वैज्ञानिकहरू प्रकाशको तेज गतिलाई नाप्न सक्छन्, बिजुलीको प्रवाहलाई आँकलन गर्न सक्लान् तर भाव–वेगलाई नाप्ने, महसुस गर्ने वा त्यसलाई समयको साँचोमा ढालेर आफू अनुकूल विश्लेषण गर्ने ल्याकत पक्कै पनि राख्दैनन् । सायद, त्यस्तो अद्भूत चिजको आविष्कार यस धर्तीलोकमा प्रादुर्भाव भएकै छैन । यही भावसंवेगको अमृततुल्य बुटी हो, कविता; जसले मानवचोलाको घुम्तीमा टेक्ने लौरी, बोल्ने वाणी र दैनिकीको घट्टलाई घुमाइरहने काम गरेको हुन्छ । अझ, भावनाको आँभिझ्यालबाट विराट क्षितिजसम्म उज्यालो ज्योति फिँजाउने द्वीप हो, कविता ।
प्रकृतिको झंकार, मान्छेको ढुकढुकी र मानवीय संवेदनाभित्र छचल्किएको भाव–प्रवाहलाई समेत कविताको कसिमा राखेर बुझ्न सकिएला । खैर, विद्वान् समालोकहरूबीच कवितालाई बुझ्ने, लेखाजोखा गर्ने, खन्ने, कोतर्ने र उक्काउने गैंती आ–आफ्नै हुन सक्छ । पछिल्ला दशकमा कविता सिर्जना गर्ने, तिनलाई समालोचकीय दृष्टिले चिहाउने र फरक अस्तित्व खडा गर्नका लागि साहित्यको फराकिलो फाँट तयार हुँदै गएको छ । यही फाँटमा उभिएर फरक पहिचानको बीउ रोपेका छन्, प्रिय दुश्मनमार्फत कवि मिलन समीरले ।
भावनाको धरातल
शृङ्खला कविताको नाममा एउटै शीर्षकभित्र सिर्जित ३१ वटा कविताले कवितामा नयाँ आयामको विजारोपण गरेको देखिन्छ । दुश्मनलाई प्रेमको मायावी अँगालोमा कसेर उसको मनोभाव, मनोग्रन्थी र जीवनको गतिशीलता नियाल्नु भिन्नै प्रकारको सन्तृष्टि हुने रहेछ । यसरी मिलन समीरले कवितामा समाजका विविध अनुहारका व्यक्ति, प्रवृत्ति, प्रवृत्तिभित्रका सहायक र उप–प्रवृत्तिलाई हुँडलेर सतहमा ल्याउने प्रयास गरेका छन् ।
यी भावनालाई अर्मादीखोला तथा ज्याग्दीखोलाको कलकल, आँधीखोलाको उन्मत्त प्रवाह र कालीगण्डकीको सुसाइबाट निस्किएको मिश्रित धून भन्न सकिन्छ । यही धूनलाई टप्प टिपेर कवितामा लय भरेका छन्, उनले । आञ्चलिकताका दृष्टिले हेर्दा; गह्रौंकालीकाको आक्रोस, आलमदेवीको चिच्याहट वा पुस्तौं–पुस्तादेखि गजधम्म परेर उभिइरहेको भालु पहाड एवम् करादीखोलाको चञ्चलता पनि हुन्, प्रिय दुश्मनभित्रका भावहरू ।
समाज, संस्कृति, परम्परा, रीतिस्थिति र तिनैको तानमा अल्झिएर पाइला चालिरहेको एउटा विरासतलाई चुनौती दिने सामर्थ्य जुटाएका छन्; मिलन समिरले । देखेको सत्य, भोगेको सत्य र कल्पनातित सत्य केही पनि स्थिर छैन, रहँदैन; यो अनुहारलाई उस्तै देखाउने भ्रमको ऐना हो । जसले जीवनका अवयवलाई सादृश्यगत डोरीमा टाँगेर भ्रमको रहमा धकेलिरहेको हुन्छ । यसबाट बाहिर निस्कने प्रयास गर्नु नै जीवन–जगतको सत्यता हो; कवितामा यिनै भावहरू बडो मार्मिक ढंगले पोखिएका छन् ।
प्रिय दुश्मनले चोटिला मट्याङ्ग्रा बनाएको छ । भावनाको गुलेलीमा तिनै मट्याङ्ग्रा भरेर समाजका विसङ्गति, बेथिति, कुसंस्कार, विरोधी तथा आफ्नै नातागोता, छरछिमेकी र सँधियारहरूका टाउकामा ट्वाक्क–ट्वाक्क हिर्काउन सक्नु साँच्चै गज्जबको पाइन हो । यसर्थमा यो शृङ्खला कवितालाई मानवीय प्रवृत्ति जगतको गतिलो शल्यक्रिया हो भन्दा अत्योक्ति नहोला । यो कलाले कविलाई कविताको शिखरमा फरक पहिचानका साथ उभ्याउन सक्ने आधार तयार गरेको देखिन्छ ।
‘प्रिय दुश्मन’भित्र घोत्लिँदा
प्रिय दुश्मनहरू धेरैका प्रिय हुन सक्लान्, कतिका अतिप्रिय हुन सक्लान् र केहीका लागि सिउँडी हुन सक्लान् । त्यो पठन, मनन र हृदयंगम गर्दै परख गर्नेहरूको कलाले खुट्याउला । यद्यपि, मिलन समीरका कविताले दुश्मनहरूको किल्लामा धावा बोलेको छ, जीवनको पुरातन लौरो टेकेर घ्याङ्लिङको उकालो चढ्न खोज्नेहरूलाई नयाँ मार्ग खन्न प्रेरित गरेको छ र प्रगतिको आँधीखोला थुनेर दुवाली थाप्ने तथा मनचिन्ते भुरा बट्याउनेहरूप्रति झटारो हानेको छ ।
शृङ्खला–१ मा मनवीय चरित्रमाथिको प्रहार छ; जसमा म पात्र केन्द्रमा बसेर तीखो कटाक्ष गरेको छ । यस्तै, शृङ्खला–२ मा मानवीय अस्तित्वको चित्रण छ । मान्छेले मान्छेलाई हेर्ने, बुझ्ने एवम् मानवीय अहम्ताको लेखाजोखा छ । यसमा आफूलाई महान भनाउँदा खुसी हुने मान्छेले अरूप्रति सहानुभूतिको कणसमेत खर्च गर्न नचाहने प्रवृत्ति भेटिन्छ ।
शृङ्खला–३ मा मानवीय स्वाभावबीचको द्वन्द्व उद्घाटित छ । सुल्टो कुरा छ, उल्टो बुझाइ छ । शीतल छहारीको विरुद्ध चर्को घाम छ, मानवीय स्वर्ग र नर्कको तुलना छ । मधुरो घाम र पूर्णिमाको जून छ, खिया लागेको फलाम र अकबरी सुन छ । सम्बन्ध, मित्रता र सहकार्य छ; समग्रमा दुई मानवीय मुकुण्डोबीच आरोप–प्रत्यारोप छ ।
यसरी नै अघि बढिरहन्छ प्रिय दुश्मन; कहीँ जीवनका फराकिला राजमार्ग छन्, कहीँ साँधुरा गल्ली । अनेक मोड छन्, उकाली र ओराली छन् । जिउँदाको जन्ती र मर्दाको मलामी समेत छुट्ट्याउन नसक्ने बोधो मानवीय चरित्र छरपस्ट छ । त्यहाँ आगो र धूवाँ छ, पात्र र कुपात्र छन् । राजनीतिमा दाइँ गरेर स्वार्थको पराल चपाइरहने नेताको च्याम्बरमा आगो झोसिएको छ । अनि, एक बारको जुनीमा साथ दिने बाचा गरेकी प्रेमिकासमेत मिलन समिरको कलमले डामिनबाट जोगिन सकेकी छैन ।
कवितामा प्राकृतिक सत्यलाई यसरी बडो लयात्मक र ध्वन्यात्मक तवरले प्रवाहित गराइएको छ–
दन्किरहेको आगो
उम्लिरहेको पानी
हुरीसहितको हावा
र, चढिरहेको जवानी
सबैभन्दा खतरनाक हुन्छन् ।
प्रिय दुश्मनभित्र स्वार्थमा नुहाएको मानवीय प्रवृत्ति मात्र छताछुल्ल छैन, अरूको अस्तित्व स्वीकार्ने तथा मान्छेलाई मान्छे हुनुको यथार्थको चौतारीमा स्थापित गर्ने जमर्को समेत गरिएको छ । आजको मान्छे व्यभिचारको रसातलमा चुर्लुम्म डुब्दै गएको छ; यस्तो मान्छे मात्र सास फेरिरहेको मुढो बराबर हुन सक्छ– हो, यसैलाई समयको चेतनाले घस्याएर खास मान्छे बनाउन सकिने सम्भावना खोजिएको छ ।
समाजका खराब प्रवृत्तिहरूलाई निरन्तर सुधार गर्दै लैजान सकिने एउटा अठोट एवम् नराम्रोमा चेतनाको पाइन हालेर राम्रो बनाउन सकिने गतिशीलता शृङ्खला कविताको सबैभन्दा बलियो पक्षको रूपमा उभिएको छ । साथै, ३१औं कविताले संघर्षलाई उद्घाटित गरेको छ; आँधीखोलाको जस्तो अविरल बहावलाई आत्मसात गर्दै अर्को जीवनको परिकल्पनासम्म पुगेको छ ।
यो जिन्दगीको चिहानबाट अर्को जिन्दगीको बिहानसम्म पुग्ने दृढ संकल्प गर्नु प्राकृतिक चक्रको गतिशीलता मात्रै होइन परिवर्तनको शंखघोष पनि हो । यसर्थमा, आँधीखोलाको प्रवाहले बाटो फाराकिलो बनाउन छेउकुना हान्न थालेको रूपकको रूपमा समेत बुझ्न सकिन्छ, प्रिय दुश्मनलाई ।
अलग भावधारा
पछिल्लो दशकमा कविताका अनेक बान्कीहरूको जन्म भएको छ । लयत्मकता र गेयत्मकताको बाँध भत्किँदै गएको छ । हामी समयको पुल तरेर पारि पुग्दैछौं, उकालो चढेर देउरालीमा सुस्ताएका छौं र वरपीपलका पातमा झुलिरहने बतासको भाका टिपेर कविता उन्न थालेका छौं । यो भनेको कविताको वायुमण्डलमा सिर्जनाले ताकेको नयाँ क्षितिजको उडान हो भन्ने लाग्छ । यद्यपि, केही कविताहरूको समूह लय र धुन दिन नसकेको पुरानो मादलमा खरी फेर्न नमानेर त्यतै अल्मलिँदै रोदिघर कुरिरहेका देखिन्छन् ।
देशभित्रै सिर्जना हुने कविताहरूले स्वच्छन्दताको आकाशमा उत्तरआधुनिक चल्लाहरू कोरल्न थालेका छन् । ‘प्रिय दुश्मन’मा पनि मिलन समिरले आँधीखोलाको परिवर्तित पानीका थोपामा कलमको निप दगुराउने हिम्मत गरेका छन् । आगोसँग खेल्नु वा पानीका थोपामाथि दगुर्नुको पानीचित्र कतिको भयानक हुन्छ; त्यो कविले पक्कै हेक्का राखेका छन् ।
‘प्रिय दुश्मन’ले ‘दुश्मन’हरूलाई हृदय–चौतारीमा आमन्त्रण गरेको छ; सँगै बसाएको छ । मुसारेर उसको आवरणमा आकर्षणको अत्तर छर्केको छ, लट्ठ्याएको छ र उसका अंगप्रत्यगंको जटिल शल्यक्रिया गरेको छ । ‘प्रिय दुश्मन’ मिलन समिर आफैंप्रतिको व्यंग्य हुन सक्छ, उसका साथी–संगाती, छरछिमेक, वरपरका, तलमाथि, वारिपारि, उत्तर–दक्षिण जताको पनि हुन सक्छ । त्यो आफ्नै अग्रज, अभिभावक वा कुनै समय भर्याङ हालिदिएर माथिल्लो चोटामा पु¥याइदिने वा माझी बनेर जंघार तारिदिने सम्मानित अनुहार पनि हुन सक्छ ।
कविताको केन्द्रीय पात्रले छरछिमेक, टोल र नगरका कसैलाई हुँडल्न बाँकी राखेको छैन । हामी समाजकै उपज हौं, समाजलाई सिर्जनाको फूलबारी बनाउने र काँडेघारीको जंगल बनाउने पनि हामी नै हौं । भावनाको खन्तीले त्यति तलसम्म पुगेर नखनेको भए हुन्थ्यो कि । कहीँ–कहीँ अलि बढी नै सोझो विद्रोह र उत्तेजना मिसिएको पाइन्छ । कविताहरू मौन विद्रोहका प्रतीक हुन्, विद्रोहमा सिर्जनाका नवीन अलंकार जडेको भए गज्जबै हुन्थ्यो ।
यद्यपि, ‘प्रिय दुश्मन’भित्र शब्दहरू हाँसेका छन्, आँधीखोले झ्याउरेमा नाचेका छन्, कहीँ आक्रोसित छन् त कहीँ कोच्चिएर उकुसमुकुस देखिन्छन् । खाँदिएका, चाङ लागेका शब्दहरूलाई थोरै फिँजारेको भए, खुकुलो छोडिदिएको भए तिनलाई सास फेर्न सजिलो हुन्थ्यो कि ! केही कविताहरू निकै लामा छन् । ती पट्यारलाग्दो यात्राका साक्षी हुन् कि झैँ लाग्छ; जति–जति तेस्रो हिँडे पनि बाटो छोटिँदैन, उकालो मेटिँदैन, ओरालो टुगिँदैन । ती अर्मादीखोला, आँधीखोला वा ज्याग्दीखोलाबाट कालीमा मिसिएर उसको लम्बाई नाप्न हिँडे जस्तै लाग्छ । ज्याग्दी र आँधीलाई राम्दीतिरै रोकेर राम्दीको पुलमाथि एक–एक स्न्याप बान्की परेको सेल्फी खिच्न लगाएको भए हुन्थ्यो ।
आजको मान्छेमा धैर्यता छैन, त्यो मान्छे पाठक हो । उकालो हिँडेर डाँडाको चौपारीमा पुग्दा पीपलका पातले हम्केको शीतलताको स्वाद नपर्खी फेरि कुदिरहन्छ आफ्नै लुते धन्दामा । कहीँ–कहीँ पाठकलाई अड्याउने थुम्की बनाउन प्रिय दुश्मनले कन्जुस्याइँ गरेको छ ।
कल्पदोष
सत्य त्यो मात्रै हो, जुन दृष्टिले नाप्न सकेको होस् । क्षितिजभन्दा पर कयौं क्षितिजहरू छन् भनेर मनन् गर्न सक्नु नै परिवर्तन, विनिर्माण वा उत्तरआधुनिकता हो । यहाँनिर, प्रिय दुश्मनले आफ्नो धर्म निर्वाह गर्न चुकेको जस्तो लाग्छ । कतिपय अनुमान नगरिएका केही कटु सत्यहरू भेटिन्छन्, जसमा कविको सुझबुझको कमी वा कल्पनाको बेप्रवाह उडान महसुस सकिन्छ ।
जस्तोः शृङ्खला–३ को एक हरफमा म पात्रले बोलेको छ– तिमी मलाई धर्ती झैँ दास सम्झिन्छौ ।
धर्ती कहिल्यै दास हुन सक्दिनन्, उनी त सृष्टिकर्ता, पालनकर्ता तथा आफ्नो छातिमा टेकाएर संसार देखाउने प्रकृतिकी अदभूत प्रतिमा हुन् । यस्तै, शृंखला–५ को मध्यअनुच्छेदको एक हरफले बोलेको छ– पापिनी आमाको गर्भमा विवेकहीन बाबुले रोपिदिएको बिउबाट …
शास्त्रले पढाएको छ- जति नै दुच्छर भए पनि आमा पापिनी र बाबु विवेकहीन हुँदैनन् । राष्ट्रकवि माधव घिमिरेले काव्यमै कथेका छन्– देशभक्ति त भर्दैन चुथ्थै देश भए पनि । पूर्वीय सभ्यताले देशलाई बाबु र आमालाई धर्ती मानिआएको अवस्था पनि छ । यसर्थमा पनि पापिनी आमा र विवेकहीन बाबु कसरी हुन सक्लान् ?
व्यभिचारीहरूको कारखानाको हिसाबकिताब त कसले निकाल्न सक्ला र, तर प्राकृतिक नियमको बन्धनमा कुनै पनि आमा पापिनी र बाबु विवेकहीन हुनै सक्दैनन् । यो जगत वा सृष्टिकर्ता नारीमाथिको यति कठोर प्रहारले देखाउँछ, कविले आफ्नो कल्पनाको वायुपंखी घोडाको लगाम खिच्न नसकेको त होइन ?
कतिपय कविताभित्र सिर्जनाका कलिला बेर्नाभन्दा गालीका शृङ्खला ज्यादा भेटिन्छन्; यी पनि कविका कल्पदोषकै उपज हुन् भन्ने लाग्छ । कल्पनाको आँधीखोलालाई समयमै हेक्का राख्न नसकेर हुन सक्छ, म पात्र कहीँ–कहीँ देवता बनेर उभिएको छ । पर्वत बनेर ठडिएको छ र अरूलाई पुड्के, मरन्च्याँसे र लिलिपुट देख्छ । म विश्वको महान, मलाई बुझ्नुपर्थ्यो तर कसैले बुझेन भन्ने भाव पनि पानीमा तेल तैरिएजस्तै प्रस्टसँग तैरिएका छन् ।
अर्कोतिर, बाल मतलब, काट्टो, सौताको रिसले लोग्नेको अनुहारमा पिसाब गरिदिने … यस्ता शब्दावलीले कविताको वजनलाई हलुका बनाएका छन् । कविताको भाषिक मधुरसमा पातीको झोल खन्याएका छन् । खैर पातीको झोल जडिबुटी हो, ओखती हो तर ओखती मान्छेलाई कहाँ स्वादिलो लाग्छ र ! कति ठाउँमा धारावाहिक भावहरू बगिरहँदा च्वास्स घोच्ने काँडा उम्रेका छन् । तिनलाई सिर्जनाकै भावधारामा बग्न दिएको भए कस्तो हुन्थ्यो वा त्यतिविधि छुच्याइँ नगरेको भए पनि हुन्थ्यो होला ।
समाज इतिहासलाई कुल्चेर अग्रगमनको पथमा लम्किन सक्दैन, त्यस्तै पुर्खालाई सरापेर उन्नतिका खुट्किला उक्लिन कदापि सकिँदैन । शृङ्खला–२१ मा तिम्रै पापी पुर्खाहरूले … भन्ने वाक्यंशले पुर्खाहरूलाई अनादर गरेको त ठहरिँदैन ? साहित्य समाजको दर्पण हो भने पुर्खाहरू कसरी पापी हुन सक्लान् ? किनकि, हामी तिनैका पदचापको निशानीमा टेकेर उन्नत र उत्तरआधुनिक समाजको सिर्जनामा जुटिरहेका हुन्छौं ।
फेरि, शृङ्खला–२४ मा बाजेबज्यैको विरासतलाई उपल्लो दर्जामा राखिएको छ । कहीँ पुर्खालाई पापी भन्नु र कहीँ तिनैलाई ससम्मान हृदयको सिंहासनमा विराजमान गराउनुले कल्पनाको उडान र तथ्यबीचको सन्धि खुस्किएको छर्लङ्गै देखिएको छ ।
शृङ्खला–२५ मा सूर्यलाई अहंकारसँग तुलना गरिएको छ । सूर्य देवता हुन्, अझ शक्तिका प्रतीक हुन् । यी यस ब्रह्माण्डलोकमा प्राणीका संरक्षकसमेत हुन् । यिनलाई अहंकारको आगोसँग दाँज्नु त्यति न्यायिक हुँदैन होला । उता शृङ्खला¬ २७ मा प्रयुक्त लाटीले केरा हेरे झैँ … भन्ने वाक्यांशले आवाजविहीनको मानमर्दन गरेको त होइन ? परा-उत्तरआधुनिक समाजको सिर्जनामा गोलबद्ध भइरहँदा संविधान प्रदत्त अधिकार र दण्डनीय व्यवस्थाको पनि हेक्का राख्नुपर्ने हो कि ! अतः प्रशोधित तथ्यबिनाको कल्पनाले पनि सिर्जनाको फाँटलाई उर्भर बनाइरहन नसक्ला ।
पुछारतिर
यसो भनिरहँदा, जे जसरी खोतलखातल पारे पनि मिलन समीर र उसको प्रिय दुश्मनले भर्खरै आरनमा अर्चापेको गैंती बोकेको छ र कविताको फाँट खनेर त्यहाँ नयाँ बीऊ छर्न खोज्दैछ । टन्टलापुर घाममा असिनपसिन हुँदै एक्लै कस्सिएको छ । उसले त्यो फाँटमा आफ्नै दौराको फेर च्यातेको छ, भोटो उधारेको छ, आफैंलाई उखेलेको पनि छ । आफैं उखेलिएपछि अरू बाँकी रहनु/नरहनुको कुनै अर्थ हुँदैन । आफूलाई नंग्याउनु भनेको समाजको सपाट चित्रण गर्नु हो; सामाजिक कु–प्रवृत्तिहरूलाई उखेल्नु हो र नयाँ संरचनाको जग खन्ने प्रयत्न गर्नु हो । यो सिर्जनाको नयाँ आविष्कारतर्फको गति पनि हो ।
मिलन समीरले कविताहरूको बस्तीमा आगो झोसेर हिँडेको छ; पानी खन्याउनेहरूको लाइन लामो हुन सक्छ । सत्य के हो भने, पानीका अगाडि आगो निभ्नैपर्ने हुन्छ; कमजोरै हुनैपर्छ तर ऊ तातो ज्वाला भएर होइन लुम्बनीमा बलिरहने शान्तिद्वीपझैँ एकनाश बलिरहनुपर्ने बाध्यता छ । प्रिय दुश्मन त्यो शान्तिद्वीप जस्तै शालिनरूपमा उज्यालिइरह्यो भने त्यसले पक्कै कविताको शिखरमा नयाँ उचाइ कायम गर्दै जानेछ र निर्माण गर्नेछ एउटा फरक अस्तित्वको चुली । त्यो चुली टेकेर पुनः आउने पुस्ताले नयाँ चुलीका लागि यात्रा सुरु गर्नेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।