काठमाडौं। यस वर्षका लागि ‘अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार’ कवि देवेन्द्र शक्तेन राई, निबन्धकार दीपक सापकोटा र साहित्यकार मलिशा याक्थुङ्बा लिम्बूलाई प्रदान गरिने भएको छ।

नेम्वाङ परिवारका सदस्यहरूले स्थापना गरेको अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले स्व. अमर नेम्वाङको सातौँ स्मृति दिवसका अवसरमा माघ २६ गते पाँचथरको फिदिममा आयोजना हुने कार्यक्रममा उक्त सम्मान संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको जानकारी दिएको छ।

तीसको दशकका कवि देवेन्द्र शक्तेन राई पाँचथरको चिम्फूला निवासी हुनुहुन्छ । उहाँको कविता सङ्ग्रह ‘दन्त्य कथाको देश’ प्रकाशित छ। उहाँ कविता मात्र नभई निबन्ध लेखनमा पनि सक्रिय हुनुहुन्छ।

निबन्धकार दीपक सापकोटाका ‘लोकेसन’ निबन्ध सङ्ग्रह र ‘निर्बन्ध मोन्टाज’ प्रकाशित छन्। कला, साहित्य र सामाजिक विषयमा निरन्तर लेख्दै आउनुभएकाे सापकोटा कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टाङ्क ‘कोसेली’का संयोजकसमेत हुनुहुन्छ ।

मलिशा याक्थुङ्बा लिम्बू याक्थुङ (लिम्बू) भाषामा सृजनात्मक लेखन गर्दै आउनुभएकाे  साहित्यकार हुनुहुन्छ । उहाँका दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्।

यसै अवसरमा प्रतिष्ठानले जेहेन्दार विद्यार्थी छात्रवृत्तिसमेत प्रदान गर्ने भएको छ। छात्रवृत्तिका लागि फाल्गुनन्द गाउँपालिकाका तीन विद्यालयका विद्यार्थी छनोट गरिएको छ। छात्रवृत्ति प्राप्त गर्नेमा  श्री सारताप मनरत्न माध्यमिक विद्यालय, सरताप (फाल्गुनन्द–३) का कक्षा ८ मा अध्ययनरत सोनी नेम्बाङ, श्री कृष्ण माध्यमिक विद्यालय, चिलिङदिन (फाल्गुनन्द–४) का कक्षा ९ का अन्जन चेम्जोङ,  श्री जलसिंह माध्यमिक विद्यालय, चिम्फूला (फाल्गुनन्द–३) का कक्षा ८ का विद्यार्थी खाम्बेकहाङ चेम्जोङ रहनुभएकाे छ ।

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्षसमेत रहनुभएकाे स्व. अमर नेम्वाङ लिम्बूको २०७६ माघ २६ गते एक कार्यक्रममा सम्बोधन गरेलगत्तै निधन भएको थियो। उहाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले साहित्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।