कवि नवराज न्यौपानेको उपचारार्थ ‘यौवन हराएको मान्छे’को रोयल्टीबाट एक लाख रूपियाँको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कवि डिइबी सिकारुको पूर्वघोषणा अनुसार आफ्नो पहिलो पुस्तक ‘यौवन हराएको मान्छे’को बिक्रीबाट प्राप्त रोयल्टी (लेखस्व) न्यौपानेको उपचारका लागि उपलब्ध गराइएको हो ।

प्रकाशक साहित्यपोस्टका तर्फबाट सम्पादक कृष्ण ढुङ्गेल कवि न्यौपाने उपचाररत् जावलाखेलस्थित ब्लड एण्ड मल्टी स्पेसियालिटी अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गर्नुभयो । साथै, न्यौपानेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिनुभयो ।

पुस्तक बिक्रीबाट नेपालमा प्रकाशक साहित्यपोस्ट तथा दक्षिण कोरियामा कवि डिइबी सिकारुले आफ्नै पहलमा पुस्तक बिक्री गरेको रकमलाई जम्मा गरी एक लाख सहयोग गरिएको सम्पादक ढुङ्गेलले बताउनु भयो । सहयोगी मन कवि सिकारु भने हाल कोरियामा कार्यरत हुनुहुन्छ ।

सिकारु साहित्यलाई समाज सेवाको एक अंगका रूपमा आफूले लिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले साहित्य र समाज सेवालाई अलग रूपमा कहिल्यै हेरिनँ । साहित्यसँगै समाज सेवालाई अघि बढाउने सोच अनुरूपै आफ्नै पहिले पुस्तकबाट प्राप्त रकम कवि नवराज न्यौपानेको उपचारमा खर्चिने घोषणा गरेको थिएँ । आज आफ्नो किताबको रोयल्टीमार्फत् सहयोग गर्न पाउँदा खुशी छु ।”

नयाँ पुस्ताका साहित्यकार तथा कविहरू सहयोगी भावनाका साथ साहित्यमा आएको देख्दा एक प्रकाशकका रूपमा खुशी लागेको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “नवपुस्ता पुस्ताको हरेक योजना तथा गतिविधि साहित्यपोस्ट सधैं सँगै रहने हाम्रो नीति छ । यही घोषित नीतिअनुरूप कवि डिइबी सिकारुको योजनामा सहकार्य गर्न पाउँदा हामी खुशी छौं ।  आगामी दिनमा पनि साहित्य सँगसँगै यस किसिमका समाजिक कार्यमा साहित्यपोस्ट सँगै रहने छ । हामी कवि सिकारुलाई धन्यवाद दिँदै कवि न्यौपानेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।”

सिन्धुपाल्चोक निवासी कवि न्यौपाने २०७६ साल वैशाख ६ गते वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जानुभएको थियो । कुवेतमै रहँदा सन् २०२२ को अप्रिलमा उहाँमा क्यान्सर भएको पत्ता लागेको थियो । कुवेतमै तीन महीनासम्म केमोथेरापी गराएर उहाँ २०७९ साल असार १४ गते नेपाल फर्किनुभएको थियो । नेपाल आएर उहाँ निरन्तर रूपमा उपचार गराइरहनुभएको छ ।

उपचारमा आर्थिक अभाव झेल्दै आउनुभएका न्यौपानेले केही समयअघि सहयोगका लागि सार्वजनिक अपिल गर्नुभएको थियो । पछिल्लो समय क्यान्सर पुनः बोनम्यारोमा फैलिएपछि १० दिनबाट अस्पतालमै रही केमोथेरापी गराइहनुभएको छ । न्यौपानेका भाइ अर्जुन तामाङका अनुसार उहाँको उपचार खर्च एक करोड रुपैयाँ नाघिसकेको छ ।

“अस्ति अस्पताल ल्याउँदा त बोल्न, खान सक्ने अवस्थै थिएन, अहिले भने अलिक सुधार आएको छ । अहिलो चाहिँ केमो दिएर बोनम्यारोमा फैलिएको क्यान्सरलाई निको पार्ने काम भइरहेको छ । त्यसपछिको उपचार बाँकी नै छ । अझै कति खर्च लाग्छ, थाहा छैन ।”, तामाङले बताउनुभयो ।

पछिल्लो समय न्यौपाने कोठामै रहेर उपचार गराइरहनुभएको थियो । भाइका अनुसार महीनामा करीब ६० हजार रुपैयाँको औषधीमै खर्च भइरहेको थियो । अघिल्लो शनिबारदेखि भने पुनः स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बोनम्यारोको परीक्षण गर्दा ५० प्रतिशत क्यान्सर फैलिसकेको पाइएपछि तत्काल केमोथेरापी शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि पनि लामो समय ब्लड एण्ड मल्टी स्पेसियालिटी अस्पतालमै राखेर न्यौपानेको उपचार गराइएको थियो ।

कवि न्यौपानेको २०४५ साल कात्तिक १९ गते सिन्धुपाल्चोकमा जन्मभएको थियो । उच्च माध्यमिक तहसम्मको औपचारिक अध्यन पूरा गर्नुभएका कवि न्यौपाने विशेषगरी कविता र गीत लेखनमा सक्रिय हुनुहुन्छ । अहिले पनि अलिकति आराम हुँदा मोबाइला मागेर लेख्न थालिहाल्ने गरेको कविका भाइ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पल्टिँदा पनि दिमागमा कुराहरू खेलिरहँदो हो । केही न केही सोचिहरनु हुँदो हो । अलिक कति आराम हुना साथ मोबाइल माग्नु हुन्छ । म दिन्छु, उहाँ केही न केही लेख्न थालिहाल्नु हुन्छ ।”

कवि न्यौपानेको कवितासङ्ग्रह “सपनाका लहरहरू” प्रकाशित छ । त्यसको बिक्रीवितरणबाट आएको रकम पनि सम्पूर्ण रूपमा उपचारमै खर्च भएको छ ।

सहयोगका लागिः

Account Holder : Nawa Raj Neupane

Bank Name : Prabhu Bank Limited

Branch: Kumaripati Lalitpur

Account No. : 0660115894500011

Swift Code : PRVUNPKA

E-sewa : 9860468274