रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनु भएका कवि तथा चित्रकार जीवित खड्का मगरलाई पितृ शोक परेको छ । पिता थम्मनबहादुर खड्का मगरको बुधबार गुल्मीको बलिथुम स्थित निजि निवासमा निधन भएको हो ।

वि.सं. २०१० साल कार्तिक ११ गते गुल्मीमै जन्मनु भएका पिता थम्मन पेशाले कृषक हुनुहुन्थ्यो ।उहाँ विगत डेढ वर्षदेखि प्यारालाइसिस समस्याबाट गुज्रिरहनु भएको थियो । पछिल्लो २ महिनादेखि उहाँलाई मस्तिष्क पक्षघात समेत भएको थियो ।

देवदह मेडिकल कलेज बुटवल र लुम्बिनी मेडिकल कलेज पाल्पामा उहाँको उपचार हुँदै आएको थियो । स्वास्थ्य अवस्था झन गम्भीर हुँदै गएपछि केही दिनअघि मात्र उहाँलाई निजि निवास लगिएको थियो ।

बहुदलीय व्यवस्थापछि नेकपा एमालेसँग आवद्ध रहनु भएका पिता थम्मन बहादुर मगर गाउँ कमिटी सदस्य  हुनुहुन्थ्यो । त्यसअघि पञ्चायत कालमा उहाँ गुल्मीको साविक बलिथुम गाविस वार्ड नं — ८ का वडाध्यक्ष  हुनुहुन्थ्यो ।कवि/चित्रकार जीवित खड्का मगरकी माता राधिका खड्का मगरको २०७२ सालमा निधन भइसकेको छ । उहाँ नेकपा एमालेबाट २०५४ सालमा स्थानीय निर्वाचन अन्तर्गत गाउँ कमिटी बलिथुमबाट महिला सदस्यमा निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो ।

कवि/चित्रकार जीवितसहित उहाँहरुको अर्का एक छोरा पदम खड्का मगर र एक छोरी माया राना मगर हुनुहुन्छ । उहाँहरु पनि रोजगारीको सिलसिलामा युएईमै कार्यरत हुनुहुन्छ ।

लामो समयदेखि कविता लेखन र चित्रकलामा सक्रिय रहँदै आउनु भएका कवि/चित्रकार जीवित साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” का संयोजक समेत हुनुहुन्छ ।उहाँका पिताको निधनप्रति साहित्यपोस्ट परिवार गहिरो दुख व्यक्त गर्दछ । साथै मृतकप्रति चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।