देखेँ
छाडिएको घर
माडिएको झाडी
खरबारी
आँगनमै सारा
खिया परेको धारा
मक्किएका खुल्ला झ्यालढोका
एक हुल शासक
बाँदरहरू !

ङिच्च परेका भित्ताहरू
झुन्ड्याए झैँ चमेरे पाप्राहरू
देखाएर दिलका घाउहरू
उपहास गरिरहेछन्
छोडिजानेलाई

आमा भन्नुहुन्थ्यो
खन्ने मुसाको बिगबिगी बढ्यो
जगदेखि धुरिसम्म
अलच्छिनाहरू
बा भन्नुहुन्थ्यो
बिरालाले चुल्हो खोज्यो
घर मान्छेविहिन हुनेभयो

उनेर सपना फूल
उडे गुँडबासीहरू
छाडेर एकताको प्रतिक
यही पुरानो घर

बाटो थिएन
स्कुल थिएन
अस्पताल थिएन
हिजो केही थिएन
आज आयो सबै सबै
गाँउ किन हुँदैछ रित्तोरित्तो ?

बाटो खुल्यो
छचल्कियो गाँउको पानी
आनिबानि
फेरियो जानिनजानी
भयो खालिखाली
घरघरमा जङ्गलको हालिमुहाली !

देखिरहेछु
सिमित वस्तिका धुरिधुरीमा
इन्टरनेट बोक्ने झ्याङ्हरू
जिस्क्याउँछन् जिवनलाइ
भाइरल भाउजू र टिकटके माइजू
नयाँ जेनेरेसनका जस्तै
खेतबारीमा खेल्छन्
सेलफोन, ट्याब्लेट र ल्यापटपमा
ह्वास्स गनाउँछ पसिना परदेशको

भोलि होला र
मस्ति गाँउगाँउमा ?
मेशिन ठाउँठाउँमा ?
रोबटले गर्ला र मान्छेकै नाउँमा ?
पर्लान र मान्छे मेशिनकै पाउमा ?
र होला त हराभरा गाँउ ?

हिजो बाटो थिएन
थियो सबैसबै
आज बाटो छ
र त गाँउले बाटो लागे, लागिरहेछन्
पहिले भनिन्थ्यो
बाटो बन्नु त विकासको ढोका खोल्नु हो
तर यो त गाँउको निकास पो बन्यो !

हेर्छु चारैतिर
देख्छु घर पुरै जङ्गल
र हालिमुहाली
जङ्गलीहरूको ।

पृथ्वी नारायण क्याम्पस, पोखरा