कसैले चितौनलाई नयाँ शब्दमा परिभाषित गर् भन्यो भने, –‘सिर्जनाको नदी’ भन्नेछु म । जो, नारायणघाटको छेउ भएर बगिरहने नारायणीझैँ गहिरो छ । यो न कहिले थाकेको छ, न कहिले सुकेको छ । बगिरहन्छ मात्र । अगर, भेगीय मूल्यांकन गर्नुपरे, देशलाई कला-साहित्यमा चितौनले ठूलो गुन लगाएको छ ।
धिपधिपे कुनै अँध्यारो कोठामा बलिरहेको टुकीजस्तो । कलाकर्ममा लागिरहेको मान्छे एउटा जो छ, यहीँ चितौनमा ध्यानमग्न बुद्धजस्तो । उसलाई देशले चिन्नु र नचिन्नुमा केही गुनासो छैन । बस् ! सिर्जनाकर्ममा लागिरहनुछ । जसरी चराले चुच्चोमा एउटा-एउटा कुनै मसिनो खर बोकेर गुँड बनाएजस्तो । उसले पनि दैनिक सिर्जनाको गुँड बनाउन भुर्र कहिले यता उड्छ, कहिले भुर्र उता उड्छ । र, कहाँकहाँबाट ससाना खरको टुक्रा थूँडको चुच्चोले च्याँप्छ र बनाउँछ मेहनतको गुँड । फुल पार्छ । बचेरा निस्काउँछ-हुर्काउँछ । फेरि गुँड बनाउन उडिरहन्छ, तलतल बगिरहेको नारायणी, नारायणी माथिमाथि पखेटाले बनाएर पुल ।
**
अँ, म अहिले चितौनका चित्रकार प्रकाश थापाको कुरा गर्दैछु—
तीस वर्षभन्दा लामो अनुभव संगाल्नुभएका प्रकाश दाइसित यो क्षेत्रमा केही यस्ता अनुभूतिहरू छन् रे बिर्सिनै नसकिने । जस्तो कुनै प्रेमीले बिर्सिन सक्दैन आफ्नो प्रथम प्रेमिकालाई । त्यस्तै नबिर्सेको एउटा कुरा दाइकै मुखबाट,
म तीनकक्षा पढ्दादेखि चित्रप्रति रूचि राख्दोर’छु भाइ ! कापीको पन्ना सकिएपछि घरका भित्तामा, दलानमा, आँगनछेउको छपनी ढुंगामा जता पायो उतै अंगारले चित्र बनाइरहन्थेँ । तर कुनै पन्चेको अनुहारमा मोसो दलेजस्तो घरै विरूप भएपछि बाआमा रिसाउनुसम्म रिसाउनु हुन्थ्यो । खुब गाली गर्नुहुन्थ्यो । पिट्नु चैँ हुन्थेन, सायद कान्छो छोरा भएर माया धेरै लाग्दो हो, कुन्नी ! ( भित्र स्मृतिको तख्तामा धुलैधुलोले पुरिएको धेरै पुरानु कुरा टक्टकाउँदै हाँस्नुहुन्छ दाइ । हाहाहा ) पछि, सात कक्षा पढ्दै गर्दा जुनियर रेडक्रस सर्कलद्वारा आयोजित अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएपछि भने, दाइलाई चित्रको धङधङी नशा लाग्यो रे !
**
त्यसपछि दाइको संघर्ष शुरु भएछ–
एसएलसी पास गरेपछि ललितकला क्याम्पस, काठमाडौँमा चित्रकला पढ्न पुगेँ, भाइ ! मैले ७ कक्षा पढ्दादेखिनै रंग-ब्रस चलाउन थालिसकेको थिएँ, स्केच मज्जाले कोर्ने भैसकेको थिएँ । क्याम्पसमा वर्षभरि एउटै काम दोहोर्याइरहँदा, हेरिसकेको कुनै पुरानु फिलिमजस्तो पुनः हेर्दा वाक्क लागेझैँ मलाई वाक्क पो लाग्यो र, क्याम्पसको पढाइलाई गोली हान्दिएँ अनि प्राइभेट पढ्न पोखरा हान्निएँ ।
**
पोखरामा आर्ट् सिक्न जाँदाको रमाइलो किस्सा —
खासमा म पोखरा जानुको कारण, त्यहाँ केही नाम चलेका स्थापित आर्टिष्टहरू हुनुहुन्थ्यो । म उहाँहरूसित संगत गर्न चाहन्थेँ । दुर्गा बराल सरसँग वाटर कलर सिक्न चाहन्थेँ, उहाँलाई भेटेँ पनि । तर बाराम्बार भेट्दा पनि उहाँले सिकाउने कुनै संकेत पाइनँ मैले । अन्त, निरास भएर भुर्तेल सर कहाँ गएँ । यसो कुरो बुझ्दा यी दुई बूढाहरूको शीतयुद्ध रहेछ जस्तो लाग्यो । कन्नो पछाडि एकार्काले अर्काको कुरा काटिहाल्ने । शत्रुको मित्र शत्रु नै हुन्छ भने झैँ, भुर्तेल सरले दुर्गासरको कुरा काट्दै केही ज्ञान दिनुभो मलाई । त्यतिले नपुगेर आलोक सरकोमा गएँ-त्यस्तै भयो । पछि बुझ्दै जाँदा म पोखरामा बसोस् भन्ने चाहना रहेनछ, कसैको ।
**
प्रायः आर्टिष्टहरू ईर्ष्यालु हुन्छन् । अरूको प्रशंसा गर्दैनन् —
चित्र सिक्ने क्रममा धेरै थरीका मान्छेहरूलाई भेटेँ । कोही एकदमै मूडी । कोही एकदमै लाछी । कोही एकदमै आत्मप्रशंसक । अरूको राम्रो चित्रलाई राम्रो कहिले भन्दै नभन्ने । बरू खोट कहाँ छ भनेर खोजिरहने कुनै जमिनदारको हर्तालू मुन्सीजस्तो । हतोत्साहित गरिरहने । त्यही दिक्क भएर चितौन फर्केँ । फर्केपछि, यहाँको एक साप्ताहिक पत्रिकाको फ्रन्टपेजमा ‘प्रथा’ नामले कार्टून बनाउन थालेँ । चित्रहरू ग्यालरीमा दिने र विदेशतिर चित्रहरू पठाउन थालेँ । राम्रै थियो तर त्यसताका माओवादीको द्वन्द्वकालमा व्यवसाय शिथिल भएपछि विदेशतिर लागेँ र दुई वर्षपछि फर्केँ । हो, तिमीले भनेझैँ बालुवाको चित्र नेपालमा बनाउने प्रथम चित्रकारमै हुनुपर्छ । यो प्रयोगात्मक कला हो । खाडीमा साढे तीन वर्ष बस्दा बालुवाको प्रयोग त्यहीँबाट शुरु गरेको हुँ । त्यहाँ काम गर्दा जसले मेरो बालुवाको काम देखे, उनीहरुबाट पाएको हौसलाले यसलाई निरन्तरता दिएँ । नेपालमा पछि आएर २०७१ सालमा ३४ जना स्थानीय कविहरुको मुहारचित्र बालुवाबाटै तयार गरेँ । र, एक्जिविसन गरेँ । जसलाई मूलधारका मिडियाहरूले राम्रै प्रमोट गरिदिए ।
**
पुरस्कारको कुरा गर्दा —
ओहो ! भाइ, त्यो अहोभाग्य पाउनलाई चाकरी र झन्डाको राजनीति गर्नुपर्छ, जो मैले गरिनँ । जति पुरस्कार पाएको छु, प्रतियोगितामा जितेर पाएको छु ।
**
भन्नुपर्ने केही दुई कुरा दाइ ?
चित्रकार बाँच्नका लागि चित्र बिक्री हुनुपर्छ । अहिले नेपाल देश गरिब बनाएरै भए पनि जनता धनी भएका छन् । ५० लाख घटीमा एउटा घर बन्दैन त्यसमा कम्तिमा एउटा चित्र राख्ने चेतना विकास भए, हामीलाई नभए पनि हामी पछिका चित्रकारलाई सजिलो हुन्थ्यो कि भन्ने लाग्छ ।
****
केही पुरस्कारहरू —
* प्रथम – अन्तर विद्यालय चित्रकला पोष्टर प्रतियोगिता । २०४१
(जुनियर रेडक्रस सर्कल )
* प्रथम — अन्तर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता । — २०४८ ।
( रेयुकाइ संघ, नेपाल । )
* प्रथम — चितवन महोत्सव — २०६९
एक्जिविसन–
एकल एक्जिविसन आठौँ पटक ।
सामूहिक धेरै पटक ।
जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।