सोलुखुम्बुका स्रष्टा डिइबी सिकारुको पुस्तक ‘यौवन हराएको मान्छे’ काठमाडौंमा विमोचन भएको छ । रोजगारीका सिलसिलामा कोरियामा रहनुभएका स्रष्टा सिकारुको पुस्तकलाई चर्चित कविद्वय श्रवण मुकारुङ र डा. नवराज लम्सालले संयुक्तरूपमा विमोचन गर्नुभएको हो ।

कविको अनुपस्थितिमै पुस्तकको विमोचन भएको थियो । विमोचनमा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले अनुपस्थित कविको प्रतिनिधित्व गर्नुभएको थियो ।

साहित्यपोस्टको माउ संस्था शब्द मिडियाले प्रकाशन गरेको उक्त पुस्तकको साहित्यपोस्टको कार्यालयमै एक कार्यक्रमबा बीच विमोचन गरिएको हो । कार्यक्रममा साहित्यपोस्टका सहयोगी तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति थियोय ।

कार्यक्रममा अतिथि कवि श्रवण मुकारुङले गद्य र पद्य कविताको विश्लेषण गर्दै गद्य कविता पद्य कविताका तुलनामा कठीक सिर्जना भएको कुरा बताउनुभयो ।

‘पद्य कविताको आफ्नै तर परम्परागत व्याकरण, शैली र प्रस्तुति हुन्छ । त्यो फ्रेममा बसेर सिर्जना गर्न शुरुमा कठीन भए पनि बानी पर्दै जाँदा त्यो सजिलो हुन्छ । तर गद्यमा त्यो सम्भावना हुन्न । अरुले नकोरेको, नदेखेको बाटोमा नयाँ शैली निर्माण गर्नुपर्ने हुन्छ । स्तरीय गद्य कविता लेख्नु साँच्चीकै चुनौतिपूर्ण हुन्छ ।’

कवि सिकारुकाले लेखेका गद्य कविताको विश्लेषणका क्रममा मुकारुङले नयाँ शैली आएको बताउनुभयो । ‘सिकारुका कविता गद्य हुन् । गद्य कविता लेख्न झट्ट हेर्दा सजिलो भए पनि गद्यभित्र सिकारु शैली आउनु चाहिं नयाँ हो ।’

मुकारुङले कवि सिकारुका कविता राम्रो बनेको र आगामी दिनमा अझै परिकृत बन्दै जाने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

अर्का अथिति डा. नवराज लम्सालले साहित्यमा नयाँ कविको आगमनले आफूलाई अत्यन्तै खुशी दिएको बताउनु भयो । ‘साहित्यमा केवल साहित्यकारकारहरूको कलमले मात्रै विविधता दिन सक्तैन । यहाँ डाक्टर, इन्जिनियर, पाइलट, विविध क्षेत्रका व्यवसायी र विषयविज्ञहरू पनि आउनुपर्छ । त्यसो हुँदा साहित्यले विविधता दिन सक्छ ।’, उहाँले भन्नुभयो ।

यही मेसोमा विश्वभर छरिएर रहेका नेपाली भाषा–साहित्यप्रेमीहरूको आगमन साहित्यमा प्रवेश गर्नु सुखद् भएको लम्सालको कथन थियो ।

‘सिकारुका कविता सरल, सरस र छोटा छन् । मनदेखि लेखिएका छन् । त्योभन्दा ठूलो कुरा परदेशमा काम गर्दागर्दै थाकेका बेला मनका भावना कलात्मक रूपमा कोरिएका छन् । जहाँ बसे पनि आफ्नो भूूमि, आफ्नो वेदना र आफ्ना दुःख सुख साहित्यमार्फत आउनु यो पुस्तकको विशेषता हो ।’ लम्सालले भन्नुुभयो, ‘कवि कोरियामा हुनुहुन्छ । हामीले यहाँ उहाँको किताब सुम्सुम्याउन पाएका छौं । यस्ता कुरा हाम्रा लागि निकै सुखद विषय हुन् ।’

‘यौवन हराएको मान्छे’ संग्रहमा पैतालीसवटा लामा छोटा कविता छन् । यसभित्र देशप्रेम, परिवारभित्रको संवेदना, विदेशको श्रमभित्र लुकेका पीडा, प्रेम र यौवन जस्ता विषय समेटिएका छन् ।

पुस्तकको मूल्य तीन सय पचास रूपियाँ रहेको छ ।