रुपन्देही । पवित्र भूमि लुम्बिनी र दाउन्नेदेवीको काखदेखि करिव ३५ किलोमिटर पश्चिममा पर्ने रुपन्देही जिल्लाअन्तर्गत गौतम बुद्धको मावलीस्थल देवदह नगरीमा माघ २५ गतेदेखि आयोजित ‘आठौं औद्योगित व्यापार मेला: कृषि तथा पर्यटन महोत्सव २०८०’ सञ्चालन भइरहेको छ । महोत्सवको प्रांगणमा ‘क्यान्सरको कालो विरूद्ध उज्यालो’ लेखिएको ब्यानरमा केही युवाहरू पुस्तक बिक्री गरिरहेका देखिन्छन् ।

सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगकाविरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह महोत्सवमा “सपनाका लहरहरू-२” कृति बिक्री अभियान सञ्चालन गरेको छ ।

काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेको र क्यान्सरसँग लड़िरहदा अस्पतालको बेडबाटै उनले लेखेको पुस्तक सपनाका लहरहरू-२ प्रकाशित भएको थाहा पाएपछि कवि न्यौपानेलाई सानो नै भएपनि सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले पुस्तक विक्री अभियान संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले बताउनुभयो ।

शुक्रबारदेखि सुरू गरिएको अभियानमा १२० भन्दा बढी पुस्तक बिक्री भएको र पुस्तक विक्री गरि सबै रकम कवि न्यौपानेको उपचारको लागि पठाइने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

प्रतिष्ठानका संस्थापकअध्यक्ष सोतन्त्र नेपालले जीवनको कठिनभन्दा कठिन समयमा पनि एउटा कविले कसरी आफुलाई सम्हाल्छ र सपनाहरू बुनिरहन्छ भन्ने उदाहरण कवि न्यौपाने रहेको र उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हुने बताउनुभयो ।

पुस्तकको मूल्य ५०० रहेको र ईसेवाबाट भुक्तानी गरेको अवस्थामा पनि प्रतिष्ठानका सदस्यले पुस्तक हातमा पुर्याइदिने अभियानले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको उज्यालो लालटिन प्रतिष्ठानले देवदहमा एम्बुलेन्स सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा आफूलाई सक्रिय गराउँदै आएको छ ।