१. पहिचान

(मुनाराज सेर्मा)

उसले मेरो अनुहार हेरेपछि
बहस सुरु गर्यो !
कतिले मलाई रङ गाको ठाने,
कैयौँले रङ लाको ठाने,
कुनैले मलाई रङ चढेको बुझे,
खै कसरी हो
सुन्नेले रङ उडेको भने,
हेर्नेले मलाई रङ सुहाको भने,
जाँच्नेले रङ तुहाको भने,
बहुतले रङ नजानेको भने,
कसैले नछुनु रङ लाग्छ भने,

साँच्चै बुझ्दा कुनै खास रङहीन
नहुने रहेछ वस्तु अस्तित्वमा,
रङ आफैँमा फरक र मौलिक रहेछ,
रङ नहुनु भनेको त आखिर
आफैँमा एउटा रङ रहेछ !

 

२. एउटा घर

(जीवित खड्का मगर)

केही बेर आगो बल्नेछ,
निभेको आगोलाई
चङ्गा बनाएर हावाले उडाउनेछ !

यहीँनेर तिर्खाइरहेको एउटा गहिरो दह
आगोको किनारैकिनार उठेर
पहराबाट खसिरहेको एक्लो झरनालाई पिइरहेछ,
जो आगोको मायाले छुटेथ्यो प्रेमी नदीसँग ।

नदी र झरनाको बीचमा उठिरहेछ पहाड,
आगो र पानीको बीचमा सुतिरहेछ दह !

एउटा घर जलिरहेछ आगोमा … !!

३. स्वार्थ

(विराट किराती)

म रोएको साँझ
तिमीले धेरैसँग
हाँसीमजाक/ख्यालठट्टा गर्यौ रे ।

तर,
तिमी रुँदा
म पनि रोएथेँ— एकान्तमा ।

हामीबीच
यही त भिन्नता रहेछ !

४. बाबू गणतन्त्र

(छिरिङ शेर्पा अविरल)

धेरै अन्तरालमा
रगतको भेलभित्र
अनगिन्ती प्रसवपीडा सहेर
जन्मिएको बालक
अनेकौँ शकुनि मामाहरूको
षड्यन्त्रको सिकार हुँदै आएको
बर्सौँ भयो !

पौष्टिक आहार नपुगेको शिशु न हो !
अझै बामे सर्दैछ,
फेरि पनि अनेकौँ प्रश्नहरूको
निरुत्तर जवाफ खोज्छ
अनि पटकपटक बोलाइरहन्छ
सबैको प्यारो नाम—
बाबू गणतन्त्र … !!

 

५. जीवनको गीत

(देवकी अभिलाषी)

सिमलका भुवाहरू
उडेर जानेछन् टाढा–टाढा कतै,
तर बाँकी रहनेछ जीवनको गीत !
तस्बिरको चन्द्रमालाई
थाहा हुँदैन पीडाको परिभाषा,
तर पर्खिरहनेछ जीवनको गीत !

शिशिरमा झरेका पात हेर्दै
वसन्तमा मुस्कुराइरहेका पालुवाहरू !
थाहा छ तिमीहरूलाई ?
मरुभूमिको हरेक बालुवा
जीवनको गीतले भिजेको हुन्छ !
शिशिरमा खसेको हरेक पात
जीवनको गीतसँगै बिउँझिएको हुन्छ !!