उषाकालीन रवि हाँस्छ पहाडसँग
प्रत्युत्तरमा मुस्काउँछ
श्वेत बान्कीमा ऊ
प्रतिक्रियास्वरूप
लत्किन्छ हिमाली खात,
सन्ध्यामा सुस्ताएको चिसो सूर्यसँगै
पहाड चस्किरहन्छ
रातभरि वेदना बोकेर
चिसो निद्रामा पर्छ

सेतो परिधानमा बाँचेको छ पहाड
रोग, भोक, अशिक्षा, अशान्ति
छातीभरि सँगालेर
बाँचेको छ पहाड

कैले असह्य वेदनाले निकास खोज्दा
ज्वालामुखी फुट्छ
कैले मनस्ताप अति हुँदा
खहरेहरूमा पोखिन्छ

कडा अभेद्य चट्टान पनि पहाड
मृदु माटो पनि पहाड
मौसम परिवर्तनसँगै रङ बदल्ने पनि पहाड

पहाड मूक छ
मान्छे अमूक छ
बाहेक
पहाड मान्छे हो
मान्छे पहाड हो ।

पृथ्वी नारायण क्याम्पस, पोखरा