जीवित खड्का मगरलाई रङ र कुचीसँग खेल्दै गर्दा आजभन्दा दुई दशक अगाडि बागबजारको एउटा आर्ट पसलमा भेटेको थिएँ मैले । पछि थाहा पाएँ, सङ्गीतसँग पनि उनको अगाध माया बसेको रहेछ । फुर्सदको समयमा हार्मोनियमका सुरहरूसँग विलय हुनु उनको चर्या बनेको रहेछ ।

एक दिनको कुरा हो प्रसङ्गवश उनले मेरो डायरी पढ्न मागे । मेरो डायरीमा त्यस्तो खास केही थिएन- दुई चारवटा कविता र केही हल्काफुल्का कुराहरू नै थिए । मैले डायरी दिएँ । केही दिनमा डायरी पढेर फिर्ता गर्दै उनले भने “तपाईंका केही कविता मन पर्‍यो दाइ !” हो, त्यही दिनदेखि लाग्यो- यो जीवित भन्ने मान्छे साहित्यको पनि त्यत्तिकै अनुरागी रहेछ ।

समय क्रममा कर्म र कर्तव्यले हामीलाई आ-आफ्नो बाटो देखायो । धन कमाउन घरदेश छोडेको परदेशीले रहर र सपनाहरू जीवित राख्न सक्ला र ? – यस्तै ठानेको थिएँ मैले, तर जीवित जीवित नै रहेछन् आफ्ना रहर र सपनाको विरुद्ध परिस्थितिसँग सम्झौता गर्नै नमान्ने- ज्याद्रो ! परदेशको बसाइँ उनको लागि आफ्नो साधना सिद्धिको लागि एकान्त खोज्दै गुफा पसेको साधक जस्तै भएछ ।

केही वर्षपछि फेरि हामी सामाजिक सञ्जाल मार्फत जोडियौँ । ओहो ! सामाजिक सञ्जालमा त उनको छुट्टै नाम र चर्चा बनिसकेको रहेछ । उनको चित्रहरू, विशेष गरी साहित्यकार लगायतका विशिष्ट व्यक्तित्वहरूको मुहार चित्रले उनलाई दिएको परिचय र सम्मानले बताइरहेको थियो- उनको साधना सिद्ध भएछ । यस बीचमा उनका कविता सङ्ग्रहहरू पनि प्रकाशित भएछन् ।

यो त भयो मोटामोटी विगतको कुरा । आज म कवि जीवित खड्का मगरको नयाँ कविता सङ्ग्रह “धागो” पढेपछि आफूलाई लागेको कुरा साझा गर्छु भनेर उपस्थित भएको हुँ । यस कृतिमा जम्मा ४० वटा कविता संग्रहित छन् । शब्दहरूको जोड घटाउ र समीकरणलाई केही काव्यिक जलप लगाएर धेरैले कविता लेख्दै आएका छन्, पढिँदै आएका छन्  । शुरूमा मलाई पनि यी ४० वटा कविताह सरसर्ती पढ्दा आम कविता नै लाग्यो ।

फेरि एक पटक दोहोर्‍याएर पढेँ, अनि लाग्यो ओहो ! नेपाली साहित्यले आयो-गयो भनेर बिर्सिहाल्न मिल्ने आम कविता होइनन् यी । यसमा कविका अढाई दशकभन्दा लामो साहित्य साधनाको गहिरो अनुभव, जीवनप्रतिको दृष्टि र समयसँगको साक्षात्कार प्रतिबिम्बित भएको छ । यी कविताहरू केवल शब्दहरूको संयोजन होइनन्, अनुभूति, विचार र चेतनाका सघन अभिव्यक्ति हुन् ।

कविताहरू धेरै लेखिन्छन्, धेरै पढिन्छन्,  तर केही खास कविताहरूलाई मात्र वर्तमानले स्वीकार गर्छ र इतिहासले आफ्नो अभिलेखमा सुरक्षित राख्छ । शब्दहरूको गठबन्धन मात्र कविता हुन सक्दैन । कवितालाई आम रचनाभन्दा माथि उठाउने तत्त्व भनेको त्यसमा प्रयोग गरिएका बिम्ब, प्रतीक र कलात्मक अभिव्यक्तिको शक्ति हो ।

कवि जीवित बिम्ब र प्रतीकका कुशल शिल्पी रहेछन् भन्ने कुरा मैले उनको कविता सङ्ग्रह ‘धागो’ पढेपछि अझ स्पष्ट रूपमा महसुस गरेँ । शब्दको प्रयोगमा मितव्ययी हुँदै उनले बिम्बहरूलाई यति सटिक, सघन र मौलिक ढङ्गले प्रयोग गरेका छन् कि उनको बिम्ब सिर्जन क्षमता लोभलाग्दो देखिन्छ । उनका कवितामा अनावश्यक शब्दको भीड छैन, बरु थोरै शब्दमार्फत गहिरो अनुभूति र व्यापक अर्थ सम्प्रेषण गर्ने सामर्थ्य छ ।

कविहरूमाथि प्रायः लाग्ने आरोप हो— उनीहरू एकाङ्गी हुन्छन् र आफ्नै कुण्ठा मात्र पोख्छन् । तर ‘धागो’का कविताहरू पढ्दा कवि जीवित त्यस्तो सीमित घेराभित्र बन्द छैनन् भन्ने स्पष्ट हुन्छ । उनले महिलामाथि हुने शोषण, धर्मका नाममा गरिने विभेद, सामाजिक विकृति, अन्याय र अत्याचार विरुद्ध सशक्त आवाज उठाएका छन् । उनका कविताहरूमा केवल शासक प्रतिको असन्तुष्टि मात्र होइन, आवश्यक पर्दा स्थापित मान्यता र भगवान प्रतिको प्रश्न तथा आक्रोशसमेत निर्भीकतापूर्वक व्यक्त गरिएको छ ।

“बारुद बनाएर हामीलाई

भरुवा बन्दुकमा नखाँद्नू

तिमी जति खाँद्दै जान्छौ

हामी उति जोडले पड्किन्छौँ ।”

यी पङ्क्तिहरूले कविको विद्रोही चेतना, प्रतिरोधको स्वर र अन्यायविरुद्धको दृढ अडानलाई सशक्त रूपमा अभिव्यक्त गर्छन् । 

यस कृतिबारे वरिष्ठ समालोचक, समीक्षक, कवि तथा साहित्यकारहरूले पनि आआफ्नो धारणा व्यक्त गर्दै कवि जीवित खड्का मगरलाई नेपाली कविता आकाशका सिद्ध शिल्पीहरू मध्ये एकका रूपमा मूल्याङ्कन गरेका छन् । निस्सन्देह, ‘धागो’ नेपाली साहित्यले प्राप्त गरेको एउटा महत्त्वपूर्ण उपहार हो । नेपाली कवितालाई अझ जागृत, समृद्ध र जीवन्त बनाउन जीवितजस्ता मौलिक बिम्ब शिल्पी कविहरूको निरन्तर उपस्थिति आवश्यक छ ।

जीवितका कवितामा विद्रोह छ, आक्रोश छ, पीडा छ र देश प्रेम पनि छ । तथापि, कताकता प्रेम, आशा र मानवीय संवेदनाको कोमल स्पन्दन अलि कम धड्किएको हो कि भन्ने अनुभूति पनि भयो । सम्भवतः यसले दुस्मनलाई पनि प्रेम गर्ने कवि मनु मन्जिलजस्ता प्रेम र मानवीय उदात्तताको पक्षमा उभिने कविताका पाठकहरूलाई अलि बढी तान्न सक्थ्यो । यद्यपि, प्रत्येक कविको आफ्नै शैली, आफ्नै स्वत्व र आफ्नै काव्यधारा हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्दा यसलाई कुनै ठुलो कमजोरीका रूपमा लिनु उचित हुँदैन । बरु यही विशिष्टताले कवि जीवित खड्का मगरलाई अरूबाट पृथक पहिचान प्रदान गरेको छ ।

कवि जीवितज्यू कविताकृति ‘धागो’ का लागि हार्दिक बधाई तथा आगामी सिर्जनात्मक यात्राका लागि हार्दिक शुभकामना !