साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको अमेरिका यात्राको अनुभवहरुको सँगालो ‘अमेरिका यात्राका डोबहरु’ प्राप्त भएकाे छ ।
यस नियात्रा कृतिमा उप्रेतीले भूगोल, इतिहास, धर्म, संस्कृति, संस्कार, अनुभूति, उखानटुक्कलगायत विषयवस्तुहरु समेटेका छन् ।
नियाया समाज नेपालका अध्यक्ष प्रतीक ढकाल पुस्तकको भूमिकामा लेख्छन्, ‘… आज सिङ्गै देश नै ‘नक्कली’ भुटानी शरणार्थीमय भएर हामीले मानेका महानायकको मुखुण्डो उत्रिरहेका बेला एकजना प्रखर कानुन व्यावसायी मित्र आफ्नो अमेरिकी यात्राको ‘सक्कली’ विवरण लिएर उपस्थित हुनुभएको छ । नेता र प्रशासकले गरेका ती ‘नक्कली’ कर्तुतलाई समयले किनारा लगाउँदै जानेछ, ती दण्डित हुँदै जानेछन् । समयको अभिलेखले तिनीहरुलाई खलपात्रको रुपमा चित्रण गर्दै जानेछ । तर वरिष्ठ अधिवक्ता हरि उप्रेतीजीको यो ‘सक्कली’ कामले प्रत्येक पाठकको मनमनबाट प्रशंसा र स्यावासी पाउँदै जानेछ ।’
त्यस्तै, पुस्तकको भूमिकामै समीक्षक जय छाङ्छा लेख्छन्, ‘नेपाली साहित्यको नियात्रा विधालाई माया गरेर आफ्नो अमूल्य समय उपहार दिने नियात्रा सर्जक हरिप्रसादजीलाई हार्दिक बधाई दिन्छु र यस अमेरिका यात्राका डोबलाई पठन गरी अमेरिकाबारे रोचक जानकारीबाट लाभान्वित हुनुहुने पाठकलाई समेत शुभेच्छाका शब्द उच्चारण गर्छु ।’
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । २ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।