिक युद्धका रुपमा पाण्डव र कौरवको विवाद र कृष्णले निर्वाह गरेको भूमिका वर्णित छ भने पूर्वीय आर्यसंस्कार, सभ्यता र किरातको संस्कृतिको चित्रण यस कृतिमा प्रस्तुत गरिएको छ ।’
पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । १ सय ९९ पृष्ठमा फैलिएको समालोचनात्मक कृतिको मूल्य ५ सय रुपियाँ रहेको छ ।
…
२. चितवन शिखरबास (स्मृतिविम्ब)
चितवनका साहित्यकार ‘चितवन शिखरबास’ (हरिबहादुर ढुङ्गाना) को स्मृतिगन्थ हो ‘चितवन शिखरबास’ । यो कृति शिखरबासकी छोरी साहित्यकार निरुपा प्रसूनको सम्पादनमा प्रकाशनमा आएको हो ।
‘… बुवाको प्रकाशित कविता र कथाका पुस्तकहरु विभिन्न लेखक तथा समालोचक र समीक्षकलाई दिएँ । उहाँहरुले प्रेमपूर्वक लेखिदिनुभयो र यो पुस्तकको आकारमा प्रकाशित हुनपुग्यो ।’, आभारमा प्रसून लेख्छिन्, ‘आफ्ना लेखनको प्रसार–प्रचार कुन लेखकलाई मन नपार्ल र ! बुवालाई पनि आफ्नो लेखनको प्रचारले अतिरिक्त खुशी दिन्थ्यो जस्तो अनुमान गर्न सक्छु म त्यसैले पनि बुवाको आत्मालाई शान्ति र खुशी मिल्छ होला भनेर पनि मैले यो प्रयास गरेकी हुँ ।’
कृतिमा केदारनाथ खनाल, केशवराज आमोदी, गोविन्दराज विनोदी, जयदेश भट्टराई, तुलसीहरि कोइराला, विमल आचार्य, शैलेन्द्र साकार, ज्ञानु अधिकारी, ज्ञानु पाण्डे, नारायण ढकाल, मणि लोहनी, प्रा.डा. नारायणप्रसाद खनाल, निरज, बाबुराम पाण्डे, प्रा.डा. भरतकुमार भट्टराई, मुक्तिनाथ दर्शन, रविकिरण निर्जीव, प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायत साहित्यकारका लेख तथा पारिवारका सदस्यहरुको शिखरबाससँगका संस्मरणहरु रहेका छन् ।
‘कवि एवं कथाकार चितवन शिखरबास उर्फ हरिबहादुर ढुङ्गानाको कवितात्मक शैली र शिल्प सरस र सुबोध रहेको छ । कायर खोलाको भुलभुले मूलको जलतरङ्गझैं कुकुलाउँदै प्रवाहित भएको छ । ।’, ग्रन्थमा सङ्ग्रहित ‘चितवन शिखरबासको काव्यिक चिन्तन’ शीर्षकमा ‘कस्को स्वास्नी’ खण्डकाव्यको चर्चा गर्दै केशवराज आमोदी लेख्छन्, ‘समसामयिक नेपाली व्याकरण र काव्यिक दृष्टिकोणले पद र पदावलीहरुमा केही शिथिलता देखिए पनि भाव विनिमयको चातुर्यता र समय–सन्दर्भले कृति पठनीय हरेको छ । कवितात्मक छनकहरु कतै मार्मिक र करुणाले भरिएका छन्, कतै वितृष्णा र विद्रोह उरालिएको छ ।’
शिखरबासका ‘मन्को–रन्को’, ‘कस्को–सम्पत्ति’, ‘बुद्धिको कमजोरी’, ‘तिलाञ्जलि’, ‘एकोहोरो मायाँ’, ‘तिलाञ्जलिको भूमिका’, ‘नेपाल आमाको शुभेच्छा’, ‘तुम्हारी तलास लिए’ लगायत कृतिहरु प्रकाशित छन् ।
स्मृति–ग्रन्थको प्रकाशन भने शान्ति ढुङ्गानाले गरेकी हुन् । १ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।
…
३. स्पर्श – भास्कर भण्डारी
‘कल्पना र कल्पनाभन्दा बाहिर
जीवन र जीवनको सार्थकताबाट पर
वात्सल्य र ममताभन्दा माथि
परिभाषा र स्वीकारोक्तिभन्दा पर
मनको केन्द्र छाम्न सक्नु
शायद स्वीकार्य प्रेम हो ।
सत्य र सत्यताको शक्ति
मादक र मादकताको तत्त्व वस्तु
शून्य र शून्यताको पराकाष्ठा
जीवन र जीवनका स्रष्टा
यिनैलाई हृदयङ्गम गर्दै लीन हुनु
शायद भक्तिको अन्तिम बिन्दु हो ।
(सृष्टि नै साध्य र माध्यम, पृ. ३५)
कवि भास्कर भण्डारीको कवितासङ्ग्रह हो, ‘स्पर्श’ । भास्करका कविताहरुमा कर्मवादी जीवनदर्शन, देशभक्ति र मानवीय न्यायका भावहरु प्रस्फुटित भएका छन् । उनी कविताका माध्यमबाट समाजिक असमानता, बेथिति, अन्याय र विसङ्गतिप्रति विद्रोहको आवाज बोलिरहेका भेटिन्छन् ।
‘भास्कर भण्डारीका कविता भास्करजस्तै उज्याला छन् । प्रस्तुत कवितासङ्ग्रह ‘स्पर्श’मा सङ्ग्रहित सबै कविता समान शक्ति भएका ओजस्वी कविताहरु हुन् भन्न खोजिएको होइन ।’, प्रकाशकीयमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त लेख्छन्, ‘फरक गुणवत्ता कविताको धर्म हो । त्यो धर्म यहाँ पनि निर्वाह भएको छ । पच्चीस वर्ष अघिका कविता र अहिलेका कवितामा तात्त्विक अन्तर हुनुलाई अन्यथा ठान्न सकिँदैन । त्यस कारण जेजति कविता यहाँ समाविष्ट छन् ती समयसापेक्ष छन् र समाजलाई ब्युँझाउने, उठाउने, हिँडाउने र असल कर्ममा लगाउने खालका छन् ।’
‘खोजीमा छु मेरो देशको
पाइरहेको छैन
मात्र खोजिरहेको छु
कतै पाउँछु कि
कतै कुनामा
कुनै त्रिस्तान्डाकुना
मेरो देश ।
एटलान्टिकको बीचमा
एक्लै एक्लै
मात्र आँशुका छालहरुसँग
गन्थन गरिरहेको
उर्लंदो महासागरले
निल्नै लागेको
बराहको प्रतीक्षारत
मेरो देश ।
(हराएको देश, पृ. २५)
पुस्तकलाई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । ३० थान कविता सङ्ग्रहित कृतिको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
…
३. भोयाज जिन्दगी – डा. उद्धव राई
डा. उद्धव राईको यात्रासंस्मरण हो, ‘भोयाज जिन्दगी’ । पुस्तक ‘भोयाज… देश’, ‘भोयाज… छिमेक’ र ‘भोयाज… विदेश’ गरी तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा नेपालभित्रका ८ थान नियात्रा–संस्मरण रहेका छन् भने दोस्रो खण्डमा भारत र चीनका पाँच थान संस्मरणहरु रहेका छन् । त्यस्तै, तेस्रो खण्डमा अस्ट्रेलिया, बेलायत, अफ्रिका, अमेरिका र एसियाका विभिन्न देशहरुका १२ थान यात्रा–संस्मरणहरु संग्रह गरिएको छ ।
‘प्रस्तुत कृति सरसर्ती अध्ययन गर्दा स्वदेशकै ओझेल परेका प्रचलन, मौलिका परम्परा, समाज, सांस्कृतिक रहनसहनका साथै देशावरको प्रचलन, व्यवहार, समाजको सोच तथा विचारका साथै ती देशहरुमा जाँदा विचार गर्नुपर्ने कुराहरु आदिको ज्ञान प्राप्त गर्न सकिन्छ ।’, भूमिकामा जय छाङछा लेख्छन्, ‘भन्ने नै हो भने एउटै टेबलमा बसेर स्वदेश लगायत एसिया, अफ्रिका, युरोप, अमेरिका, अस्ट्रेलियाबारे केही हदसम्म भए पनि जानकारी पाउन सकिन्छ ।’
त्यस्तै, लेखकीय पन्तरोमा लेखक राई लेख्छन्, ‘कहिले पैदलै, कहिले साइकल–मोटरसाइकलमा, कहिले गाडी त कहिले जहाजमा फरक परिवेश र सँगीहरुसँगका विविध पानीयात्रे कथाहरुको सँगालो हो यो भोयाज । कुनै भन्न हुने, कुनै नहुने, कुनै सम्झँदा पनि मन कुँढिने अनि कुनै भने झझल्को बनेर आइरहने किस्साहरुको भोयाजी रुप यहाँको हातमा छ । कुनै रहरलाग्दा, कुनै पट्यारलाग्दा, कुनै माया लाग्दा अनि कुनै कहालीलाग्दा विविध पोकाहरु होलान् यी… ! खोल्ने नखोल्ने यहाँकै कुरा ।’
पुस्तकलाई छिनामखु सरोकार समाज, काठमाडौंले प्रकाशनमा ल्याएको हो । २ सय ४ पृष्ठमा फैलिएको कृतिको मूल्य ५ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
साताका पुस्तक : अधिकारीकाे ‘ब्रह्मास्त्र’देखि बानियाँकाे ‘चौबीसी राज्य पर्वत’सम्म
३० जेष्ठ २०८३, शनिबार 








