साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कार्यक्रम “स्रष्टा र सिर्जना” अब साहित्यपोस्टमार्फत प्रसारण हुने

Chovar Blues Mobile Size

 

सगरमाथा साहित्य प्रतिष्ठान, युएईको फेसबुक पेजबाट सञ्चालन हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” अब साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुने भएको छ ।

प्रतिष्ठानको पेजबाट विगत करिब दुई वर्षदेखि प्रसारण हुँदै आएको साहित्यिक अन्तरवार्तामूलक सो कार्यक्रमलाई साहित्यपोस्टले प्रस्तुत गर्न लागेको हो ।

नेपाली साहित्य, कला र सङ्गीतसँग सम्बन्धित अग्रज र अनुज पुस्ताका सर्जकहरूलाई जोडेर अन्तरवार्ता लिइँदै आइएको सो कार्यक्रमको ११४ औँ शृङ्खलासम्म प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण भइसकेको छ ।

हरेक शनिबार नेपाली समय साँझ ८ बजेदेखि एक घण्टा प्रसारण हुँदै आएको कार्यक्रमको सोही शृङ्खलालाई निरन्तरता दिँदै आगामी साउन ७ गते (२३ जुलाई २०२२) शनिबारबाट साहित्यपोस्टको फेसबुक पेजबाट सञ्चालन गर्न लागिएको कवि/चित्रकार तथा कार्यक्रम संयोजक जीवित खड्का मगरले जानकारी गराउनु भयो ।

प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रमलाई साहित्यपोस्टमार्फत पुन: प्रसारण गर्न लागिएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमलाई अझै स्तरीय र व्यवस्थित बनाउँदै लगिने संयोजक खड्काले बताउनु भयो ।

sagarmani mobile size

साथै कार्यक्रमले पहिले जस्तै श्रोता दर्शकहरुको साथ सहयोग र माया पाउनेमा उहाँले विश्वास पनि व्यक्त गर्नुभयो ।

पछिल्लो समय साहित्य वृत्तमा लोकप्रिय बन्दै गइरहेको कार्यक्रम आफ्नो पत्रिकाको पेजबाट प्रसारण हुन लागेकोमा खुसी व्यक्त गर्दै साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले नेपाली भाषा साहित्यको विकासमा पत्रिकाले पुर्याउँदै आएको योगदानमा कार्यक्रमले थप टेवा पुर्याउने उल्लेख गर्नुभयो ।

साहित्यपोस्टका युएई संयोजक समेत रहनु भएका कवि डि जि शर्माले कार्यक्रमलाई युएईबाट सञ्चालन गर्नुहुनेछ । कार्यक्रमको प्राविधिक टिममा युएईबाट संयोजक मगरसहित कवि तथा गायक दीपराज नेयोङहाङ, जापानबाट कवि तथा कार्यक्रम सञ्चालिका कुसुम समर्पण तथा साहित्यपोस्टको तर्फबाट प्रधान सम्पादक कोइराला र प्राविधिक राज सिटौला रहनु हुनेछ ।

कार्यक्रमलाई साहित्यपोस्टको युटुब च्यानलमा पनि राखिनुका साथै कार्यक्रममा गरिएको कुराकानीलाई लिखित अन्तरवार्ताको रुपमा साहित्यपोस्ट मार्फत प्रकाशित गर्दै लगिनेछ ।

२०७७ साल भदौ २७ गते शनिबारबाट सुरु गरिएको कार्यक्रमको विभिन्न समयमा कार्यक्रम प्रसारण हुने बार परिवर्तन हुँदै आएको भए पनि पछिल्लो ९७ औँ शृङ्खलादेखि पुन: शनिबार साँझ ८ बजे प्रसारण हुँदै आएको छ ।

स्मरण रहोस् “स्रष्टा र सिर्जना” कार्यक्रममा अहिलेसम्म नेपाल र भारतका विभिन्न प्रान्तहरूबाट विशिष्ट साहित्यकार/कलाकार/सङ्गीतकर्मीहरूलाई जोडेर अन्तरवार्ता गरिसकिएको छ र अन्तरवार्ताका हरेक शृङ्खला युटुबमार्फत् पनि हेर्न सकिनेछ ।

कार्यक्रम प्रसारणका लागि अहिलेसम्म सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो फेसबुक पेज उपलब्ध गराएकोमा कार्यक्रम प्रस्तोताहरूले प्रतिष्ठानप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया
Loading...