लेखक तथा पत्रकार लक्ष्मण वियोगी साहित्यपोस्टसँग आबद्ध भएका छन् । वियोगी अर्थ–साहित्य सम्पादकका रूपमा साहित्यपोस्ट भित्रिएका हुन् । उनले साहित्यपोस्टमा रहेर अर्थ–साहित्य विभागको नेतृत्व गर्नेछन् ।
वियोगीको साहित्यपोस्टसँगको आबद्धतालाई प्रधान–सम्पादक अश्विनी कोइरालाले पुष्टि गरेका छन् ।
अर्थतन्त्रभित्रको साहित्य र साहित्यभित्रको अर्थतन्त्रको संयोजनबाट साहित्यपोस्टको अभियानमा वियोगीले नयाँ आयाम थप्ने विश्वास व्यवस्थापन विभागको रहेको छ ।
‘‘लक्ष्मण वियोगी साहित्य, अर्थतन्त्र र पत्रकारिता बुझेको व्यक्ति हुनुहुन्छ । उहाँको अनुभव र क्षमताले साहित्यपोस्टमा नयाँ आयाम थप्नेछ ।’’, वियोगीको साहित्यपोस्टसँगको आबद्धतालाई लिएर प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘‘लक्ष्मणजीको नेतृत्वमा हालसम्म हामीले छुटाइरहेको विषय, अर्थ–साहित्यलाई जोडेका छौं । अर्थ–साहित्यमार्फत साहित्यलाई अर्थ र अर्थलाई साहित्यसँग जोड्ने प्रयास हाम्रो रहनेछ ।’’
करिब २ दशकदेखि पत्रकारितामा सक्रिय लक्ष्मणसँग नागरिक दैनिकको आर्थिक ब्यूरोमा रहेर पाँच वर्ष पत्रकारिता गरेका अनुभव छ । हाल उनी ऊर्जा सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका ‘ऊर्जा खबर’का सम्पादक छन् ।
साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम घोषित भएको थियो ।
त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा वियोगीको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो ।

अर्थ-साहित्य सम्पादक लक्ष्मण वियोगी र प्रधान-सम्पादक अश्विनी कोइराला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










