साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गाउँमा हराएको गाउँ

कविता

Chovar Blues Mobile Size
जीवित खड्का मगर

सबेरै हल्लागर्दै ढिँकीजाँतोहरू
मस्त निदाइरहेको घामलाई उठाइरहन्थे
र घाम क्षितिज आमाको काखबाट उठेर आइनपुग्दै आँगनमा
आइसक्थ्यो हिँडेर उकालैउकालो पँधेरीखोलाको पानी
आइसक्थे आफ्नै हाँगाको पात बजाउँदै वनका बुटाहरू ।

लहलह हरिया खेतहरूमा सबेरै पुग्थ्यो पहाड
र दिनभरि पसिनाको छहरामा नुहाएर
बेसीदेखि शिखर उक्लिन्थ्यो सधैँ साँझमा ।
मुरलीको धून पछ्याउँदै
गीतका हरफ बोकेर दिनभरि ग्वालाहरूसित गीत गाउँथे जंगलका चराहरू
र साँझपख भोलि गाउने नयाँ गीतको धून बोकेर फर्किन्थे गुँडमा ।
टा…ढा, भीरको बाटो यतै गाउँतिर आइरहेको देखेर सुकिला मान्छे
सायद लाहुर बोकेर आएकोझैँ आफ्नो लाहुरे छोरा सम्झेर
जोर आँखा सधैँ मूलबाटोमा राखिर’न्थे वृद्ध बाआमाहरू ।
मेला हेर्न आएका तन्नेरी हिमालहरूले
कुन्नि ! के-के कुरा गरिदिन्थे आँखैआँखाको भाषामा ?
कि छेवैमा फक्रेको गुराँस लजाएर झन् रातो-रातो देखिन्थ्यो
साँच्चै ! उतिबेला गाउँ
फक्रिएको गुराँसजस्तै देखिन्थ्यो ।

तर अचेल
यहीँ माटो खनेर बसेका घरहरू
यहीँ माटोमा पाइला टेकेर उभिएका पहाडहरू
अनायासै अपरिचितजस्तो लाग्न थाल्छ
जहाँ गाउँको सुवास छैन,
गाउँभन्दा पर …
कहीँ हराएझैँ लाग्छ ।

दैलोमा सधैँ आइरहन्छ भेट्न सहरलाई छोएर आएको दलालजस्तो हावा
र गाउँबाट गाउँको पहिचान उडाएर लै’रहन्छ ।
यता, आधुनिक सपना ओढेर फुर्सदमा सुतिरहेछ मैलो पहाड
र पानी खोज्दाखोज्दै बगर भएकाछन्
मूल नफुटेर ओठ सुकेका खेतहरू
सुनिदैन हाँगाहाँगामा गाउँको गीत
जहाजजस्तो उडेर कतै हराइरहेछन्
जंगलका चराहरू
बरू आफ्नै पीडाको घाउ ठुँगेर ठुटामा रोइरहन्छ एक्लो न्याउली ।

ओ, दूरदेशका पर्यटकहरू !
गाउँमा अहिले गाउँ हराएकोछ ।

प्रतिक्रिया
Loading...