‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक – राजेन्द्र महतोको ‘अधुरा क्रान्तिः सङ्घर्ष मातृभूमिका लागि’, डिल्लीराम गौतमको ‘पूर्वीव चिन्तन र दर्शन’ र माधवप्रसाद बरालको ‘भूमि-चिन्तन’

१. अधुरा क्रान्तिः सङ्घर्ष मातृभूमिका लागि – राजेन्द्र महतो

राजनीतिकर्मी राजेन्द्र महतोको पुस्तक हो ‘अधुरा क्रान्तिः सङ्घर्ष मातृभूमिका लागि’ । पुस्तकमा महतोले आफ्नो राजनीतिक जीवन र मधेशमा उठेर राजनीतिक तथा समाजिक आवाजहरुले प्रस्तुत गरेका छन् ।

‘नेपालका मधेशी, जनजाति, आदिवासीलगायत सबै राष्ट्र अधिकार र पहिचान सम्पन्न नभएसम्म देशले उन्नति गर्न सक्दैन ।’, पुस्तकको निष्कर्षमा महतो लेख्छन्, ‘यो सत्यलाई नश्लीय सरकारले लुकाएर राख्यो । त्यसकारण हामी पछि पर्यौं । अन्धकारमा रुमलियौं । नेपाल देश नेपालका रुपमा राखिरहन यसलाई सबै नेपालीको बनाउनु पर्छ । यसको विकल्प छैन । अबको क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव छैन । तसर्थ परम्परागत औपनिवेशिक चिन्तन सोचको अन्त्य गरी देशको गौरव र वैभव प्राप्त गर्ने बाटोमा हिडौं ।’

त्यस्तै, आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको ‘अधुरा क्रान्ति’ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउने बताएको छ । पुस्तकमा प्रकाशकका तर्फबाट लेखिएको छ, ‘२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरु संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरह्यो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरह्यो । तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनःजागृत तुल्याउने नयाँ चरणको आन्दोलनमा छन् । ’

अक्षर काकाको सम्पादन रहेको पुस्तकलाई पाइन प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय ८१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ७० रुपियाँ रहेको छ ।

=== 

२. पूर्वीव चिन्तन र दर्शन – डिल्लीराम गौतम

लेखक डिल्लीराम गौतमको पूर्वीय दर्शनको विवेचना गरिएको पुस्तक हो ‘पूर्वीय चिन्तन र दर्शन’ । तीन प्रकारणमा विभाजित पुस्तकको प्रथम प्रकरण ‘चिन्तन र सन्दर्भ’, द्वितीय प्रकरणमा ‘पूर्वी दर्शन’ र तृतीय प्रकरणमा ‘नारी सन्दर्भ प्रस्तुत गरिएको छ ।’

‘प्रस्तुत दर्शनावरणीय कृति हाम्रा लागि दर्शनीय छ । ईश्वर, प्रकृति र मान्छेको त्रैकालिक (भूत, भविष्य र वर्तमान) सम्बन्धलाई दार्शनिक ऊहापोहमा ढालेर सानमा हालिएको हीरा जस्तै पारदर्शी पार्न सक्ने अभिक्षमता देखेर म आश्चर्यचकित छु ।’, पुस्तकका बारेमा प्रा.डा. हेमचन्द्र नेपाल लेख्छन्, ‘प्रस्तुत सुजनात्मक कृति मात्र होइन दर्सिनढुङ्गा जस्तो गारो–सारो दार्शनिक वस्तुलाई प्रत्युत्पन्न मतिले पर्गेल्न सक्ने बौद्धिक खुबिलिटी भएको पाइयो । यो खोजपूर्ण कृतिले केवल दार्शनिक सिद्धान्तको मात्र पक्षपोषण गरेको छैन अपितु पूर्वी–पश्चिमी वाङ्गमयको संक्षिप्त परिमिति प्रस्तुत गर्दै नेपाली साहित्यमा दर्शनको प्रयोग अनि अनुवाद र रुपान्तरण कलामा पनि यसको आकर्षण विशेष उल्लेख्य छ ।’

त्यस्तै, पुस्तकको पृष्ठभूमिमा हरि गौतम लेख्छन्, ‘पूर्वीय दर्शन (सभ्यता) ज्ञानका हिसाबले विराट वटवृक्ष हो । यसको क्षेत्र विशाल समुद्रजस्तै व्यापक छ । यसभित्र जीवनका हरेक पक्ष ज्ञान विज्ञानदेखि ज्योतिष, गणित, जीवन विज्ञान, औषधि, कृषि, राजनीति र कुटनीतिजस्ता विषयलाई हेर्न सकिन्छ । र यो पुस्तक पूर्वीय दर्शन हो ।’

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । ३ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय ५० रुपियाँ रहेको छ ।

=== 

३. भूमि–चिन्तन – माधवप्रसाद बराल

स्वामित्व र उपयोगमा पुनर्विचारको बहस गरी लेखिएको माधवप्रसाद बरालको पुस्तक हो ‘भूमि–चिन्तन’ । पुस्तकमा भूमिको प्रयोग र उपयोगका बारेमा विस्तृतमा चर्चा गरेका छन् ।

पुस्तकको भावार्थ छ – ‘जुन विशाल भूमिमा सागर, नदी, झिल, तलाउ, पोखरी, इनार आदि जलाशयहरु छन्, जहाँ सबै किसिमका अन्न, फलफूल, सागपात र सारा वनस्पतिहरु उत्पन्न हुन्छन्, जहाँ सबै प्रकारका प्राणीहरु खुसी र सुखपूर्वक बसोबार गर्दछन्, जसको गर्भमा अथाह खानीको भण्डार छ । जसमा किसान, शिल्पकारलगायत सबै मानवजाति संगठित रुपमा आनन्दपूर्वक बसोबास गरेका छन् । यस किसिमको हाम्रो भूमि हाम्रा लागि श्रेष्ठ र ऐश्वर्य प्रदायक होस् ।’

पुस्तकमा ‘नेपाली राजनीति र भूमि’, ‘भू–उपयोगको विद्यमान अवस्था’, ‘भ्रष्टाचार र भूमिको अन्तर्सम्बन्ध’, ‘भूमाफिया र प्लटिङ’, ‘कृषि र भूमि, ‘वन र भूमि’, ‘गुठी र भूमि’, आर्थिक सामाजिक विकृति र भूमि’, ‘सुकुम्बासी समस्या’, ‘राष्ट्रबाद र भूमि’, ‘भूमि, भूमिनीति र भू–उपयोग नीति’, ‘गाउँघरको हालखबर’, ‘शहर बजारको हालखबर’, ‘राष्ट्रका समग्र चुनौति र भूमि’लगायत विषयहरु समेटिएका छन् ।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।