साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अमीर सुन्दास, तिमीलाई नेपालको सलाम

Chovar Blues Mobile Size

हरहमेसा केही खोजिरहेको जस्तो, केही भनिरहेको जस्तो लाग्ने चहकिला गोलगोल आँखा उसको । पातलो अनुहार तर बुद्धको जस्ता कान । दाह्री उसको भर्खरै खेत रोपेको धान हो जस्तो कताकति उम्रेको, तर झ्वाप्प जुँगा देख्ता भुवन केसीको जुँगा हराएर उसकै ओठमाथि गाँसिन पुगे जस्तो । यतिमात्र हो र ? मोहन वैद्यवाला ब्रान्डेड क्याप र काँधमा झोला…

लाग्छ, ऊ कुनै पार्टीको सक्रिय कार्यकर्ता हो ।

हो, ऊ कार्यकर्तै हो हुन त तर कुनै पार्टीको नभएर चित्र-मूर्तिको होलटाइमर कार्यकर्ता । यति मात्रै हैन, ऊ कवि/गीतकार/गायक/कथाकार/नाटककार धेरै कारहरूको एक्लो ड्राइभर पनि हो । मनलाग्दा बिन्दास पालैपालो लङ ड्राइभ गर्छ । यो कुरा अर्कै हो कि, मूर्तिकला र चित्रकलाको लोकप्रियताले उसको संगीत-साहित्य साधनालाई यसरी ओझेल पारिदिएको छ, मानौँ — कुनै अग्लो हिमालले आफ्नै आँगन वरिपरिको हराभरा र सुन्दर गाउँको सम्मोहनमा पुग्दै गरेको घामलाई छेकिरहेजस्तो ।

अमीर व्यस्त छ । साह्रै व्यस्त । उसलाई फुर्सद छैन, कसैसित बोल्नलाई । म्यासेन्जरमा, एकहरफ अमीरको जवाफ पाउन एक हप्ता कुर्नुपर्छ । म यसको साक्षी हुँ । र, म यसको विराट कला-प्रतिभाको प्रशंसक पनि ।

एकदिन म्यासेज गरेँ मैले —

• अमीरजी, नमस्कार !
“तपाईंको बारेमा केही लेख्ने दुस्साहस गरेको छु, कृपया सहयोग गर्नुहोला !”

sagarmani mobile size

अहँ ! उसको जवाफ आएन, एकहप्ता कुरिरहेँ । इग्नोर गरिरह्यो उसले मलाई। ” हैन, यो कस्तो ठिसमान्छे हो ? “– त्यसपछि म एक्लै भुन्भुनाउन थाल्छु । झोंक चल्छ त्यसपछि । अब भने, बिना औपचारिकता ठाडो म्यासेज लेखेँ —

• हेलो, मिस्टर ! हेलो, सुन्नुभएन मलाई ?
बल्ल छोटो जवाफ लेख्छ ऊ — “सुन्दैछु ..भन्नूस् ”

यतिखेर भने, आफ्नै लज्जाले म भित्रको अहंकार आगोको कोइला भएर पानीमा उछिट्टिएझैँ एकैछिनमा चिसो भयो, उसले जब फुर्सत नपाएर जवाफ नदिएको कुरा मसित गरेपछि । मनमनै पग्लिएँ, डुबर्सको यो अनमोल रत्न, जोसित म नाथेको यत्रो घमण्ड ? जसको सुगन्ध फैलिएको छ दार्जिलिङ, आसाम, कालेबुङ, खर्साङतिर सर्वत्र । उसले बनाएको शालिकलाई हरदिन व्यस्त चोक-चोकमा हजारौं मान्छेले हेर्छन्, तिनै चोकबाट शालिकलाई हेर्न आएका मान्छेहरूलाई शालिकले पनि चुपचाप हेरिरहन्छ । र, हेर्नेहरूमा आधाभन्दा धेरै अनुहार एउटा, चरित्र अर्कै देखेर मौका छोपी फिस्स हाँस्छन् मूर्तिहरू । अनि, उसले बनाएका पोट्रेटको पनि कतै-कतै कथा त्यस्तै छ ।

ओ, दार्जिलिङको अमिर सुन्दास !
ओ, प्रिय कलाकार !
तिमी कन्चनजङ्घाको शिखर उक्लिँदैछौ
म चियाबगानमा तिमीलाई होइन,
तिमी हिँडेको बाटो हेर्नलाई
तिम्रोबाटो पर्खिरहेको छु
मलाई माफ गर !
……..
……..!
ऊ एकहप्तापछि फर्किन्छ ( म्यासेजमा )
र, देखाउँछ मलाई आफू हिँडेका बाटोहरू …!

•••
चित्रमा अमीर —

एउटा ठूलो पहाड जसको फेँदमा छ डुवर्स । घरीघरी पहाडले डुवर्सको मुटु कमाउनेगरी हिउँपंखा हल्लाउँछ अनि सिरक ओढेर सुत्छ डुवर्स । घरीघरी तराईले फ्याँकेको तातो हावा डुवर्सलाई पार्सल पठाउँछ अनि आँगनमा नाङ्गै सुत्छ डुवर्स । कहिले तातिने र कहिले चिसिने ठाउँ डुवर्सको चियाबारीमा जन्मेको हो, अमीर सुन्दास । अमीरको परिवार यही चियाबगानका मजदुर हुन् । ऊ आफ्नी आमाको पटुकीको फेर समातेर यही चियाबारीमा तातेताते गर्न सिक्यो । हिँड्न सक्ने भयो । बोल्न सक्ने भयो । अनि, बाग्राकोटको टी गार्डेन प्राइमरी स्कूलमा कखरा खोज्न हिँड्यो । सानोमा साह्रै उपद्रे स्वभावको थिएछ अमीर । चकचक नगरी बस्नै नसक्ने । स्कूलबाट घर आउँथ्यो आमालाई सताउँथ्यो । घरबाट स्कुल जान्थ्यो साथीसंगीलाई सताउँथ्यो । पढ्नु नपर्ने, किताबमा पन्नाहरूमा खुब केरकार गरिरहनुपर्ने । मान्छेका चित्रहरू देख्यो कि, जुँगा बनाइदिनु पर्ने । चस्मा लगाइदिनु पर्ने । आइमाई चित्रको निधारमा टीका लगाइदिनु पर्ने । यही चकचके स्वभावले ऊ बिस्तारै चित्र स्केचतिर आकर्षित भएछ । प्राइमरी स्कुल सकेर बाग्राकोट हाइस्कुल भर्ना हुँदासम्म उसलाई चित्र स्केच गर्ने लत लागिसकेको थियो ।

अमीर भन्छ, —

” म नौ-दस कक्षा पढ्दासम्म मज्जाले चित्र कोर्ने भइसकेको थिएँ । लाइभ स्केच गर्थेँ मान्छेका अनुहार । उनीहरू मलाई सय/दुईसय रूपैयाँ दिन्थे । त्यसो त कहिले गाडीका नम्बर प्लेट, कहिले मोटरसाइकलका नम्बरप्लेट लेख्थेँ । कहिले पोष्टरहरू बनाउँथेँ । कहिले वालपेन्टिङ-साइनबोर्ड लेख्थेँ । त्यसरी जम्मा भएको पैसा संगालेर मैले स्कूलको खर्च जोहो गर्थेँ । कापीकलम-लुगाफाटो किन्थेँ । दुःखले चल्थ्यो जिन्दगी । खासमा, मैले चित्र सिर्जना गरिनँ । काम गरेँ । काम गर्दागर्दै चित्रकला सिकेँ ।”

यसरी कन्चनजङ्घाको शिखरमा संघर्षको खुट्किला टेक्दैटेक्दै उक्लिरहेको छ अमीर । ललितकला विश्वविद्यालयमा अध्ययन गरेको छैन उसले । यद्यपि, दार्जिलिङले उसको निधारमा कलाक्षेत्रको डिग्री-स्ट्याम्प लगाइदिएको छ । यो भन्दा ठूलो सर्टिफिकेट अरू के हुनसक्छ अमीरलाई ? डुवर्सका वरिष्ठ चित्रकार अजय थापाको चित्र-पाठशालामा भने उसले औपचारिक ज्ञान हासिल गरेको छ । उहाँलाई श्रद्धेय गुरु मान्छ । त्यसरी माझिँदै-माझिँदै परिपक्व भएर आएका अमीरले अहिलेसम्म सयौं मान्छेका अनुहारचित्र, भित्तेचित्र, किताबहरूका आवरणचित्र, पत्रपत्रिकाहरूका लागि कार्टुनचित्र लगायत स्थानीय चेतना कला निकेतन, स्कुलमा ससाना नानीबाबुहरूलाई चित्रकला र मूर्तिकला सिकाउँदै आइरहेको छ अहिले ।

•••
मूर्तिमा अमीर —

दिनभरि मूर्ति बनाउँदा-बनाउँदा कहिलेकाहीँ दिक्दारी लाग्दो हो, अमीरलाई । पछिल्ला वर्षहरूमा चित्रकलाभन्दा मूर्तिकलामा धेरै व्यस्त छ अमीर । बिहान उठेदेखि बेलुकासम्म माटोसँग खेलिरहन्छ ऊ । कति मूर्तिहरू बनाउँदा उसलाई साह्रो गर्व लाग्छ रे ! कति मूर्तिहरू बनाउँदा उस्तो जाँगर चल्दैन रे ! अनि, गर्दागर्दैको काम छोडेर ऊ कवितामा आफ्ना अनुभूतिहरू उन्न थाल्छ —

“मानिसजस्ता मान्छेको
मूर्ति बनाएँ कहिले
मूर्तिजस्ता मान्छेको
मूर्ति बनाएँ कहिले ।”

मूर्तिकारमा उसको कोही गुरु छैनन् । ऊ भुइँफुट्टा झाँक्रीजस्तै हो । जमीन फुटेर निस्केको पानीको मूलजस्तै हो । जो खोल्साखाल्सी, भीरपखेरामा बग्दाबग्दै खोलाझर्नाबाट नदीमा रूपान्तरित भएर निरन्तर बगिरहेको छ कहीँ दूर सागर भेट्नलाई ।

अमीर भन्छ —

” म आज मूर्तिकार हुनुको पछाडि एउटा आकस्मिक घटना छ । ८ मई, सन २०१० का दिन दार्जिलिङका विख्यात प्रगतिशील लेखक/कथाकार बद्रीनारायण प्रधान सरको आकस्मिक देहान्त भयो । उहाँ मेरो साहित्यिक गुरु पनि हुनुहुन्थ्यो । हामी विक्षिप्त भयौं । मैले बद्रीसरको सम्मानमा उहाँको पोट्रेट बनाएँ, चित्त बुझेन । मेरा साथीहरूले मूर्ति बनाउन सुझाए । अब कसरी बनाउने ? शुरुमा म हडबडाएँ तर हिम्मत हारिनँ । त्यसभन्दा पहिले माटो मुछेर मैले सानैदेखि चराका आकृतिहरू, लसुन-प्याजहरूका आकृतिहरू बनाउँदै आइरहेको थिएँ । टिष्टा बगरमा घन्टौं लगाएर बलौटे मूर्तिहरू बनाएको एउटा अनुभव पनि थियो मसित । तर एक्कासि मान्छेको मूर्ति पहिलोपटक बद्रीसरकै शालिकबाट शुरु गरेँ । काम त शुरु गरेँ तर बद्रीसरजस्तो देखिएन । ४/५ पटक बनाउँदै-भत्काउँदै गर्दैगर्दै महिनौं लगाएर बनाइछाडेँ अन्तमा । र उक्त मूर्तिलाई, जो-जो आउँछन् कम्तीमा सयजना भन्दा बढीमान्छेलाई सोधेँ, – ‘को जस्तो छ ?’ त्यसमध्ये अधिकांशले बद्रीसरजस्तो भनेँ । म हौसिएँ । त्यसपछि मान्छेहरूलाई लाग्यो, अमीरले मूर्ति बनाउँछ भन्ने कुरा । बिस्तारै अर्डर आउन थाले। हरेक मूर्तिहरू कसरी राम्रो गराउने भन्ने ध्याउन्ना भैरहन्थ्यो मलाई । आफ्ना कमजोरीहरूबाट सिक्दै-सिक्दै आइरहेँ । त्यसरी थाहै नपाई अहिले म चित्रकार कम मूर्तिकार पो ज्यादा भैसकेछु । अहिलेसम्म फरकफरक ६०/७० वटा मूर्तिहरू बनाइसकेछु । तीमध्ये भानुभक्त, देवकोटा, कटुवाल, अरूणा लामाहरूका मूर्ति उल्लेख्य छन् । एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूसम्ममा बिक्री हुन्छन् । अहिलेसम्म कलासिर्जनामा समर्पण भएबापत केही प्रतिष्ठित पुरस्कारहरू पाएको छु । सम्मान पाएको छु । पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङदेल स्मृति प्रतिष्ठानद्वारा कलासाधनाको उच्च मूल्यांकन गर्दै लैनसिंह बाङदेल स्मृति पुरस्कारजस्तो विशिष्ट पुरस्कारद्वारा अभिनन्दित हुने सौभाग्य प्राप्त गरेको छु, खुसी लाग्छ । हौसला मिलिरहेको छ । प्रेरणा मिलिरहेको छ ।

•••

साहित्यमा अमीर —

त्यसोर, ऊ आफ्ना कामहरूबाट फुर्सत निकाल्नै भ्याउँदैन अमीर । तर पनि कहिलेकाहीँ काम छोडेरै ऊ साहित्यको कार्यक्रममा पुगिहाल्छ । दार्जिलिङका नयाँ पुस्ताका चर्चित कविहरू राजा पुनियानी, मनोज बोगटीहरूसित राम्रो दोस्ती छ उसको । उनीहरूले पनि अमीरलाई लेख्न हौस्याइरहन्छन् । यद्यपि, बद्रीनारायण प्रधान सरको प्रगतिशील विचारधारा र मार्क्सवादी चिन्तनको बढी प्रभाव छ उसको सिर्जनामा । उसका कविता र गीतहरूले दुःखीहरूका आवाज बोल्छन् । सीमान्तकृतहरूका आवाज बोल्छन् । त्यसो त मार्क्सवादी प्रभाव र संगतले गर्दा सन् २००४, मार्च २८ मा पक्राउ परेर जेलमा दुई वर्ष बसेको छ । त्यहीँ जेलमा रहँदा नेपालका मोहन वैद्य र सिपी गजुरेलहरूसँग सानिध्यता बिर्सिनसक्नुको छ — अमीरको स्मृतिमा ।
(त्यसको कथा कुनै अरू नै दिन।)

•••
संगीतमा अमीर —

अमीरका फरकफरक विधाका फरकफरक खास साथीहरू छन् । गाना-बजाना गर्नुपर्यो भने, उसलाई अजय थापा, अजय खड्का, कुमार सुन्दास, आशा शर्मा जस्ता उसका संगीतप्रिय साथीहरूले साथ दिन्छन् । एउटा गरमागरम सांगीतिक माहौलको तरंग सिर्जनाको शुरूवात हुन्छ । हाँसो-रमाइलो हुन्छ । त्यहीबखत
खल्तीबाट सधैँझैँ अमीरले आफ्नू एउटा पुरानु डायरी निकाल्छ । जहाँ आफूले लेखेका गीतहरूमध्ये आफूलाई मन परेको एउटा गीत छान्छ —

“कलम काटी हातैमा ठेला’नि
छाती दुख्छ सकिन्न मेला’नि
चियाको बोटैमा
बैनी ख्वै तिम्रो हाँसो ओठैमा —२

अनि, शुरु हुन्छ एउटा गम्भीर लय मधुरता । गम्भीर बनाउँछ धूनले । गम्भीर बनाउँछ गीत र स्वरले । कलाकारहरूलाई, श्रोताहरूलाई नोस्टाल्जिक बनाउँछ । मनभरि उही चियाबारीको कथा-व्यथाहरू उकुसमुकुस बनाएर फेरि भेट्ने वाचासहित छुट्टिने-भेट्ने क्रमहरू चलिरहन्छ ।

प्रतिक्रिया
Loading...