Chovar Blues Mobile Size

खुसीको कुरा हो कि देशमा कुनै एउटा मिडिया छ, जसले कलाकारहरूलाई खोजीखोजी बाहिर ल्याउँछ ।

कलापारखीहरूसित परिचित बनाउँछ । हृदयमा राखिदिन्छ । यसरी केही समय अघिसम्म फुर्सदको समयलाई सदुपयोग गरेर मैले पनि थोरबहुत कलम चलाएँ, जसको निम्ति साहित्यपोस्ट र आश्विनी दाइ धन्यवादका पात्र हुनुहुन्छ । र, आज युएईमा स्थापित एउटा कलाकार र उद्यमी जसको चित्रकला त छँदैछ, उनको अलिक भिन्नपाटोको टिपोट गर्दैछु ।

जब हामी मुगल दरबारको फोटो हेरेर आनन्द लिन्छौँ, जब हामी ताजमहलको फोटो हेरेर आनन्द लिन्छौँ, जब हामी हाम्रै देशका प्राचीन दरबारहरू र दरबारभित्रका कलात्मक बुट्टाहरू, अनौठा चित्र र अकल्पनीय डिजाइनहरू हेरेर अर्कै मधुर कल्पनामा डुब्छौँ/सोँच्छौं र स्वतस्फूर्त हाम्रो मनभित्रको आवाज आउँछ, ‘आहा ! कस्तो सुन्दर !’ कुन कालिगडहरूले बनाएका होलान् यति राम्रा हस्तकलाहरू ? कुन कलाकारहरूले बनाए होलान् यति सुन्दर भित्तेचित्रहरू ? यसरी मनलाई नै आल्हादित बनाइदिने पर्दा पछाडिका कलाकारहरूको बारेमा कलापारखीहरूले पक्कै पनि सोच्छन् ! जसरी म सोच्ने गर्छु ।

जीवित खड्का मगर

यसरी शताब्दीऔँदेखि शताब्दीसम्म आइपुग्दा क्लासिकल र आधुनिक कलाको फ्युजन राजामहाराजाहरूका दरबारमा मात्र सीमित नभएर उच्च शौखिन धनाढ्यदेखि सामान्य घरघरानियाँहरूसम्म पुगिसकेको छ । जहाँ हजारौं पेन्टरहरूदेखि नामुद डिजाइनर, आर्टिष्टहरूले आआफ्ना कला देखाउने र धन आर्जन गर्ने अवसर पाइरहेका छन् ।

शौखिन मानिसहरू हरेक वस्तुमा सुन्दरता चाहन्छन् । व्यक्तित्व विकासदेखि रहनसहनमा । घर घरानादेखि परपरानासम्म । यसरी सुन्दरता फैलिँदैफैलिँदै जसको मुहान खोज्दैजाँदा अन्त्यमा आफ्नै घरसम्म पुग्दोरहेछ । कि जहाँ सानो भए पनि सुन्दर घर होस् । सुन्दर बगैंचा होस् । बगैंचामा लहलाएका फूलहरूझैँ सपनाहरू मग्मगाइरहोस् । आकर्षणको उज्यालो खोज्न त्यसैले गतिशील छन् कि मान्छे ? जसको स्पन्दनमा मन चंगा होस् । उडिरहोस् बादलका भुवाहरू उडिरहेझैँ । यसरी कलालाई सम्मान गर्ने र घरभित्र अपनत्व गराउने एक अन्तर्राष्ट्रिय सर्वेक्षणका आधारमा युरोपेलीहरूको स्थान उच्चकोटीको छ । जहाँ अमेरिका प्रथम स्थानमा छ भने, त्यसपछि इटली, बेलायत, जापान, ब्राजिल, चाइना, जर्मनीहरू लगायतका देशहरू पर्छन् । यसरी क्रमशः क्रमशः युरोपहुँदै मध्यदेश र एसियामा पनि अब डेकोर कला घरघरमा फैलिइसकेको छ । जसले तपाईंलाई हरदम प्रफुल्ल बनाइरहनेछ ।

अबको कुरा, एउटा प्रतिभावान कलाकारको

उनको जन्म एक मध्यमवर्गीय परिवारमा भएको हो । भाइहरूमध्येको सबैभन्दा कान्छो । लाडप्यारमा हुर्केको, दुःखको अनुभव नभएको । सपरिवार लाहुरे खानदानको । तर उनलाई आफ्ना अभिभावक ‘लाहुरे नभई विज्ञान पढाएर देशमै केही गरोस्’ भन्ने चाहना राखेका रहेछन् ।

परिवारकै चाहना मुताविक उनले विज्ञानै पढेछन् पढ्नलाई । पढाइमा अब्बल विद्यार्थी तर उनीभित्र जन्मजात कलाको गुण रहेछ । सानैदेखि चित्र कोर्ने, अक्षरहरू लेख्ने स्वअभ्यास गरिरहने । बि.एस्सी. पढ्दापढ्दै पढ्न छाडेर एकदिन कलायात्रामा निस्किएछन् र त्यहाँदेखि यात्रारत उनी हिँडेको हिँड्यै छन् । उनी हुन्, भरतपुर महानगरपालिका २१, रतनपुरका भूपेन्द्र लामा, जो अहिले युएईमा छन् । म उनको कुरा गर्दैछु । कुरैकुरामा उनको उनैसित अलिकति विगत कोट्ट्याएको थिएँ ।

“ ज्या, के भन्नुहुन्छ सर ? शुरुमा त बाउआमाहरू रिसाउनु रिसाए नि मैले बीचमै विज्ञान पढ्दापढ्दै पढ्न छाडेकोमा । तर उनीहरूलाई मेरो इच्छा के थियो भन्ने मनोविज्ञान थाहा नभएरै रिसाएका हुन्, म जान्दथेँ । उसै पनि म कमजोर विद्यार्थी थिइनँ । एसएलसीमा फस्ट डिभिजन । स्कुलकलेजमा अब्बल । तर पनि के भयो भयो, मेरो बहुलठ्ठीपनले अकस्मात् थाङ्काचित्र सिक्न काठमाडौ पुगेँ ।

त्यसक्रममा, स्वयम्भूमा ५ वर्ष आर्ट पसल पनि खोलेँ । अलिक धेरै महत्त्वाकांक्षी म त्यसपछि हुर्रिएर कतार गएँ । कतारमा दुई वर्ष डेकोर कला सिकेँ । कतारबाट फर्केपछि अनि यता दुबईमा आएको हुँ सन् २००८ मा ।’

डेकोर आर्ट्कै शिलशिलामा कतारबाट फर्केका भुपेन्द्र त्यसपछि दुबईमा आएछन् । त्यसो त नेपालबाट आउने प्राय चित्रकारहरू अरबमा डेकोरकै काममा आउने हुन् । डेकोरकला र चित्रकला एकार्कामा परिपूरक सम्बन्ध भएकाले पनि अधिकांश आर्टिस्टहरू डेकोर आर्टिस्ट पनि हुन् । भूपेन्द्रसँग डेकोरकलाको बारेमा लामो अनुभव छ । कस्तो कोठामा कस्तो डिजाइन गर्दा, कस्तो चित्रहरू बनाउँदा, कस्तो रंगरोगन गर्दा आकर्षक देखिन्छ भन्ने राम्रोसँग दख्खल राख्ने भूपेन्द्र एक राम्रा आर्टिस्ट मात्र नभएर दुबईमा पेन्टिङ वर्ल्ड नामक डेकोर कम्पनी खोलेर बसेका सफल उद्यमी पनि हुन् । त्यसबाहेक उनले आबुधाबीस्थित मुसाफामा नर्सरी स्कुल खोलेका छन्, जसले ससाना बच्चाहरूलाई केयरिङ गर्ने काम गर्दछ । उनै भूपेन्द्र जो अहिले इन्टरिवर डेकोरमार्फत् मार्स्टस कोर्स सक्दैछन् । अब हेरौँ, उनको कम्पनीमार्फत् गरिएका केही उत्कृष्ट डेकोर कलाहरूः