आज घामले समयको गीत गाउँदैछन्; मैले मनको भाका गुन्गुनाइरहेँ ।
घामका मञ्जुलले मलाई माया गरेका छन्; आकाशबाट भुइँमा ओर्लेर । म केही दूरी हिँडिरहेको छु; घामसँगै नारिएर । म एक भुइँमान्छे पुड्को हुँदै, अझ बामपुड्कोमा रूपान्तरण भइरहेको देखिन्छु । हर्न टवाँ पार्दै, नजिकै आएर एउटा मोटर घ्याच्च रोकियो । म आफ्ना मालमत्ता लोड गरेर अगाडि चालकसँगै बसेँ ।
दमकसम्म पुग्न यो मोटर जोहो गरिदिएका छन्; विद्युत प्राधिकरण प्रदेश–१ विराटनगर प्रादेशिक कार्यालयका हाकिम राजन ढकालले । बिजुली पत्रकारको हैसियतले देशका विभिन्न ठाउँ पुग्दा आक्कलझुक्कल मलाई यस्तो सुविधा जुर्ने गर्छ ।
म गुडिरहेको छु, पूर्व–पश्चिम राजमार्गमा । आज मलाई यो राजमार्ग अन्त्यहीन नदीको बहावजस्तै लागेको छ । आफू त्यसैमा प्रवाहित एक जलकण । धेरै चोटी गुडेको यो परिचित बाटो तर आज अपरिचितजस्तै ठानेको छु । सडक छेउछाउको हरियो दुबो, हल्का फुलेको सिरु, धान झुलेका फाँटहरू, किनारमा भेटिने खपटाले छाएका घरहरू कलाकारले क्यानभासमा उतारेका चित्रहरू लाग्थे ।
चालक देवेन्द्र श्रेष्ठ खुट्टाले मोटरको एक्सिलेटर थिचिरहेका छन् । यो बत्तिइरहेको छ; मेरा भावनालाई पोको पारेर ।
केहीबेरको मौनतापछि मैले उनलाई सोधेँ– “दाइको घर विराटनगरतिरै हो ?” लगत्तै अर्को प्रश्न थपेँ– “पुर्ख्यैली थलो कता नि ?”
“म त विराटनगरमै जन्मेको, बुवाहरू ओखलढुङ्गाबाट आउनुभएको हो ।”
मेरो अनुमान थियो; उनले काठमाडौँ, कीर्तिपुर वा भक्तपुर कुनै जिल्लाको आफ्नो पुरानो थतथलोको नाम लिन्छन् तर मैले सोचेभन्दा फरक जवाफ आयो ।
यी ‘श्रेष्ठ’ थरका नेवार दाइको पूर्वेली लवजले मलाई लाग्यो, यिनीहरू पुस्तौंदेखि पूर्वी पहाडका थुम्काहरूसँग जोडिएका छन् । पहाडको हावापानी बोकेर तराई झरे र त्यतै रत्तिए । काठमाडौं घाँटीभित्रका ‘श्रेष्ठ’ भएको भए उनको लवजमा त्यतैको रैथाने गन्ध आउँथ्यो । मैले झ्वाट्ट सम्झेँ– स्वरसम्राट स्व. नारायण गोपालको कण्ठबाट गुन्जिरहने मेरो प्यारो ओखलढुङ्गा गीतका सर्जक अर्थात् युगकवि सिद्धिचरण श्रेष्ठ ओखलढुङ्गे हुन् । यी देवेन्द्र पनि सिद्धिचरण बाहरूकै वंशवृक्षका हाँगा हुन् कि !
इतिहासले भन्छ; अक्सर नेवार जातिहरू काठमाडौँ घाँटीभित्रका रैथाने हुन् । उनीहरूको परम्परागत पेशा व्यापार व्यवसाय भनिन्छ । म त ठान्छु; यिनीहरू घुमन्ते व्यापारी हुन् । व्यापार गर्दै हिँड्ने/घुम्ने क्रममा उनीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिए । मेची–कालीका सीमा कटेर परपरसम्म फिँजिएका छन् । आज त विश्वभर आधुनिक व्यवसायका अनेक आयाम तन्काइरहेका छन् ।
हाम्रो स्याङ्जातिर पनि प्रशस्त नेवारका बस्तीहरू छन् । साविक किचनास गाउँ विकास समिति र हाल हरिनास गाउँपालिका–१ सालडाँडा भन्ने गाउँ छ, यो ‘सालडाँडा हट्टिया’का नामले निकै चर्चित छ । यहाँ मानन्धर थरका नेवारहरूको ठूलो बस्ती छ । उपत्यकाभित्र भक्तपुर र कीर्तिपुरका नेवारहरू बन्द–व्यापार गर्दै दुई सय वर्षभन्दा अगाडि यस ठाउँमा आएर बसोबास गरेको इतिहास भेटिन्छ ।
मलाई लाग्छ– नेवार जातिहरूले देशको व्यापार व्यवसाय विस्तारसँगै विविध जातजातिलाई अन्तर–घुलन गराउने काममा महत्वपूर्ण भूमिका खेलेका छन् । उहिल्यै–उहिल्यै पूर्वदेखि पश्चिमका पहाडी गाउँहरूमा पुगेर व्यापार गर्नु, स्थानीय जनजीवनसँग घुलमिल हुनु, स्थानीय अर्थोपार्जनमा टेवा र टेको दिनुमा यी जातिले पुर्याएको योगदानको आफ्नै इतिहास छ । खासमा, नेवारहरूले गाउँले जीवनलाई बजारसँग जोडेर मानव जीवनको गतिशीलतामा शदियौंदेखि पुलको काम गरिरहेका थिए, गरिरहेकै छन् ।
पूर्व सङ्खुवासभाको चैनपुर बजारमा ‘जोशी’ नेवारहरूको ठूलो बस्ती छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी त्यहीँका रैथाने हुन् । उनको समूहले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी–ए, जलविद्युत आयोजनाको स्थलगत अवलोकन सकेर फर्किँदै गर्दा एक पटक उनले सुनाएका थिए– हामी भक्तपुरबाट गएको रे ! हाम्रो कूलपूजा आज पनि भक्तपुरमै हुन्छ । म नेवार हुँ भन्ने त, मलाई काठमाडौं आएपछि मात्र थाहा भएको हो ।
एक पटक–सुदूरपश्चिम पुग्दा मैले डोटीमा विजुक्छे किराना पसल भेटेको थिएँ । अचम्म लागेर ती पसले दाइलाई सोधेको थिएँ– “दाइहरू यतैको हो ?”
ती दाइले डोटेली लवजमा भनेका थिए, “हामी त यतै जन्मेको, बाजेहरू भक्तपुरबाट आएको रे । हाम्रा मान्छेहरू छन् भक्तपुरमा ।”
विजुक्छेहरू भक्तपुरका निकै पुराना नेवारभित्रका पनि रैथाने उपजाति हुन् । सम्भवतः यी थरका नेवारहरूको जनसङ्ख्या निकै थोरै होला । मैले सञ्चारमाध्यममा बोलीरहने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र ती डोटेली विजुक्छे दाइको लवज तुलना गरेँ । नारायणमानमा भक्तपुरको माटोको खार भेटिन्छ भने डोटेली विजुक्छेमा डोटीका चुलीहरूबाट बयेली खेल्दै आएको सुदूरपश्चिमी लवजको स्वाद ।
आज देशमा फैलिएको, फिँजिएको औद्योगिकीकरणको अधिकांश स्वरूप तिनै नेवारहरूको योगदान हो भन्दा अत्योक्ति नहोला ।
देवेन्द्र दाइले एक चरण हर्न बजाएर मेरो ध्यान खिचे । सायद, अब सोध्ने पालो उनको थियो । नभन्दै उनले मतिर प्रश्न तेर्स्याए, ‘सरको घर दमकतिरै ?’
मैले आफ्नो ठाउँ र वतनको छोटकरी हुलिया बताएँ । त्यसपछि, उनीबाट अरू कुरा सोधनी भएन । उनी एकाग्र भएर मोटरको एक्सिलेटर थिचिरहे । दुवै हात गोलो स्टेरिङमा राखेर गतिमा सन्तुलन मिलाइरहे । मैले गाडीबाट बाहिर दृष्टि पुर्याएँ– अनन्त तन्किएको कालोपत्रे सडक छ । कात्तिक दोस्रो साता उकालो लागिसकेको हुँदा दायाँबायाँ खेतका फाँटहरूमा पहेंलपुर धान पाकेको छ; कति ठाउँमा धान काटेर पँज्याइएको, कतै खरइँ (कुनिउँ) लगाइएको ।
पक्की सडक र खेतीयोग्य फाँटहरू मित जस्तै शदियौंदेखि गाँसिएर बसिरहेका लाग्थे । यिनमा मान्छेमा जस्तै लोभ, मोह, रिस, राग, द्वेष वा वैमनष्यता देखिँदैनथ्यो । बरु उल्टै मानिसले नै यिनीहरूको अस्तित्वमाथि धावा बोलिरहेका छन् । मानव सभ्यतालाई जोगाउँदै, हुर्काउँदै यहाँसम्म ल्याएर उभ्याइरहन यी भुइँहरू र माटोले कति हिउँद–बर्खा र घामपानी सहे होलान् । यही भुइँलाई सास्ती दिएर अलकत्रा ओछ्याइएको पूर्व–पश्चिम राजमार्गमा म मज्जा मानेर गुडिरहेको छु ।
हिजो यो सडक महेन्द्र राजमार्गका नाममा खुब चर्चामा थियो तर आज विकास र समृद्धिको फुल पार्नेहरू, कोरल्नेहरू राजा महेन्द्र सुन्नै चाहँदैनन् । पूर्वबाट पश्चिम जान अर्थात् आफ्नै देशभित्र हिँड्न, गुड्न पनि हिजो भारतीय भूमि प्रयोग गर्नुपर्थ्याे । महेन्द्रले यो राजमार्ग निर्माण गरेर त्यो समस्या सधैंका लागि निर्मूल गरिदिए तर राजनीतिका आधुनिक चल्लाहरू उनलाई धारे हात लाएर थाक्दैनन् ।
इतिहासले भन्छ; राजा महेन्द्रले देश निर्माणमा गरेका यस्ता सयौं कामका सूची छन् । तिनै सूचीलाई एक–एक गरी भजाएर आजको व्यवस्थाको दानापानी चलिरहेको छ । हामी इतिहासलाई सरापेर थाकेका छैनौं । इतिहास भत्काएर समृद्धिको उकालो चढिरहेछौं । यसमा अचेल मलाई साह्रै विरक्त लागेर आउँछ; इतिहास बिर्सिनु, पुर्खा बिर्सिनु हो । बाबुआमालाई खोटी देखाउनु हो । आफ्नो जरो किलो भत्काएर ‘रुटलेस’ हुनु हो ।
हामी पुर्खाका धरोहरहरू मासेर कुन आधुनिक गजुर उभ्याइरहेछौं, थाहा छैन । हामीले बनेको इतिहासलाई जोगाउन सकेनौं । माक्किएका धरोधर टालटुल पारेर उभ्याउन जानेनौं । ‘हिजो’ जति नै गए गुज्रेको भए पनि बचाएर राख्नुपर्ने हो । के आउने पुस्ताहरूका लागि इतिहासको खण्डहरमात्र बाँकी राखिदिने ?
मैले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पुस्तकका केही अंश सम्झिएँ । त्यहाँ लेखिएको छ– ब्रिटिशकालीन भारतमा महाराजकृष्ण रसगोत्रा ब्रिटिशका अति नै विश्वासपात्र थिए । भारत स्वतन्त्रतापछि सबैले अनुमान गरेका थिए, रसगोत्रालाई सरकारले फाँसी दिन्छ तर तिनै रसगोत्रा पण्डित जवहारलाल नेहरूका विश्वासपात्र बनेर अन्त्यसम्म काम गरे । उनी पछि नेपालका लागि भारतीय राजदूतसमेत भए । यसको अर्थ, भारतले ब्रिटिशले स्थापना गरेको इतिहास र व्यवस्था भत्काएन । त्यही व्यवस्था र कर्मचारीतन्त्रको लिकमा विकासको रेल कुदाइरह्यो ।
यता, नेपालले इतिहास निमिट्यान्न पार्न खोज्दैछ । राणा र राजाका शालिक ढालेको छ । इतिहासले गरेका स्वर्णिम कामलाई धारे हात लाएको छ, सत्तो–सराप गरेको छ । कागजात च्यातेको छ, नीति नियम जलाएको छ । मलाई लाग्छ– अपवादबाहेक राजा महेन्द्रले स्थापना गरेको ‘पञ्चायती प्रजातन्त्र’ विकास निर्माणका हकमा स्वर्णकाल थियो तर बहुदलले यी संरचना भत्कायो । बहुदलले उभ्याएका संरचना र इतिहास द्वन्द्वको नाममा १० वर्षमा माओवादीले तहसनहस बनायो ।
अचेल म इतिहास पढेर कुँडिने गरेको छु; इतिहासको सम्मान गर्न नजानेकैले नेपाल शदियौंदेखि अविकासको कुचक्रमा फसेको छ ! थाहा छैन, अझै कति दशक वा शताब्दी यसरी नै फन्को मारिरहन्छ ।
…
मोबाइल बज्यो । सुरक्षित गरेको नाम स्क्रिनमा वारपार देखियो, प्रा.डा. गोविन्दराज भट्टराई ।
सोध्नुभयो, ‘भाइ कहाँ पुगियो ?’
गुरुको लयात्मक स्वरले मलाई सधैं उहाँतिर तानिरहेको हुन्छ । उहाँले मलाई काठमाडौंदेखि नै बाटोको नक्सा बताइरहनुभएको छ– “विराटनगर पुगेपछि दमक आउने बस चढ्नू । दमकमा गोर्खा डिपार्टमेन्ट स्टोरमा ओर्लेर फोन गर्नु । म लिन आउँछु ।”
अहिले पनि उहाँले उसैगरी आवाजमा बाटोको फोटो खिचेर पठाउँदै भन्नुभयो, ‘म लिन आऊँ कि अटो पठाऊँ ?’
मैले आफू आइरहेको गाडीको हुलिया बताएपछि गुरु ढुक्कले सास फेरेको अनुभूत गरेँ । उहाँले कुराको भाका जोड्नुभयो, ‘उसो भए, गोर्खा डिपार्टमेन्ट स्टोरबाट उत्तर आउने बाटो हुँदै भाङबारी दुर्गा मन्दिर आउनू, म त्यहीँ पर्खिरन्छु ।’
साता–पन्ध्र दिनदेखि हो, उहाँले मलाई त्यसरी बाटोको हुलिया बताएको । पटक–पटक नक्साङ्कन गरेर दिमागमा टाँसिदिएको । त्यो नक्सा दिमागले आँखा अगाडि राखेपछि मलाई बाटोको आकार प्रस्ट भइसकेको थियो ।
बिहान जहाज चढ्नुअघिदेखि अहिलेसम्म दर्जन पटक गुरुको आवाजले मलाई अह्राइरहेको छ । यी गुरुको मप्रति कत्रो पीर, कत्रो चिन्ता । कति गहन अभिभावकत्व ! सम्झेर म हरपल नतमस्तक भइरहन्छु । कहिले त आँखा सजल हुन्छन् । अनुजहरूप्रति अग्रजहरूको कत्रो ख्याल हुँदोरहेछ । शिष्यहरूले बाटो बिराउलान् भनेर गुरुहरूलाई कत्रो पिरलो पर्दोरहेछ । यो उमेरमा आएर बल्ल मैले गुरुको अर्थ र गहिरो मर्म घोइरोघोइरो बुझ्दैछु ।
म पहिलो पटक पूर्व आएको होइन । मेरा पैतालाले धेरै पटक झापा टेकेका छन् । नाकले दमकको धुलो सुँघेको छ । कानले पूर्वेली लोकबोली कण्ठ पारेको छ । माथि ताप्लेजुङ, पाँचथर र श्रीअन्तुदेखि पिङ खेल्दै ओरालो झर्ने हावाको स्वाद पनि चाखेको छु । अनेक पटक खबर खोज्दै भुटानी शरणार्थीहरू बसेका बाहुनडाँगी, बेलडाँगी, खुदुनाबारी पुगेकै हो । अर्जुनधारा, गौरादह, इँटाभट्टा हुँदै मेचीपुलसम्म धेरैचोटी पाइला नाचेकै हुन् ।
पत्रकारिताको भोकले खरो हुँदा खबर खोज्दै चारआलीबाट उत्तर मोडिएको छु । सुखानीको वनको बाटो माइखोलाको किनारतिर बन्दै गरेका जलविद्युत् आयोजना हेर्न उकालिएको छु । बरालिएको छु । मनमौजी खेल मैदानतिर हुर्रिएको छु । ती बेहोसी क्षण सम्झेर कहिलेकाहीँ आफैंलाई कुरीकुरी भन्न मन लाग्छ । यही कारण पनि, झापा मेरा लागि परिचित जिल्ला हो । यो हृदयभित्र स्नेहको दराजमा टुसुक्क बसेको छ । यहाँका धेरै ठाउँको नक्सा दिमागलाई मुखाखर छ ।
तर, आज मेरा लागि यो ठाउँ विरानो छ । यहाँ मेरा ती अघिका पैतालाका डोबहरू छैनन् । म नितान्त अतिथि बनेर भित्रिएको छु; यही भुइँ टेकेर कतै जाँदै गरेको बटुवा । आँखा, दिमाग र पैतालाले पुरानो अनुभूत गरे पनि दमकका लागि म नितान्त नयाँ अनुहार हुँ । किनकि, साहित्यको क्षितिज हेरेर लोभिँदै यतातिर पाइला हिँडाएको पहिलो पटक हो । सिर्जनाको यो गाउँमा मलाई कसैले चिन्दैन ।
म सिर्जनाको विद्यालयमा भावनाको बोरा ओछ्याएर कखरा सिक्दै गरेको बालक हुँ । यसैले, म गुरुको शरणमा गइरहेको छु । गुरुको न्यानो खोजिरहेको छु । उहाँको सान्ध्यिमा ‘क’को लौरो तान्न सिकिन्छ कि भन्दै लोभिएको छु । यद्यपि, उहिले होस् वा अहिले मेरा लागि झापामा एउटा कुरा अजम्बरी छ । त्यो हो, यहाँ टेक्ने बित्तिकै दिमागको रेडियोमा बजिरहने सिताराम ताजपुरियाको कालजयी लोकगीत:
गौरादहको बजारमा माया हाम्रो बस्यो
कसो गरी भुल्ने होला मन उडी भयो ।
…
गोर्खा डिमार्टमेन्ट स्टोर आइपुग्यो । हावासँगै उडिरहेको मन तान्न देवेन्द्र दाइले मतिर पुनः हर्नको अङ्कुसे फ्याँके, ‘सर, यहाँबाट कता पो हो ?’
नजिकैबाट उत्तर लाग्ने पक्की सडक छ । मैले देवेन्द्रलाई त्यतै सोझिन भनेँ । उनले स्टेरिङ घुमाए । यता, मेरो दिमाग अन्तै घुम्न हिँड्यो; दिमागले हावामा कावा खाइरहँदा गुरुको दुई चरण फोन आइसकेको थियो । मैले आउँदै गरेको जनाउ दिइरहेँ । गुरुलाई लागेको हुनुपर्छ– बाटो नचिनेर केटो नअल्मलियोस् । यो पिउसोप्रतिको गुरुचिन्ता जति सम्झ्यो उति भावना भुक्लुक्क उम्लेर आउँथ्यो; मन पनि गुरुनिवास पुग्न हतारिइरहेथ्यो ।
ताप्लेजुङको च्याङथापुबाट थातथलो उठाएर यता झरेको गुरु परिवारले यो भूमिलाई कति गुन लगायो होला । यी महान दार्शनिकको ज्ञानको सुवास यहाँको सेरोफेरो, रुख–पात, ढुङ्गा–माटो र हावापानीमा समेत पक्कै मिसिएको छ । यहाँको माटोका हरेक कणमा सिर्जना उमार्ने शक्ति होला । यहाँ उदाउने घामका हरेक किरणमा सिर्जनामा प्राण भर्ने ऊर्जा होला, यहाँ बग्ने हावापानीमा सिर्जना हुर्काउने तागत होला ।
म सोच्छु– कति भाग्यशाली छ, झापा । कति भाग्यमानी छन्, यहाँका मान्छेहरू । सायद, यो भूमिमा टेक्ने हरेकमा सिर्जना शक्तिको तरङ्ग उर्लिन्छ । अनि, ऊ यो बगैंचामा गीत, कविता, गजल, कथा, निबन्ध, उपन्यासजस्ता फूलका विरुवा रोप्दै जान्छ । तब न सिर्जनाको तिर्खामा रन्थनिएका भमराहरूले यतै पाइला मोड्छन् । एकछिन सुस्ताउँछन्, टहलिन्छन् र सुगन्ध पान गरेर बाटो लाग्छन् ।
झापा टेक्दा होस् वा गृहजिल्ला पुग्दा म धेरैले भट्ट्याइरहने त्यो सदियौंदेखिको काइ परेको कथन सम्झिन्छु– झापाली र स्याङ्जाली फटाहा हुन्छन्, बेइमान र धुर्त हुन्छन् । अझ स्याङ्जालीलाई व्यङ्ग्य गर्ने खालखालका उपवाक्य जोडिन्छ । चार वटा औंलाले बूढी औंलो छोपेर भन्ने गरिन्छ; स्याङ्जामा त कसैका घरमा बास बस्न गयो भने बूढी औंला लुकाएर सुत्नुपर्छ रे ! खाली कागजमै औंलाको छाप लगाएर पाहुनाको जग्गा पनि आफ्नै नाममा पास गरिदिन्छन् रे । यस्तो वाइह्यात किस्सा कसले रच्यो होला तर रच्नेको उट्पट्याङ दिमागलाई मान्नैपर्छ ।
अन्य जिल्लावासीसँग झापाली वा स्याङ्जालीको परिचय खोल्दा एक पटक आँखा चनाखा पार्ने वा व्यङ्ग्य गर्ने चलन गएको छैन । अझ स्याङ्जाली र झापाली एकै ठाउँ छन् र अर्को जिल्लाको अनुहार त्यहाँ उभिएको छ भने उसलाई व्यङ्ग्यको पसल थाप्न प्रशस्त मालसामान पुग्छन् । झन् अचेल त सुन्ने गरिन्छ- दश झापाली बराबर एक स्याङ्जाली दश स्याङ्जाली बराबर एक केपी ओली !
यी किस्सा, कथन वा उट्पट्याङहरू कसले, कुन कालखण्डमा जन्मायो ? केका लागि, कुन प्रयोजनमा वा स्वार्थमा प्रयोगमा ल्यायो ? सबै ठाउँ वा जिल्लामा धुत्र्याइँ र फट्याइँ गर्ने दुई–चार जना हुन्छन् । आफ्ना लागि बठ्याइँ गर्नेको कमी कहाँ नहोला ? तिनै दुई–चारलाई औंल्याएर सिङ्गो समाजलाई कलुषित बनाइएको हो त ? संसारमा कोही प्राणी पूर्ण हुँदैन । अपूर्णतालाई हतियार बनाएर यस्ता सामाजिक कथन सिर्जिएको हुनुपर्छ ।
न्याय अन्याय छुट्ट्याउने मामलामा सामाजिक विधिले भन्छ– दूधको दूध, पानीको पानी । एक टक लगाएर हेरिरह्यो भने दूधमा पनि कालो भावात्मक आकृति देखिन्छ । पानीमा अर्कै तरङ्ग उठेको हुन्छ । समयको थुप्कोमा यस्तै–यस्तै प्रसङ्गमा ती उक्तिहरू बने होलान् । बोल्नेले मज्जा मानेर बोल्दै आए; जसको छाप झापाली र स्याङ्जालीले बोकेर हिँडिरहनुपर्यो । यो कुन युगमा पुगेर मेटिएला वा मेटिएला कि नमेटिएला ?
त्यो नजानेको बाटो हिँडेर पनि के साध्य ? तैपनि, यी जिल्लावासीहरू दुःख गर्छन्, मिहिनेत गर्छन् । सङ्घर्षको बाँझो पल्टाएर, डल्ला फोरेर सफलता उत्पादन गर्छन् । यही सफलताको बाली लहलह झुलेको हेर्न नसक्ने एउटा कित्ताले त्यस्ता असामाजिक कथनहरूको बिउ राख्यो होला । अचेल, यसरी व्यङ्ग्य गर्नेलाई मेरो जवाफ हुन्छ– हातमा ठेला उठ्ने गरी श्रमको खेत जोतेर मिहिनेतको बाली लाउँछ, मनग्य आर्जन गर्छ । प्रतिफल कमाउँछ र त झापाली भयो ।
सङ्घर्षको नाके उकालो उक्लिने हिम्मत गरेर गन्तव्यसम्म पुग्छ । कतिपयले आँक्न नसकेको सफलताको उपल्लो हिमचुली टेक्न सक्छ र त स्याङ्जाली भयो । यसमा कसैले व्यङ्ग्यको गुलेली ताक्छ भने त्यो उसकै दुर्बलता हो । त्यस्ताले यो पनि सोच्नुपर्छ; व्यङ्ग्यको गुलेलीमा आरिसको मट्याङ्ग्रो राखे पनि त्यो कुनै समय आफूतिरै फर्किन्छ ।
यी सामाजिक कथन मत्थर पार्नकै लागि होला, स्याङ्जाली सर्जक ज्योति न्यौपानेले मीठो लोकदोहोरी गीत सिर्जना गरेका । जसमा खुमन अधिकारी र विष्णु माझीले सुरिलो कण्ठ मिसाएका छन्; जहाँ युवा र युवतीको सुन्दर प्रेम–व्यञ्जन छ:
युवा : स्याङ्जालीलाई नभन जाली
तिम्रो पनि सिँउदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली
युवती : झापालीलाई नभन जाली
तिम्रो पनि दिलमा ठाउँ खाली, लैजाऊ मलाई सिन्दुरै हाली
…
अर्को चरण हर्न बजाएर देवेन्द्र दाइले फेरि मेरो ध्यान खिचे । मैले भावनाको चङ्गालाई मनको लट्टाईमा बेरेर आफ्नै थन्कोमा पुर्याएँ । मोटर कच्ची बाटोमा धुलो उडाउँदै गुडिरह्यो । अहिले झापाको दमकमात्र होइन, भित्री क्षेत्रहरू पनि बजारमा रूपान्तरण हुँदै गएछन् । जताततै घरैघर, घरहरूले खेतीयोग्य मलिला फाँटहरू निचरिँदै गएका । ती फाँटहरूमा खाद्यबाली कम घरहरूको फसल बढी लगाएको देखिन्थ्यो ।
अगाडि एउटा चिटिक्क परेको मन्दिर देखियो । सायद, गुरुले भनेको दुर्गा मन्दिर यही होला । नभन्दै त्यहीँ नजिकै गुरु उभिइरहनुभएको देखेँ । देवेन्द्र दाइलाई ब्रेक लगाउन आग्रह गरेँ र मोटरबाट फुत्त ओर्ले । गुरुको त्यो दिव्य मुहार देखेर म हर्षविभोर भएँ । केटो बाटो नबिराई आएकोमा गुरुको मुखाकृति स्फटिक जस्तै चम्केको थियो । उहाँको मुस्कानले मलाई अँगालोमा बेर्यो । मैले गुरुका चरणमा शिर टेकाएँ ।
अपरान्हको ३ बजिसकेको हुँदो हो । घाम पश्चिम आकाशको गल्छेडोमा थकाइ मार्दै थिए; प्रकृति, सृष्टि र प्राणीहरूको लीला हेरेर । मेरा आँखै अगाडि ज्ञानको विशाल आकाशमा अर्को घाम झलमलाइरहेको छ । प्रदीप्तिको महाविद्यालयमा यो पिउसोले सिर्जनाको कखरा सिक्ला कि नसिक्ला ! पछिको कुरा जेसुकै होस्, अहिले भने भावनाले हृदयमा पिङ मच्चाइरह्यो । म शिष्य रूप धारण गरेर गुरुनिवास प्रवेश गरेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।