स्वर्गीय अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट यो वर्ष बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् । उनीहरुलाई अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर पुरस्कारसहित सम्मान अर्पण गरेको हो ।

उनीहरुलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो । पुरस्कृतमध्ये तुम्खेवा आख्यान विधा र बाँस्कोटा नियात्रा लेखनमा अभ्यस्त छन् ।

पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे । पुरस्कृत दुवै स्रष्टा पत्रकार समेत हुन् । तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् ।

अमर नेम्वाङ लिम्बु स्मृति दिवसकै अवसरमा वितरण हुने अमर नेम्वाङ लिम्बु स्मृति छात्रवृत्ति यो वर्ष ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीले प्राप्त गरेकी छिन् । छात्रवृत्तिको रकम नगद १० हजार रुपैयाँ छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत पनि दिँदै आएको छ ।

यो वर्ष आलागीमा ज्यान गुमाएका हिलिहाङ-७ का सेसे पन्दाक, फिदिम-५ का सनिप खाती, फाल्गुनन्द-१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ-७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै गत असार २ गते गएको बाढीपहिरोमा ज्यान गुमाएका हिलिहाङ-७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझी सँगै फालेलुङ-४ की जुना सावदेन, फिदिम-१० का सन्जोग लोवा र फिदिम-५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको थियो ।

स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मानबाट यसअघि डाक्टर देवी क्षेत्री दुलाल, मुनाराज सेर्मा, डाक्टर गोविन्दराज भट्टराई, वीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा, श्रवण मुकारुङ र प्रेम ओझा सम्मानसहित पुरस्कृत भइसकेका छन् ।

साहित्य लेखनमा सिद्वहस्त व्यक्तित्वका रुपमा स्थापित अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो । उनको निधन पश्चात परिवारका सदस्यले स्थापना गरेको अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष स्मृति दिवसको अवसर पारेर स्रष्टा सम्मान, राहत वितरण र पुरस्कार वितरण गर्दै आएको छ ।