विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोकथाम गर्ने हेतुले सरकारले दोस्रो किस्ताको बन्दाबन्दी घोषणा गरेको दोस्रो दिन अर्थात् ७६ साल चैत २६ गते-
घामका कलिला किरणले पालुवा हालिसकेका थिए । बिहानको अल्लारे बतासले घरी-घरी कानमा जिस्काइरहेथ्यो । म कीर्तिपुर नयाँ बजारको घुम्ती काटेर ओरालो झर्दै थिएँ । मान्छे कताकति पैदल हिँड्दै थिए ।
मन चङ्गा थियो, तनमा स्फुर्ति । त्रिभुवन विश्वविद्यालयतिरबाट ‘मर्निङ वाक’ गर्दै आएको हावाले समेत कानमा सुम्सुम्याएको थियो । यही हावाले छोएको हुँदा पनि मेरो मन बढी नै उत्फुल्ल थियो । नयाँ बजारको गेट उछिनेर अगाडि जान खोज्दा त्यहाँ उभिएका प्रहरी भाइले रोक्दै भने- लकडाउनको बेला कता ?
‘ओठबाट आवाज फुस्कियो, ‘यसो बिहानको चिसो हावा फोक्सोभित्र हुलौँ कि भनेर हजुर !’
मेरो बोली सुनेर प्रहरी भाइ जङ्गिए, ‘अब घरमा गएर थपक्क बस्ने । के-के हुल्न पर्ने हो त्यहीँ हुल्ने ।’
बेफ्वाँकमा प्रहरी भाइ रिसाएको देखेर मलाई पनि रमाइलै लाग्यो । उनीसँगको संवाद लम्ब्याउने ध्याउन्नले अटेर गर्दै म गेटसँगै टाँसिएर उभिएँ ।
गेटको माथि ठूलो अक्षरमा लेखिएको थियो, ‘तपाईंहरूलाई कीर्तिपुर नगरपालिकामा स्वागत छ ।’
मैले कुराका फुल पार्दै गएपछि प्रहरी भाइ मत्थर भए । अनि, एकैछिनमा मजासँग गफिन थाले । यति भएपछि म उनकै अनुमतिले गेट कटेर तल्तिर जान सक्थेँ तर गइनँ ।
सोचेँ, ‘यी भाइको पेसाको पनि मानमनितो राख्नुपर्छ ।’
यतिकैमा तीनकुनेबाट एक हूल मान्छे उकालो हिँडिरहेको देखेँ । त्यो हूलमा ६-७ वर्षको बालकदेखि ७० वर्षे बृद्धासम्म थिए । उनीहरू कसैले पछाडि झोला भिरेका । कसैले तन्नामा पोको पारेका लुगा काँधमा बोकेका । कसैले भारीसँगै पानीका बोतल झुन्ड्याएका थिए ।
एउटी बूढी आमाको हातमा लौरो थियो । उनी त्यही लौरोको सहारामा सकी नसकी पाइला चालिरहेकी थिइन् । १६-१७ जनाको त्यो डफ्फा प्रहरीहरू उभिएको छेवैमा पुग्यो । अघिका प्रहरी भाइले उसैगरी केरकार गरे, ‘कहाँ जान हिँडेको ?’
प्रहरीको सोधाइपछि सबै झस्के । केहीबेर मौन रहेपछि एक जना अधबैंशेले भने, ‘घर जान हिँडेको सर ।’
प्रहरी भाइले अलि नरम स्वरमा सोधे, ‘कहाँबाट आएको ?’
‘सिन्धुपाल्चोकबाट’
फेरि प्रश्न आयो, ‘कहाँ हो घर ?’
उभिएका सबैजसोले एउटै आवाज निकाले, ‘सल्यान !’
‘के हिँडेर पुग्ने सल्यान ?’
प्रहरीको यो प्रश्नपछि त्यहाँ सन्नाटा छायो । कोही केही बोलेनन् । बूढी आमा थचक्क भुइँमा बसिन् । सानो बालकले बोतलबाट ठाडो घाँटी लाएर घटघट् पानी पियो । र, आफ्नी आमाको गुनियो समातेर सुस्तरी भन्यो, ‘भोक लायो ।’
अब कलिला घामले हाँगा हालिसकेका थिए । तिनमा शितलता कम तातोपना बढ्दै थियो । घामका किरणले भुइँको धुलो तताउँदै थिए । सायद, धुलोले पनि उखुम गर्मी महसुस गरेको थियो । एक चरण चिसो हावा मेरा कानलाई जिस्क्याउँदै विश्वविद्यालयभित्र दौडियो ।
‘जाउँ सर । जहाँसम्म पुगिन्छ । भाग्यमा बाँच्न लेखेको रैछ भने पुगिएला ।’
निस्तब्धता चिरेर आएको यो पुरुष आवाजले प्रहरीका ओठ बन्द भए । तिनले कुनै प्रतिक्रिया जनाएनन्, न जाऊ भन्न सके ।
ड्युटीमा रहेका प्रहरी अफिसरले अघिदेखिका कुराकानी, एकैछिन त्यहाँ खसेको शून्यता र आगन्तुकका गतिविधि नियालिरहेका रहेछन् । उनी आफ्ना सिपाहीलाई पन्छाउँदै अगाडि आए । र, भने, ‘तपाईँहरू यो बाटो जानुस् । यहाँबाट कलङ्की पुगिन्छ । त्यहाँ ड्युटीमा बसेका प्रहरीलाई भन्नुस् । उनीहरूले बाहिर जाने ट्रक वा कुनै गाडी रोकेर पठाइदिन्छन् ।’
ती प्रहरी अफिसरले देखाएको बाटो विश्वविद्यालय घेर्न बनाइएको पर्खालको किनारै किनार थियो । तर, दुई जना लाेग्नेमान्छेले नयाँ बजारको उकालो चढेर गुम्बाको बाटो हुँदै जाने इच्छा देखाए । किनकि, उनीहरूका दुई अगुवा साथी अघि नै त्यही बाटो लम्किसकेछन् । अगाडि लम्केकाहरू कहाँ पुगे ? त्यसको हेक्का उनीहरूलाई थिएन । मात्र गुम्बाको बाटो हुँदै जाने कुरो दोहोर्याइरहे ।
प्रहरी अफिसरले अलि कडै स्वरमा भने, ‘त्यो होइन । खुरुखुरु यो बाटो जानुस् । दुख हुँदैन । किन बेकारमा दुःख पाउनुहुन्छ ?’
उनले फेरि आफ्ना सिपाहीहरूलाई अह्राए, ‘ए केटा हो, त्यहाँबाट दुई-चार कार्टुन पानी ल्याओ । बिस्कुट, अरू खानेकुरा के छ ल्याऊ ।’
सिपाहीहरूले हाकिमको आदेश पालना गरे । नजिकैको पसलबाट पानीका कार्टुन ल्याएर पथिकहरूलाई बाँडियो । धेरैले घट्घट् पिएर एक-एक बोतल पानी त्यहीँ रित्याए । केहीले आधा तुरे । बाँकी एक-एक बोतल आ-आफ्ना झोलामा कोचे ।
प्रहरीहरूले बिस्कुट र चाउचाउ पनि ल्याएर बाँडे । एकैछिन ती सल्यान जानेहरूको अनुहार उज्यालो देखियो, गोधुलीमा अस्ताउन लागेको घामले मुख देखाए झैँ । प्रहरीको सहयोगले पैसा नभएका र श्रम गुमाएर गाउँ फर्केका अनुहारमा एक चिम्टी भए पनि आँट बढाएको थियो ।
‘प्रहरी मेरो साथी’ भन्ने भनाइ यहाँ चरितार्थ भएजस्तो लाग्यो, मलाई । मेरो मन पनि केहीबेर विश्वविद्यालयभित्रका लहरेपीपलतिर पिङ खेल्न पुग्यो-
अलि परै उभिएका दुई महिला प्रहरीले मुखामुख गरे, ‘विचराहरूले कहिलेदेखि पानीसम्म खान पाएका रैनछन् ।’
ती प्रहरी दाजुभाइ बहिनीहरूको पनि घर होला । बाबु-आमा, आफन्त होलान् । कतिका श्रीमती छोराछोरी होलान् । कति लोग्नेको माया कल्पेर ‘डिउटी’ गरिरहेका होलान् । यो कोरोना कहरमा तिनलाई पनि त घर र आफन्तको न्यास्रो लागेको होला ! न डिउटीबाट उम्केर जान सक्छन्, न त चरो जस्तै भुरुरु उडेर जान र उतिखेरै फर्खेर आउने सामथ्र्य हुन्छ, यो युगमा ।
…
पानी, बिस्कुट र चाउचाउ खाएर केही तङ्ग्रिएजस्ता देखिएका अनुहार जर्याकजुरुक उठे । आ-आफ्ना झोला, कुम्ला-कुटुरा र पोका बोके । बालकलाई उसकी आमाले सानो झोला बोक्न दिइन् ।
उनीहरू प्रहरीले देखाएको बाटोतिर सोझिए । उनीहरूसँगै मिसिएर मैले भनेँ, ‘आउनुस् तपाईँहरूलाई कलङ्कीसम्म म पुर्याइदिन्छु ।’
नयाँ बजारको ओरालो छोडेर एउटा तेर्सो बाटो ट्याङ्लाफाँटतिर सोझिन्छ । मैले त्यही बाटोतिर पाइला अगाडि बढाएँ । अब म उनीहरूको बाटो देखाउने अगुवा भएँ । मलाई समूहले पच्छ्यायो । बूढी आमा पछाडि थिइन् । बालकलाई उसकी आमाले ‘छिटो हिँन्’ भन्दै घिच्याउँदै थिइन् । दुई अधबैँसे मसँगै हिँडिरहेका थिए । तिनको नाम दुर्गाबहादुर र दानबहादुर बुढा मगर रहेछ ।
मैले सोधेँ, ‘के काम गर्नुहुन्थ्यो सिन्धुपाल्चोकमा ?’
‘त्यै हाइड्रोमा काम गथ्र्यो सर । हाइड्रो पनि बन्द भयो । खान पनि पाएन । त्याँ बसेर मर्नुभन्दा घरै गएर मरम्ला भनेर हिन्यो सर ।’, दुर्गाबहादुरले भने ।
बुझ्दा, उनीहरू माथिल्लो बलेफी जलविद्युत् आयोजनामा काम गर्न गएका रहेछन् । त्यहीँ काम गर्ने सल्यानको एउटा ठिटाले एक हुल गाउँलेलाई मजदुरी गर्न त्यहाँ ओरालेको रहेछ ।
एक मन खुसी पनि लाग्यो- पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । तिनले रोजगारीको ढोका खोलेका छन् । केहीहदसम्म घरबारी बन्दकी राखेर अरबको मरुभूमितिर उचालिएका पाइला रोकिएका छन् । यसले विकासको लिकमा सानै भए पनि इँटा थपेको हो कि भन्ने अनुभूति भयो ।
अर्को मन सोच्छु- साराका सारा गाउँले यसरी उठेर हिँडेपछि तिनको अलिअलि भएको खेतबारी बाँझियो । धान, मकै, कोदो, फापर फल्ने बारीमा झ्याङ, झाडी र बुट्यान फल्यो होला । घर-गोठ गर्ने गोरेटो पुरानो भयो होला । लेक-बेँसी, वनपाखा, घाँसदाउरा गर्दा हिँड्ने गोरेटाहरू पुरिए होलान् । कता-कता सभ्यता, परम्परा र गाउँको मौलिक रीतिथितिमा पनि खिया लाग्यो होला ।
सहरमा रोजगारीका बाटाहरू खुल्दै जाँदा गाउँहरू उठेर त्यतै झर्छन् । जहाँ रोजगारी छ, बाँच्नका लागि त्यताको बाटो नसमाते अस्तित्व जोगिँदैन । रोजगारी, शिक्षा, स्वास्थ्य र अरू सुविधाले गाउँलाई सहरले तान्छ । यस अर्थमा सहर चुम्बक हो, गाउँ फलाम । यही कारण गाउँको भिरालो पाखो छोडेर बजार झर्नेको लर्को छ, अचेल ।
देशमा विकासका गतिविधि चलायमान हुँदा गाउँ र सहरबीच कसरी तादम्यता मिल्न सक्ला ? गाउँका खेतबारी, वनपाखा, त्यहाँको संस्कार, लोकगीत र लोकसंस्कृति पनि जोगिने र काम खोज्नेहरू काम सकेर फेरि त्यतै फर्किने बाटो के होला ?
समाजशास्त्रभित्रका यी उपरिसंरचनाले निकैबेर मेरो मथिङ्गल हल्लायो ।
काठमाडौँको कुनै एक तारे होटलमा एक पटक वैदेशिक रोजगार र श्रमसम्बन्धी अन्तरक्रियामा पूर्वअर्थ सचिव डा. भोला चालिसेले भनेको कुरा झ्वाट्ट दिमागमा खेल्यो । ‘साउदी, कतार र अरबका भूमिमा रगत पसिना बेच्ने युवाहरूको लस्कर अब रोक्नुपर्छ’ भन्ने बहस चलिरहँदा चालिसेले भनेका थिए, ‘नेपालका खेतबारी कचौरा र डाडु जत्रा छन् । त्यहाँ के फल्छ र के खाने ? कसरी पेट पाल्ने ? भोको पेटले कतिन्जेल बाँच्न सक्छ मान्छे ?
चालिसे आज छैनन् तर उनका यी प्रश्नका चुच्चाले दिमाग घोचिरह्यो ।
…
मैले दुर्गाबहादुरलाई सोधेँ, ‘कहिले हिँड्नुभयो सिन्धुपाल्चोकबाट ?’
उनले जवाफ दिए, ‘अस्ति हिनेको सर ।’
‘बाटोमा के खानुभयो ? बास कहाँ बस्नुभयो ?’
दानबहादुरले भने, ‘त्यै, चिउरा खायो सर । दालमुठ पानी खायो । जहाँ रात पर्यो त्यैँ सुत्यो, यसो रुखको फेद खोजेर ।’
ती सल्यानका मगर समुदायको बोलीमा सल्यानी लवज प्रस्ट झल्किन्थ्यो ।
ती दुईलाई अगाडि जान छोडिदिएर म केहीबेर उभिएँ । मेरो नजिक बालक घिच्याउँदै तिनै महिला आइपुगिन् । उनी दुर्गाबहादुरकी श्रीमती रहिछन्, बालक उनको छोरो । सबैभन्दा पछाडि लौरो टेकेर हिँडेकी आमा यिनकी सासु रहिछन् ।
कमाउन हिँडेका दुर्गाबहादुरले गोठै बोकेर आएका रहेछन् ।
मनभित्र अनौंठो छटपटी भयो । यी अबोधहरू कसरी, कहिलेसम्म आफ्नो घर पुग्लान् ?
हिँडेरै सल्यान पुग्ने उनीहरूको अदम्य साहसलाई नमन गर्न मन लाग्यो । रात्री बस चढेर सहर अर्थात् कामको खोजीमा हिँडेका उनीहरूलाई काठमाडौंदेखि सल्यानसम्मको दूरी कति छ भन्ने हेक्का समेत नहोला ! सल्यानमा पनि उनीहरूको गाउँ-ठाउँ कुन होला ? बजारबाट गाउँ वा घर पुग्न कति दिन पैताला खियाउनुपर्ने होला ।
साँच्चै हिँडेरै, ती आफ्नो स्थायी गुँडसम्म पुगे भने उनीहरूको हालत के होला ? ती बूढी आमा । त्यो अबोध बालक । आफ्नो थलो सम्झिँदै हिँडेका जवान, अधबैंशेको हाल कस्तो रहला !
सम्झेर मेरो छाति भुक्क भयो । भावना यसरी रसाएर आयो कि मैले पर्खालपट्टी फर्केर आँखा पुछेँ । त्यो सुदूरयात्रामा हिँडेका बटुवाभन्दा म कति कमजोर रहेछु । मैले बल्ल त्यतिबेला आफ्नै आत्मबलको परीक्षा लिएँ । आफू परीक्षामा सोझै ‘रेस्टिकेट’ भएको अनुभूति भयो ।
मलाई यतिबेला साहित्यकार इन्द्रबहादुर राईको कथा जयमाया आफूमात्र लिखापानी आइपुगीकी पात्र जयमायाको याद आयो । कथामा दोस्रो विश्वयुद्धताका बर्माबाट पहिचान खोज्दै जीवन-रक्षाका लागि लखेटिएको एउटा नेपाली बस्ती यात्रामा छिन्नभिन्न हुन्छ । सुबेदार शिवजित राई, बाघवीर मुखिया र गर्जमान लिम्बुहरू यात्रामै अलप हुन्छन् । अन्त्यमा, सुबेदारकी छोरी जयमाया मात्र बाँचेर आसाम लिखापानी पुग्छे ।
यी सल्यानीहरूको हाल कतै यस्तै हुने त होइन- शरीरभरि भररर काँडा उम्रे । यो कोरोना महाव्याधि विश्वयुद्धभन्दा चर्को भएर आयो कि !
त्यो सानो बालक अहिले मसँगै टाँसिएर हिँडिरहेको थियो । मैले नाम सोधेँ । फुर्तीसाथ उसले भन्यो, ‘रियान्स बुढा मगर ।’
ओहो ! ग्रामीण परिवेशमा जन्मे हुर्के पनि बा-आमाले अब छोराछोरीको नाम आधुनिक राख्न थालेछन् । यो समयले ल्याएको परिवर्तन होला । बाटो, फोन, इन्टरनेटको पहुँचले सुदूर गाउँका मान्छेले समेत आधुनिक चल्ला कोरल्न सिकेछन् ।
बेलाबेला गाउँ, सहर र लाहुर वा मुग्लान जानेआउनेको चालचलनले पनि गाउँलेले उत्तरआधुनिक अत्तर छर्केको हुनुपर्छ । त्यो आधुनिक रङरोगनको अर्थ, औचित्य र महत्व सायद उनीहरूले कहिल्यै भेउ पाउँदैनन् होला ।
नामको बिचमा हल्लिइरहने घडीको लङ्गुरजस्ता बहादुर, कुमार, प्रसादहरू अब समयको इरेजरले मेट्दै लैजान्छ होला । समयको एउटा कालखण्डमा एकाक्षरीय नाममात्र प्रचलित हुन सक्छ । त्यतिबेला, यी बहादुर र कुमारहरूको महत्व होला कि नहोला, आज संसारमा अस्तित्वमा नरहेको डायनोसर जस्तै ।
…
समूहले विश्वविद्यालयको पर्खालको किनार हिँडेर सक्यो । मैले उनीहरूलाई विश्वविद्यालयको एमफिल भवनतिर डोर्याएँ । भवनको अलि पर शिवालय मन्दिर छ । नजिकै हरियो भरिलो पीपलको रूख छ । रूखमा सेतो धागो फन्फन्ती बेरेको छ ।
मैले ती महादेवसँग बिन्ती गरेँ- यी सल्यानीहरूलाई कम कष्ट देऊ, भगवान ! यिनीहरूको मुकामसम्म पुर्याइदेऊ । चौबीसै घन्टा प्राणवायु दिइरहने पीपलसँग कामना गरेँ- उनीहरूलाई सास फेर्न कतिखेरै असजिलो नहोस् ।
मैले समूहलाई मन्दिर छेवैको बाटोबाट ओरालोतिर झारेँ । त्यहाँबाट माथि ढिस्कोमा उकालेँ । खोल्साबाट ढिस्कोसम्मको उकालो हिँड्दा रियान्स फतक्कै गल्यो । त्यहीँ छेउमा थुचुक्क बसेर पिलपिल गर्यो । स्यास्या गर्दै आमाले अघिजस्तै घिच्याइन्, ‘चाँडो हिँन् ।’
मैले छोरी सम्झेँ – यो रियान्स ७, मेरी छोरी ८ वर्ष ।
मैले कहिलेकाहीँ भन्छु, ‘छोरी जाऊ पसलबाट टमाटर किनेर लेऊ ।’ अचेल सहरका हुर्कौला बच्चाले गोलभेडा चिन्दैनन् । टमाटर चिन्छन् । तिनका बाउआमाले पनि यसमा उति चासो दिँदैनन् कुन्नी किन हो !
पसल पुगेर कोठासम्म आइपुग्दा छोरी स्याँस्याँ गर्छिन् ।
रियान्स ३ दिनदेखि उसका बाबु-आमाकै गतिमा हिँडिरहेको छ । अझ बेलाबेला उसकी आमा घिच्याइरहेकी हुन्छिन् । अहिले मलाई यो अबोध बालक देखेर भक्कानो फुट्ला जस्तो भयो ।
एक मन सोचेँ, ‘यसलाई छोरो बनाएर यतै राख्न पाए नि हुनी ।’ तर, दुर्गाबहादुर दम्पत्तिको सम्पत्ति यत्ति त होला । ऊमाथि उनीहरूका कति सपना होलान् । अझै धेरै सपनाहरू जन्मिनै बाँकी होलान् । त्यही माथि मैले मागे पनि उनीहरूले दिने त होइनन् !
एक्कासी मैले आफ्नै कल्पनाको घाँटी थिचेँ । तैपनि, रियान्सलाई एक पटक गम्लङ्ग अँगालो हाल्न मन लाग्यो । त्यो पनि सकिनँ । म साह्रै पानीमरुवा भएर उभिइरहेँ ।
माथि आकाशतिर मुन्टो उचालेँ । घामको आकार थालजस्तै थियो । माथिबाट झरेका रापिला ज्योति शरीरभरि सल्बलाइरहेका थिए । घामको छेवैमा एक भुल्को सेतो बादल थियो । त्यो घामसँग जिस्किरहेझैँ लाग्थ्यो ।
मैले सल्यानी टोलीलाई चाँदनी चोकबाट पश्चिम डोर्याएँ । पल्लो छेउको पिच बाटो अमृतनगरतिर तन्किएको छ । मैले त्यही बाटो फेरि ओरालो झारेँ । केही तलसम्म ओरालो झरेपछि हिँडेर ढुङ्गेअड्डासम्म पुग्ने छोटो बाटो भेटिन्छ । मैले दुर्गाबहादुरहरूलाई त्यतै सोझिन भनेँ ।
केही मिनेट तर्पाएँ हिँडेपछि एउटा थुम्को आउँछ । मैले त्यही थुम्कोबाट उनीहरूलाई कलङ्कीभन्दा तल बाबा पेट्रोलपम्मसम्म पुग्ने बाटो अथ्र्याएँ । उनीहरू एकछिन अक्क न बक्क भए । दुर्गाबहादुरले बिहानैदेखि छुटेका आफ्ना दुई असली अगुवालाई फोन गरे । उनीहरू कताबाट हो कुन्नी नैकापतिर झर्दै गरेको सुनियो ।
फोनमा कुरा सकेपछि दुर्गाबहादुरले भने, ‘सरले कलङ्कीसम्म पुर्याइदिनु न !’
मैले पुनः पैदल जाने बाटो अथ्र्याउँदै भने, ‘तपाईँहरू जाँदै गर्नूस् । म कोठामा पुगेर आउँछु ।’ यसपछि सल्यानी टोली अगाडि बढ्यो तर उसले मेरो बाटो हेरिरह्यो । केही पर पुगेर रियान्सकी आमाले फर्केर हेरिन् । उनको अनुहारले भनिरहेको थियो, ‘सर आउनुस् है ।’
अझ अगाडि पुगेका दुर्गाबहादुरले चर्कै आवाजमा भने, ‘सर हामी त्यहाँ त पुग्छौँ नि ! तपाईँ आउनुहोला है ।’ उनीहरू हिँडिरहे । मेरा आँखा एकछिन टोलाइरहे ।
म करिब आधा घन्टाको बाटोमा उनीहरूको सहयात्री बनेँ । काम र श्रमका कुरा गरेँ । गाउँका, खेतबारीका, वस्तुभाउका, लेकबेँसी, पाखा-पखेरा र वनजंगलका समेत कुरा सोध्न भ्याएँ । उनीहरू धेरैको एउटै आशय थियो- गाउँ पुगेपछि काम खोज्दै फेरि त्यो बिरानो ठाउँ नफर्किने । खेतबारीमा जेजति फल्छ त्यसैले पेट भर्ने ।
दुर्गाबहादुर भन्दै थिए- अब त सरकारले खेती गर्नेलाई सहुलियत दिन्छ भन्छ । तरकारी फलाउने । बाख्रा पाल्ने । अरू के के गर्ने । त्यसैले पेट पालिहाल्छ । किन यो दुख पाउन आउनु ? ती निर्दोष सल्यानीहरू देखेर, उनीहरूसँग कुरा गर्दा धेरैपटक मेरो मन हुँडलिएर आयो ।
…
म कोठामा फर्केँ । मोटरसाइकल स्टार्ट गरेर कलङ्कीतिर हुइँकिएँ । कलङ्की चोकको घुम्ती कटेर बाबा पेट्रोलपम्पतिर ओरालिएँ । केही तल पुगेर एउटा कुनामा मोटरसाइकल रोकेँ । त्यहाँ उपत्यका छोडेर बाहिरिन लागेका सयौँ अनुहारहरू देखिए ।
त्यहाँ भरिया थिए । कुल्ली थिए । सडक किनारमा नाङ्लो पसल थापेर एक मुठी सास जोगाउने थिए । अझ सुकिला अनुहार पनि थिए, जसलाई समाजले उच्च कुलिन वा धनीवर्गमा सूचीकृत गरेको छ । भारी खेप्नेदेखि उच्चवर्ग भनिएकाहरू भुइँमै यत्रतत्र पसारिएका थिए । ढलेका थिए । घोप्टो परेका थिए ।
मेरा आँखा अचानक एउटी शोडषीमा पर्यो । उनले सेता बादलको रङजस्तो कुर्ता-सुरुवाल लगाएकी थिइन् । त्यसमा नीलो आकाशको जस्ता बुट्टा भरिएका थिए । एकछिन मेरा आँखा त्यहीँ टक्क रोकिए, लोलाए, घोरिए ।
सोचेँ – साँच्चै यिनी कुनै फिलिमकी हिरोनीभन्दा कम छैनन् ।
ती शोडषीको हातमा थियो- विश्वमै अर्बपति कहलिएका विनोद चौधरीको उत्पादन वाइवाइ चाउचाउ । उनी फुको चाउचाउ बुक्याइरहेकी थिइन् । त्यहाँ वरिपरि पानी थिएन । उनले कसैसँग पानीको याचना गरिरहेकी थिइन् ।
साँच्चै यो भुइँले, यो माटोले यहाँ पनि धनी र गरिबलाई एकै ठाउँ भेट गराइदिएछ । आखिर मन, भावना, हृदय त धनी गरिबको उही हुने रहेछ । आपत पर्दा आत्तिने, दुखमा रुने, पीडामा भक्कानिने मान्छेको मन कहाँ दुइटा हुँदो रहेछ र !
मेरो हृदयमा तैरिएका भावनाले भनिरह्यो- ७२ सालमा आएको भूकम्पले जस्तै कोरोनाले पनि हामीलाई एउटै धरातलमा उभ्याइदियो । तर, यहाँ फरक छ- उबेला हामी जोडिएका थियौँ । अङ्कमाल गरेका थियौँ । सँगै बसेर एउटै थालमा नुन-खुर्सानीसँग फुको भातले पेटको आगो निभाएका थियौँ । उसै परे अँगालोमा कस्सिएर सँगै भक्कानिएका पनि थियौँ ।
अहँ ! यहाँ त्यो गर्ने छुट छैन, हामीलाई । सँगै बसेर बोल्न भएको छैन । आँखामा आँखा जुधाएर बात मार्न सकिएको छैन । दुखको सागर गहिरिँदै जाँदा एकअर्काले मनका ढुकढुकी छामेर सुम्सुम्याउन र आँखाबाट बग्ने आँसु साटासाट गर्न सकिएको छैन ।
नङ-मासुजस्तै भए पनि सात समुद्रपारि जस्तो । डरैडरले कुकुक्र्याएर अर्को डर जन्माइरहेको छ । यसरी नै मर्नेको सङ्ख्या दोब्बर-तेब्बर । यही कारण आत्महत्या बढ्यो । सुत्केरी महिलाले समेत आत्महत्या गरे । मरेकाहरूको मलामी जान नपाइने । मर्नेको लास प्रहरी वा सेनाले बोरामा पोको पारेर कता बेपत्ता पार्छन् कुन्नी कसैलाई थाहा थिएन/छैन ।
प्रेमीले प्रेमिकाको र प्रेमिकाले प्रेमीको लाशमा एक थुँगा फूलसमेत अर्पण गर्न नपाउने कस्तो आसुरी समय ! जङ्घार तरिरहँदा बग्दै गएका दुई देहले एकअर्कालाई कठै भने झैँ । हामीले गर्न सक्ने र भन्न सक्ने यही “कठै” मात्र भएको छ । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ उहिलेको उखान भयो ।
हरेकले मुख छोप्न मास्क लगाइएको छ । काला बादलहरूले आकाश छोपे जस्तै मान्छेले पनि १० रुपैयाँको मास्कले सिङ्गो मानवता छोपिरहेको भान हुन्छ, मलाई । ओहो ! कस्तो अघोरी समय, प्रलयको असिना-पानी खन्याएर मानवता बगाएजस्तो क्रूरता !
मानव सभ्यताको इतिहासमा यति क्रुर बनेर आएको यो व्याधिले विश्वमा ४२ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । मानव-जगतको वनमा लागेको यो डढेलोले अझै कतिको ज्यान आहुती माग्ने हो, लेखाजोखा छैन । वश, हामीले यत्ति सङ्कल्प गर्नुपरेको छ- पूर्वजले जस्तै हामीले पनि यो सभ्यताको मार्गमा अस्तित्वको डोरी तानिरहनुपर्नेछ ।
…
अचानक म झस्किन्छु, छटपटिन्छु । म मेरा सल्यानीहरूलाई खोज्न चहुरभरि आँखा दौडाउँछु तर देख्दिनँ । अलि परपरसम्म आँखा फ्याँक्छु । उनीहरू एकै ठाउँमा गड्यौला झैँ गुजुल्टो परेर बसेका, आँखाले मेरै बाटो हेरेका !
आगोले मैन पगाले जस्तै, यहाँ फेरि एक पटक म पग्लिएँ- ती सल्यानीहरूको मनोगत अवस्था देखेर । सबैले मेरो अनुहार क्वारक्वार्ती हेरिरहेका । मसँग उनीहरूको केही आसा थियो । अपेक्षा थियो । त्यो जेसुकै हुन सक्थ्यो- एक पेट भात वा केही पैसाको ! सबैभन्दा बढी त जिउँदै सल्यानसम्म पुग्ने एउटा उत्कट अभिलाषा थियो ।
खल्ती छामेँ, हजार हजारका दुइटा नोट रहेछन् । निकालेर दिन खोजेँ । अहँ सकिनँ- उनीहरूको भावनाको अवमूल्यन हुन्छ भन्ने डरले न्याक्यो । अर्कोतर्फ, सबैले मैलाई घेरिरहेका । कसलाई दिऊँ, कसलाई नदिऊँ ?
खल्तीबाट बाहिर आउन खोजेका हजारका नोट मैले भित्रै धकेलेँ । र, पाँच सयको नोट निकालेँ, अलि कुनापट्टी गएर त्यो रियान्सको हातमा थमाइदिएँ ।
उनीहरूसँग अन्तिम कुराकानी भयो, ‘मैले प्रहरीसँग कुरा गरेको छु । तपाईंहरू जान पाउनुहुन्छ । नआत्तिएर केही घन्टा कुर्नुहोला ।’
फनक्क फर्केर गएको मैले पछाडि फर्केर हेरिनँ । हेर्न सकिनँ । डिउटीमा रहेका प्रहरीसँग अनुरोध गरेँ- यी सल्यानीहरूलाई जसरी पनि काठमाडौँ छोड्ने मेसो मिलाइदिनुहोला । मैले आफ्नो पत्रकार परिचयपत्र देखाउँदै विनय गरेपछि प्रहरीले आश्वस्त पारे ।
बेलुकीका घामले चन्द्रागिरिको लेक काट्ने बेला म पुनः त्यही ठाउँमा पुगेँ । त्यहाँ दुर्गाबहादुरहरू थिएनन्, न अन्य कुनै अनुहार थियो । म लामो सास तानेर डेरा फर्केँ । यता मनको सारङ्गी बजाएर भावनाले कर्खा गाइरहेथ्यो-
भोको पेट रेट्दैछ छुरीले
कहिले छोड्ला कोरोना हुरीले …
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।