‘स्नेही मित्र शुभेच्छासहित’ यी शब्दाक्षरित कृति हात परेको आधा दशक बितेछ । त्यतिन्जेल, ‘सरसर्ती संसार’ निजी आवासको र्‍याकमा खाप्पिएर, साप्पिएर र थिचिएर बसिरह्यो । अहिले लाग्दै छ, जीवा लामिछानेकृत यो नियात्रा समयमै नपढेर मैले भुल गरेछु ! बुझ्नुपर्ने के-के थियो ? बेलैमा बुझिएनछ । जिन्दगीको लय मिलाउन चेतनाको ‘ह्याम्मर’ले आफैँलाई ठोकठाक गर्नुपर्ने कर्ममा पछाडि परेझैँ लाग्यो ।

यस्तै-यस्तै अल्प बुद्धिको डोरेटोमा हिँड्दा-हिँड्दै जिन्दगी सकिएको पत्तै नहोला । आफ्ना रहर र दिनचर्याको तुलना गर्छु; कहीँ कतै सन्धि मिल्दैन । म कुन भाभरमा हराएको छु ? जहाँबाट उम्किने होस् खुल्दा मेरा लागि धर्तीको बास सकिइसकेको हुन सक्छ । अधुरा इच्छा, चाहना र रहरहरू खोलाको बगरमा सेलाएर जानुपर्ने समय कल्पिँदा कहिलेकाहीँ म निकै भयभीत हुन्छु । आज त्यही भयलाई काखी च्यापेर सरसर्ती संसारको उज्यालो नियाल्ने प्रयास गरिरहेको छु ।

२०७५ साल¬, चैत २० गते बुधवार अपराह्नको समय; नियात्राकारसँग वसुन्धरास्थित अकामा होटेलमा भेट भयो । त्यति बेलै कृति हात परेको हो । मैले ‘पढुँला नि’ भन्दै जाँगर मारिरहेँ । विदेश बसेका, उतै घुमेका मान्छेको उतैको बयान होला । नेपाल बनेन भन्दै नेता र कर्मचारीतन्त्रलाई गाली गरिएको होला । इतिहास, अवस्था र व्यवस्था खराब देखाउँदै छाँटिएको विद्वता होला । मैले यस्तै सोचिरहेँ । जति पटक कृतिमा आँखा पर्थे, त्यति नै पटक ‘यसमा के होला र’ भन्ने भावले जितिरह्यो ।

जब-जब कृतिमा दृष्टि पात हुन्थ्यो, तब आवरणमा नीलो समुद्र तैरिइरहेको अनुभूत हुन्थ्यो । लाग्थ्यो, आकाश ओढेर समुद्र हाँसिरहेको छ । एक दिन मनोवाद पन्छाएर म त्यसभित्र पसेँ । सुरुमै आफ्नै कुराभित्रको ‘डायरी लेख्ने मेरो बानी विद्यार्थी जीवनदेखिकै हो’ भन्ने वाक्यांशले तान्यो । मलाई लाग्छ, डायरीमा जीवन हुन्छ । त्यो सधैँ सजीव रूपमा बाँचिरहन्छ । त्यहाँ, विगत र आगत हुन्छ । त्यो भन्दा बढी त डायरी धनीको इमानदारिताको सहीछाप हुन्छ ।

म त्यही इमानदारिता खोज्न सरसर्ती संसार रूपी समुद्रमा हेरिङ्ग गलजस्तै उड्न थालेँ । यो उडानमा जुगल भुर्तेलले अनुवाद गरिदिएको हेनरी भानको कविताले बत्तिने जादुमय पखेटा हालिदियो-

लन्डन पुरुषको सहर हो, त्यहाँ बतासमै शक्ति आउँछ

पेरिस महिलाको सहर हो, त्यहाँ सौन्दर्यको सुवास आउँछ ।

भेनिसका मीठा सपनाहरू, इतिहासको रोम सहर

घुम्न राम्रो संसार होला, बस्न राम्रो त आफ्नै घर ।

संसार डुले पनि मान्छे चराजस्तै होला । चरो दिनभरि वन्यजगत् चाहर्छ र साँझ विश्राम गर्न गुँडमै फर्किन्छ । सायद, यो शाश्वत सत्य मान्छेले चराबाट सिकेको होला । उल्लिखित कवितांशले त्यही पक्षलाई उद्धृत गरेका छन् । विश्वका कुना-कुनामा पुगेका पहिलो पुस्ताका नेपालीहरू देश, आफ्नो सहर, गाउँघर र बाल्यकालीन झझल्का सँगालेर बाँचिरहेका छन् । त्यो कल्पेर बाँचिरहनु आफ्नै ओछ्यानमा सुतेको भावचेत होला । म पनि यही भावायुमा एसियादेखि युरोप र अफ्रिकी भूमि घुमे । अहिले चरोजस्तै फर्केर आफ्नै थन्कोमा सुस्ताएको छु ।

उद्यमशीलताको शिखरमा पुगेका र साहित्यको देउराली चढ्दै गरेका जीवा लामिछानेको यो कृति पाठक, लेखक वा अरूले किन पढ्ने ? मैले जवाफ खोज्दै गएँ- मजस्ता पाठकले आँखा र हृदयले संसार छाम्न सक्छन् । नियात्रा लेखकले यसबाट लेखन-कला र शिल्प सिक्लान् । देशका योजनाविद्, कर्मचारी र नेता-मन्त्रीले त कृतिकै आधारमा विकासका कार्यान्वयनमुखी योजना बनाउन सक्छन्; जुन धेरै सम्पादन नगरी ‘कपी एन्ड पेस्ट’ गरे पनि पुग्छ ।

यही तत्वबोध भएपछि मैले कृतिमा पाठकीय दृष्टि अझ भित्रसम्म पुर्‍याएँ । दृष्टि पुर्‍याउनु एउटा पक्ष हो तर चेतनाको गहिराइबाट त्यसलाई पर्गेल्ने सामर्थ्य म कसरी जोडूँ ? ती अथाह विषयलाई समेटेर कसरी मुठो पारूँ ? के लेखूँ, के छोडूँ ? त्यहाँभित्रका हरेक शब्द र वाक्यहरू दिशा देखाउने कम्पास हुन्; निराशाको चौतारोमा सुस्ताएकाका लागि आशाका ऊर्जाशील किरण । नकारात्मक सोचलाई ‘स्रोत र सम्भावनाका फाँट हुन, जहाँ श्रम खन्याएर मोती फलाउन सकिन्छ ।

राज्य सञ्चालकहरूले यसको मर्म मात्रै बुझिदिए देशले यतिविधि भुक्तमान भोग्नै पर्दैन । यिनै सन्दर्भलाई हृदयको पिङमा मच्चाउँदै कृतिका २९ नियात्राभित्र म पुनः डुलेँ । जसले, विश्वको भौगोलिक मानचित्रलाई चलचित्रजस्तै आँखामा टाँसेर मन, मस्तिष्क र भावनालाई एकसाथ दौडाए । चितवनबाट काठमाडौँ उक्लेर इन्जिनियरिङ अध्ययनार्थ रुस (सोभियत संघ) को मस्को इन्स्टिच्युट अफ सिभिल इन्जिनियरिङ पुगेका नियात्राकारले मस्कोको लेनिन ग्राद्स्की रेलवे स्टेसनबाट एक्लै लामो यात्राको श्री गणेश गरेका छन् ।

० ० ० ०

यात्राको रोमाञ्चक उडान

यात्रा नयाँ ठाउँको दृश्यपानतिर हुटहुटी जगाउने उत्प्रेरक हो । नियात्राकारले त्यसरी नै हुटहुटिँदै उडान भरेका छन् । आजभन्दा ३७-३८ वर्ष अगाडि (सन् १९८६) अध्ययनार्थ सोभियत संघ पुगेका जीवा लामिछानेले त्यो विशाल एकीकृत साम्राज्य खण्डहर बन्दै गएको प्रत्यक्ष देखे भोगे । त्यो भोगाइ र स्मृतिलाई उनले बडो सचेतताका साथ रोपेर, हुर्काएर र गोडमेल गरेर सिर्जनाको फूलबारी बनाएका छन् । स्कान्डिनेभियामा सेतो रात बिताएका उनले १७औँ शताब्दीका हिप्पीहरूसँग मस्किँदै एक्लो यात्रामा हर्ष र उन्मादको घोल बनाएका छन् ।

मेरो पुस्ता भर्खर जन्मिँदा उनी युरोप पुगिसकेका थिए; जो सोभियत संघ विघटन हुनु अघिको रुस बुझ्ने, भोग्ने र रसपान गर्ने भाग्यमानी मध्ये पर्छन् । माल्दिभ्स, बर्मा (म्यान्मा), स्पेन र इजिप्टको पिरामिडको भाका गाउँदै उनले समुद्रमाथि निर्मित दुबहीको ‘एट्लान्टिस् दी पाःम’ होटेलको कथा पढाएका छन् । जसले पहिलो चोटि यो कथा सुन्छ, विकासको त्यो अद्भुत लीला सुनेर ऊ चकित पर्छ । अल्पविकसित देशका नागरिकका लागि यी विकासे नमुना मिथक, राजकुमार दिक्पाल, मधुमालती वा परीकथा भन्दा कम नहोलान् ।

देश टुक्रिँदाको दुर्दशाले सोभियत संघ र युक्रेनबीच उति बेलै सल्किएको भुसको आगोले अहिलेको परिणति निम्तिएको बुझाउँछ । जहाँ, युद्धकालका अनेक पाटा उत्खनन् गरिएको छ । आज ती राष्ट्रबीच शक्ति, स्रोत र पहिचानको द्वन्द्व छ । यता, नेपालको सिमाना भारत र चीनले मिच्नु, भारतले काश्मीरमा दाबी गर्नु । इजरायल र प्यालेस्टाइनमा दशकौँदेखि युद्ध भइरहनु, यस्ता घटना पृथ्वीमा युगानुयुग चलिरहलान् । तिनमा रोचकता, प्रेम र सुन्दरता मिसाएर पात्रहरूबीच संवाद गराउनु लेखनको ‘जीवाशैली’ मान्नुपर्छ । नियात्राभित्र पात्र, स्थान, वन-जंगल, पाखा¬¬-पर्वत, समुद्र, विकासको वैभव र अनेक रहस्यसँग संवाद गर्न पाइन्छ; पाठक घिच्च्याइँदैन, जादुमय रहस्यतिर आफैँ दौडिन्छ ।

० ० ० ०

आश्चर्य र ज्ञान

जब दी एडभेन्चर्स अफ जोनाथन गलिबलः अ फ्रि मार्केट ओडिसी, द डायरी अफ द योग गर्ल जस्ता कृतिसँग भेट हुन्छ, तब तिनले रहस्यको अर्को तलाउमा पुर्‍याउँछन् । ज्ञानको अङ्खराले चेतना उगाउन सिकाउँछन् । त्यही चेतनाले जीवनमा क्षितिजको नयाँ दैलो उघार्न प्रेरित गर्छ ।

टापु नै टापुको मालाले माला र द्विप (माल्दिभ्स) को भेद खुलाउँछ । त्यहाँ पृथ्वीको तापमान वृद्धिले देश नै अस्तित्वमा नहरने त्रासतीपूर्ण चित्र छ । मान्छे त युगौँदेखि शरणार्थी छन्, हुँदै छन् तर देशले नै यी दुर्दिनको सामना गर्नु कत्रो विडम्बना ! केही दशकभित्रै समुद्रमा समाधि लिँदै गरेका चित्रहरू सायद यो युगकै कहालीलाग्दा कायाकल्प हुन् । जब शरणार्थी देशका नागरिक टुक्रिएर हजार वा लाखमा परिणत होलान्, तब तिनले लाखौं टुक्रामा देशको माटो कल्पेर जीवनयात्रामा पाइला चालिरहलान्- खरानीबाट ब्युँतेर उड्ने फिनिक्स चराजस्तै … ।

समुद्रमाथि एक रात बिताउँदा अनौठो प्रश्नले लखेट्छ- जमिनमा जल अडिएको छ तर संसारमा जमिनभन्दा पानी धेरै छ । थोरैमा धेरै कसरी अडियो होला ? यसको उत्तर प्रकृतिले नै दिन सक्ला, कि त विज्ञानसँग होला ! नियात्राकार समुद्रमाथि बनेको होटेलमा कार्यरत नेपालीहरूसँग गफिँदै बेगिएर नेपाल पुगेका छन्- देश समृद्ध भएको भए जीविकोपार्जनका लागि यसरी मजदुरी गरेर यहाँ बस्नुपर्ने थिएन भन्ने चेतले चिमोटेको छ ।

जीविकोपार्जन र वैदेशिक रोजगारी पनि एक अर्काका पूरक होलान् ! बाँच्नका लागि बसाइँ सर्ने चलन प्राकृतिक होला । पाषण कालबाटै आहारा खोज्न एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने क्रम सुरु भयो । एउटा थातथलो छोडेर कोसौँ टाढा बसाइँ सर्ने चलन चल्यो । त्यसैको आधुनिक, उत्तरआधुनिक र पराधुनिक चरण नै वैदेशिक रोजगारी हो कि !

म एकपछि अर्को रहस्यतिर पस्दै गएँ- विश्वका शासकहरूले आफ्नो शोखका लागि बनाएका संरचनाहरू: चीनको तेनमेन स्क्वायर, भारतको ताजमहल, लालकिल्ला, इजिप्टको पिरामिड, फ्रान्सको आइफिल टावर । नेपालमा पनि कति भौतिक संरचना राणा र राजाहरूले आफ्नै शोखका लागि बनाए । फरक यत्ति हो- विकसित देशतिर तिनको संरक्षण र जगेर्ना छ । यता धूलिसाथ पारिँदै छ । लोकतन्त्रले तिनैलाई भजाएर स्वार्थको रोटी सेकिरहेछ ।

समुद्र पुरेर बनाइएको कोरियाको इन्चोन एयरपोर्ट छामछुम पार्दै त्यहाँको आर्थिक वैभवतिर डुल्न पाइन्छ- सन् २०१३ मै दक्षिण कोरियाको प्रतिव्यक्ति आय २२००० अमेरिकी डलर रहेछ । उति बेलाको आर्थिक मन्दीले देश नै टाट पल्टिन लागेको अवस्थामा जसरी पनि बचाउनुपर्छ भन्ने हरेक नागरिकले भिष्मप्रतिज्ञा गरेपछि दुई वर्षभित्र कोरियाले चामत्कारिक आर्थिक विकास गर्‍यो । बल्ल थाहा भयो- सफलता योजनाका सूत्रमा होइन, मिहिनेतमा हुँदो रहेछ । जनताको देशप्रेम र नेताको देश बनाउने प्रणको त्यो अद्वितीय नमुना हाम्रोतिर कहिले सर्ला ?

विश्वका कुन देश कतिबेला कसरी जन्मे ? कति भुसुना राष्ट्र कति पटक शक्तिको अधीनमा पुगे ? कसको अधीनबाट फुत्केर स्वतन्त्र भए ? ठूला र साना देशबीच के कस्ता सम्झौता भए र हुँदै छन् । यस्तै उदय र पतनको लीलाको बेलिबिस्तार छ, कृतिमा । यी घतलाग्दा उपकथाले प्राचीन बेबिलोनतिर डुलिरहेको अनुभूत गराउँछ ।

(क) सानो ठीक वा ठूलो ?

बिलाउँदै र उदाउँदै गरेका विश्वका अनेक देशहरू नेपालभन्दा धेरै साना रहेछन् । चीन र भारतसँगको दाँजोमा नेपाल सानो होला । हिजो विशाल थियो, राजनीतिक सीमाले खुम्च्यायो । आज यही देश ठूलो हो । भएको जोगाएर विकास गर्न सके हुन्छ । दक्षिण एसियामै भुटान, माल्दिभ्स, श्रीलङ्का नेपालभन्दा धेरै साना छन् तर ती समृद्ध भइसके । पश्चिमी गोलार्द्धका सेसल्स, स्वीट्जरल्याण्ड, चेक गणतन्त्र, लिक्टेनस्टाइन, ताजकिस्तानजस्ता दर्जनौँ मुलुक नेपालभन्दा साना भएर पनि समृद्ध छन् ।

खासमा भूगोल सानो वा ठूलोले तात्त्विक भेद नहुँदो रहेछ । त्यहाँको विकास, शासन व्यवस्था, प्राकृतिक निधिको सदुपयोग वा व्यवस्थापन कसरी भएको छ ? त्यसले गहन अर्थ राख्दो रहेछ । तिनै साना देशमध्येको राजतन्त्रात्मक देश हो, लिक्टेनस्टाइन । यहाँका राजालाई ‘प्रिन्स’ भनिँदो रहेछ । यस नियात्रामा यस्ता रहस्यमय, रोचक र ज्ञानवर्धक सन्दर्भ अनेकानेक छन्- जुन छुट्यो कि गुम्यो जस्तो हुने । जीवनको प्लेटफार्मबाट छुटेको त्यस्तो रेल फेरि कहाँ चढ्न पाउनु ?

(ख) दण्डितहरूले गरेको चमत्कार

कंगारुको मुलुकतिर डुल्दा अर्को आश्चर्यको रहस्योद्घाटन् हुन्छ- आज पनि क्यानडा र अस्ट्रेलियाका ‘हेड अफ स्टेट’ बेलायती महारानी वा राजा हुँदा रहेछन् । जीवनमा नजानेका र जान्न बाँकी यस्ता कति कुरा रहेछन्- म निकै बेर घोत्लिएँ । बेलायतीले उहिले दण्डित गरेर अस्ट्रेलिया धपाएकाहरूले आज त्यो मुलुक विश्वकै सम्पन्नशाली बनाए । संसार त्यतै आकर्षित छ । लमजुङका शेष घलेले त्यही पुगेर ख्याति कमाए । उच्च शिक्षाको जहाजमा उडेर त्यता जाने हजारौँ नेपालीहरूको लर्को छुटेको छैन ।

अस्ट्रेलिया पुग्दा ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना र स्नोई माउन्टेन्स इन्जिनियरिङ कर्पोरेशन (स्मेक) दिमागमा आयो । जसले, बनाउँछु भनेर १७ वर्षसम्म आयोजना ओगटेर अन्त्यमा छोडेर हिँड्यो । त्यति सम्पन्न मुलुकको कम्पनीले किन त्यसो गर्‍यो ? यसमा नेपाली प्रवृत्ति नै जिम्मेवार थियो कि ? अहिले, यो आयोजना भारतको एनएचपिसी लिमिटेडले अगाडि बढाइरहेको छ ।

(ग) युरोपको चोरी

फरक चोरका फरक दाउले युरोपतिरको एउटा अँध्यारो कुनो देखाएको छ । यहाँ पोल्याण्ड, पोर्चुगल, चेकोस्लोभाकिया लगायत देशका भित्री कथा छन् । तत्कालीन समयमा नाजी समुदायको नेतृत्व गरेर युरोपमा आतङ्क मच्चाएका एडोल्फ हिटलरले चलाएको मृत्युचेम्बरका भयानक गाथा छन् । मान्छे मार्ने कारखानातिर आँखा डुलाउँदा धेरै पटक रौँ ठाडा हुन्छन् । शरीर जिरिङ-जिरिङ हुन्छ ।

युरोपमा पनि चोरी हुन्छ ? यो प्रश्न अनेक पटक दोहोरिइरह्यो । चोरी त गरिबी, अभाव र खाँचो-खचिलो टार्न अचेतन मस्तिष्कले अह्राएको कर्म होला- जुन अल्पविकसित देशतिर हुन्छ । युरोपतिर पनि यस्तो ! सायद, यो त्यतातिरको अलग्गै पेशा हो कि ! सोचेँ- चोरका लागि देश, भूगोल, आवश्यकता र बाध्यता केही नहुँदो हो । यसको सन्देश हो- यात्रामा अधिक होसियारी अपनाउनुस् ।

(घ) पादरीको छेकथुन

चोरबाट मात्र होइन, युरोप-यात्रामा पादरीबाट जोगिने कला पनि चाहिँदो रहेछ । पहिलो रेल यात्रामै पादरीको पासोमा परेका नियात्राकार जुक्ति फुराएर उम्किन्छन् । यो पढेपछि मैले नेपालमा क्रिष्टियनहरूको चर्तिकला सम्झेँ । उनीहरूले गरिबीलाई हतियार बनाएर धर्मान्तरण गराउँदै आएका छन् । यसमा हिन्दूत्वभित्रका खराबीले पनि पक्कै उत्तेजित बनाएका छन् ।

यी क्रिष्टियन पनि के के हुन्- रुसी अर्थोडक्स, रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, यहुदी । मुसलमानका पनि सुन्नी र सिया अनेक रूप । हिन्दूका त झन् ३३ कोटी देवता । वाप्टिस्ट अर्थात् प्रयोगवादी धर्म, जुन इस्टोनियामा मानिँदो रहेछ । यो नेपालका राई लिम्बुले मान्ने किराँत धर्मजस्तै हो कि ! सम्भवतः यस्ता धर्महरूले समेत सिमानामा धर्काहरू कोर्न उक्साउँछन् ।

(ङ) चितवनकी बाला र युक्रेनकी रुपसी

सरसर्ती संसारले यात्रासँगै बैँसको डालीमा बसेर प्रेमलहरी गाउँदै हिँडेको छ । चितवनकी बालासँग काठमाडौँकी युवती, काठमाडौँकीसँग रुसी र रुसीसँग युक्रेनीको तुलना; जुन हुर्किंदो यौवनको तिर्सना हो; त्यो उमेरले खिचेको रेखाचित्र पनि । आखिर युवती सुन्दरताका प्रतीक हुन् । बगैँचामा फूल नफुले त्यसको के महत्त्व ? बैंशालु युवतीहरू हिमालमा हिस्सी परेका चुली हुन् । बैँसको बादल बोकेर हिँड्नेहरू मोहित नहुने कुरै भएन । अस्थिरताको बादलभित्र युक्रेन पुगे पनि कृतिकार षोडशीका मुहारको मादकता नियाल्दै रुमानी यादमा हराएका भेटिन्छन् ।

(च) सीमा र जनावरको साम्राज्य

जनावरको राज्यमा यहाँलाई हार्दिक स्वागत छ, यो सुन्दा धेरैलाई अचम्म लाग्छ । नियात्राकारले पाठकलाई बिनाभिसा यो साम्राज्य घुमाउँछन् । केन्याको मसाई मारा : जनावरको साम्राज्यको त्यो विशाल वन्य-जीवनमा डुल्ने जोकोही पनि चकित पर्छ । काँचका पर्दामा देखिने जनावरका भयावह, हिंस्रक र कहालीलाग्दा दृश्यले अक्षरभित्र पसेर घरीघरी तर्साउँछन् ।

हो, जनावरको राज्यमा पक्कै भिसा चाहिँदैन । तिनले त्यो छेकबार लगाउँदैनन् । ती चाहेको बेला युरोप, अमेरिका पुग्लान् वा अमेजनको घना जंगलसम्म डुल्लान् । पूर्वी अफ्रिकातिर टहलिएलान् । पूर्वी टिमोरदेखि बासरासम्म फन्को मारेर अन्तिममा आफ्नै थलोमा पर्केलान् ।

साइबेरियाबाट बिनाभिसा नेपालका हिमाल नाघेर आउने चराहरू, हिमाल र पहाडबाट तराई झर्ने र तराईबाट हिमालतिर कावा खान बेगिने पंक्षीको पनि आफ्नै साम्राज्य छ । तिनले भिसा अप्लाइ गर्दैनन्, टिकट काट्दैनन् र भारीतारी बाँध्दैनन् । तिनलाई त्यसको के खाँचो ? मान्छेलाई सबै चाहिने । यही खाँचो, लोभ र मोहले होला; रुस-युक्रेन, चीन¬-भारत, भारत-पाकिस्तान, इजरायल-प्यालेस्टाइन जस्ता दर्जनौँ देशमा सीमा, भिसा र भूमिका लागि रणसङ्ग्राम चलिरहेको ।

ती युद्धरत क्षेत्र र देशमा पनि जनावरहरू वारिपारि, तलमाथि, यताउता गरिरहलान् । तिनमा ‘यो मेरो जमिन, त्यो तेरो’ भनेर मारमुङ्ग्री होला ? ती लड्भिड् गर्छन्। एक-अर्कोसँग प्रतिकार गर्छन्- केवल भोकका लागि । जति नै एआईको रकेट चढेर अन्तरिक्षमा फन्को मारे पनि यस मानेमा मान्छे जनावर जत्ति विवेकी लाग्दैन । हामीले कति कुरा जनावरबाट सिक्न सके हुन्थ्यो ! यहाँ, जनावर-संसार र उसको अस्तित्वको भित्री पाटो उत्खनन् गर्ने प्रयास गरिएको छ ।

युरोपको घुसतन्त्र

व्यवसायीले भोग्नुपर्ने अनेक हण्डर-ठक्करको नमुना हो, रुसबाट युक्रेन जाँदा सीमामा पाएको दुःख । त्यो भ्रष्टाचारको नमुना पढ्दा अचम्म लाग्यो, त्यत्रो विकसित देशमा पनि त्यस्तो ! सरकारको थोरै तलबमा बालबच्चा र परिवार पाल्न पर्यटकलाई दुःख दिनुपरेको सुरक्षाकर्मीको कुरा पढ्दा झनै अनौठो !  घुस ख्वाएर पासपोर्ट फिर्ता लिएपछि किएभ सहरसम्म पुग्न मर्सिडिज कारको व्यवस्था गर्नु, कफी ख्वाउनु युरोपका घुस्याहाहरूको इमानदारिता हो ।

नेपालमा त घुस्याहाहरूले थप लुट्छन् ।

जारकालीन समयमा रुसी साम्राज्य अन्तर्गत रहेको युक्रेन स्वतन्त्र भएर पनि युरोपको पिछडिएको देशमा पर्छ । सीप, इलम र दक्षता हुनेहरू त ठीकै हो तर दलालको दाम्लोमा बाँधिएर हाम्रा दाजुभाइहरू त्यस्ता देशतिर जान किन झुत्ती खेलिरहन्छन् ? सायद, हामीलाई मुग्लान भासिने र लाहुर जाने भोकले जुगैभरि छोड्दैन । सुखी जीवन बिताउने आशाको जूनकिरीले तानिरहेकै हुन्छ ।

युक्रेनी राजनीतिमा पनि नेपालकै हविगत- देशको कमाइ भ्रष्टाचारमा सकेर विकास निर्माणका लागि चीन, भारत र अमेरिकासँग कटौरा थाप्ने उस्तै मनोदशा ! राजनीतिक पार्टीबीचको त्यो बैरभाव हेरौँ- पहिला भिक्टर यानुकोभिच जेल परे । पछि उनी राष्ट्रपति हुने वित्तिकै आफ्ना निकटतम प्रतिद्वन्द्वी युलिया तिमासेन्कोलाई भ्रष्टाचार मुद्दामा जेल हाले । सन् २०१४ को मैदान क्रान्तिपछि यानुकोभिच भागेर रुस गएर बसे । नेताहरूको यस्तै निराशा र रवैयाका कारण होला रङ्गमञ्चका कुशल कलाकार भ्लोदिमर जेलेनेस्की सत्तमा पुगेको । जसले, प्रभावकारी रूपमा युक्रेनी सत्ता हाँक्न सकिरहेको देखिँदैन ।

मैले एक पलक देशकै चित्र हेरेँ- राजनीति र सत्ताप्रति नागरिकको चरम निराशा छ । ‘जादुमय विकासे फुल पार्छु’ भन्दै कुखुराको जस्तो सिउर पलाएको अनुहार सत्तामा उक्लेको छ । उसका उही पत्रु कुरा कति सुन्नु ! प्राकृतिक स्रोतको उच्चतम सदुपयोग, पर्यावरण संरक्षण र हरित अर्थतन्त्रले मात्रै देश विकासको शिखरमा चढ्छ भन्ने मर्म कहिले बुझ्ने ? सरसर्ती संसारको गुदी पनि यही हो ।

० ० ० ०

नदी र पर्यावरण

मेरो पेशासँग पानी र बिजुली अन्योन्याश्रित रूपमा जोडिएका छन् । नियात्राभित्र म संसारका नदीहरूसँगै बग्दै गएँ । जसले नदी सभ्यता, तिनको उपयोग र किनारका सहरहरूको विकासक्रम बतायो । जर्मनीको फ्र्यान्कफट किनारको माइन, अमेरिकाको कोलोराडो र इजिप्टको नाइलले ती सहरको सभ्यताको गतिशीलताको चित्र कोरेका छन् ।

८५ प्रतिशत इथियोपियाको भूमिमा बग्ने ‘ब्लू नाइल’माथि इजिप्ट र सुडानसमेत आश्रित छन् । यही नदीमा इथियोपियाले सानो-सानो पुँजी संकलन गरी १० वर्षमा ६४५० मेगावाटको ‘ग्राण्ड इथियोपियन रिनेसान्स ड्याम’ बनायो । यो संसारलाई नै चकित पार्ने बाँध आयोजना हो । नेपालले यसरी नै १२०० मेगावाटको बूढीगण्डकी जलाशय आयोजना बनाउने बाचा गरे पनि त्यो गफी योजनामै छ ।

दक्षिण कोरियाको सोल सहरको मध्य भागबाट बग्ने हान र मोन्टेनेग्रोको टारा । आल्प्स पहाडबाट उत्पत्ति भएर लिक्टेनस्टाइन हुँदै बग्ने राइनले जर्मनी पुगेपछि विशाल आकार लिन्छ । थाइल्याण्डको चाओ प्राया, नहरै-नहरको सहर हल्याण्डको आम्स्टेल र अस्ट्रियाको मध्यभाग भएर बग्ने साल्जाक नदीले सहर सभ्यतालाई जर्गेना गरिरहेको अनुभूत हुन्छ ।

केन्यामा बग्ने मारा, यसैको किनारमा नियात्राकारले हिप्पोसँग ब्रेकफास्ट खाएका छन् । रुसको नेभा पनि सेन्ट पिटर्सबर्ग सहरको नाभीबाटै बगेको छ । जुन, तीन क्रान्तिको सहर भनेर चिनिँदो रहेछ । सहर, नहर र प्राकृतिक सौन्दर्यका भाका तथा १८औं र १९औं शताब्दीको रुसी जार-शाही कालमा त्यहाँ भएको क्रान्ति र प्राप्तिहरू यस कृतिमा लिपिबद्ध छन् ।

यता हाम्रो बागमती पनि काठमाडौँ उपत्यकाको नाभीबाटै बगेको छ । हरेक सहरका नदीहरू प्रायः मध्यभागबाटै बग्दा रहेछन् । यसको अर्थ, मानव सभ्यताको बीउ नदी किनारमै अंकुरायो । त्यही हुर्कियो, फस्टायो र विशाल आयतनसहितको ऐश्वर्यमा बदलियो । यिनैका सूचक त होलान्, आजका उत्तरआधुनिक सहरहरू !

यी सन्दर्भहरूले प्रस्ट्याउँछन्, मान्छे नदी सभ्यताको अभिन्न कण हो । करिब ६ हजार वर्षअघि अहिलेको इराक नजिकको टिग्रिस र युफ्रेटस् किनारमा, ५ हजार वर्षअघि इजिप्टको नाइलमा, ४५ सय वर्षअघि भारत-पाकिस्तानको इन्दुमा, ३५ सय वर्षअघि चीनको ह्वाङ्गोमा र २५ सय वर्षअघि मध्य र दक्षिण अमेरिकाका नदी किनारमा मानव सभ्यताहरू अंकुराए ।

त्यही सभ्यताको अविच्छिन्न प्रवाहको थोपो हो, आजको एआईयुक्त मान्छे । यो यसरी नै गतिमा अविरल चलिरहेकै छ । यहाँ, नियात्राकारले ‘नदी बचाउ, नदी पर्यावरणकी जननी हुन् । नदी नरहे मान्छे कहाँ रहन्छ’ भन्ने तत्वबोध गराउन खोजेका छन् । खासमा नदीहरू मानव विकासक्रमका अविश्रान्त साक्षी हुन् । नदीले आउने र जाने पुस्तालाई सधैँ तिनको धरातल बताइरहन्छन् ।

० ० ० ०

पर्यटन विकास

आ-आफ्नो अस्तित्व रक्षा गर्न मानिस र प्रकृतिबीचको संघर्षभित्र मनोविहार गर्दै नियात्राकारले युरोपको पर्यटन उद्योगतिर प्रवेश गराउँछन्- युरोप घुम्ने सबैभन्दा उपयुक्त समय ग्रीष्म ऋतु हो । मोन्टेनेग्रोको ‘भर्जिन फरेस्ट हाइकिङ’मा पुग्दा चरोजस्तै त्यतै डुलेको महसुस हुन्छ । केन्याको नाकुरु नेशनल पार्कमा गेम ड्राइभ गरिरहँदा उनले चितवन राष्ट्रिय निकुञ्ज सम्झेका छन् । यही काइदा बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि लागू गर्न सकिन्छ । नेपालमा ४७ प्रतिशत वन क्षेत्र पुगिसक्यो; त्यतातिर पर्यटक कसरी तान्ने ?

अर्कोतर्फ, विश्वमा ८ हजार मिटरभन्दा अग्ला १० हिमालमध्ये ८ वटा नेपालमै छन् । हिमालबाट कति आम्दानी होला ? हिमाल चढाएर, हिमाल देखाएर, हिमाल सुँघाएर मात्र पनि डलर फलाउन सकिने आधारहरू छन् तर त्यतातिर हाम्रो ध्यानै जाँदैन । बिस्तारै हिमालबाट हिउँ बसाइँ सर्दै छ । बेलैमा त्यसबाट आम्दानी गर्न नसके पछुताउने दिन आउन सक्छन् ।

डुल्दै चेकोस्लोभाकिया पुगेका नियात्राकार देशप्रेम र विकासको तिर्सनाले व्याकुल भएका छन् । जन्मेदेखि मृत्युपर्यन्त हिउँमै रमाउने पेन्गुइनजस्तै हिउँका डल्लामा टेकेर बोलेका छन्-सगरमाथा लगायत हाम्रा हिमाल र हिमालबाट निःसृत कञ्जन पानी युरोप र अमेरिका पुर्‍याउन सके पानीको व्यापारबाट मात्रै पनि थोरै समयमा समृद्धिको शिखरमा चढ्न सक्ने रहेछौँ ।

झरना खोला, हिमालबाट छङ्छङाउँदै झर्ने चिसो पानी सामान्य शुद्धीकरण गर्ने उद्योग खोलौँ । ‘बोटलिङ’ गरौँ न ! यत्ति गरे देशले पानी मात्र बेचेर कति कमाउला ? तब, जलविद्युत् विकास गरी बगेर जाने पानीमा भारतसँग कुस्ती खेल्नै पर्दैन । बगीजाने पानीको हिसाब माग्नुभन्दा पहिला विदेशी मुद्रा भित्र्याउने पानी-कूटनीति सिक्न सरसर्ती संसारले घच्घच्याएको छ ।

स्विट्जरल्याण्ड सपनाको टाकुरामा उक्लिँदा नियात्राकार देशको प्राकृतिक भण्डार सम्झेर द्रवीभूत भएका छन् । दशकौँदेख राजनीतिक भाषणले देशलाई स्विट्जरल्याण्ड बनायो तर त्यसको जग कहिल्यै खनिएन । यही कारण हाम्रा पहाडलाई प्रकृतिले निकै वास्ता गरे पनि हामीले बेवास्ता गरेजस्तो भयो । उनले स्वीट्जरल्याण्डको बेनाम थुम्कोलाई फूलचोकी कल्पेर काठमाडौँ सहर नियालेका छन्- पहाडमा उभिएर त्यहाँका सहरहरू हेर्दा फुल्चोकीको टुप्पाबाट काठमाडौँ उपत्यका हेरेजस्तो आभास हुन्छ । यी प्राकृतिक रुमालहरू पर्यटकीय फूल भरिएर कहिले चिटिक्क होलान् !

अतः यस कृतिले देश विकासका आधारहरू वन्य-पर्यटन, जलपर्यटन, कृषि-पर्यटन, जलविद्युत्-पर्यटन, धार्मिक पर्यटन, हिमाली पर्यटन पनि हुन् भन्ने आत्मबोध गराएको छ ।

० ० ० ०

सिमानामा रोएका मनहरू

क्लियोपेट्रा र पिरामिडको देशमा टेक्दा सन् १९६७ मा ६ दिनसम्म भएको इजिप्ट-इजरायल युद्धले मन भरङ्ग बनायो । इजरायलले सिनाई प्रान्त कब्जा गरे पनि शान्ति सम्झौतापछि फिर्ता गरेछ । यस घटनाले इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमणका झिल्का देखायो । प्यालेस्टाइनप्रति सहानुभूति समेत पलायो । ‘गाजा’ क्षेत्र, जहाँ यी दुवै देश अद्यापि भिडिरहेका छन् ।

भिखाइल गोर्बाचोभले सन् १९८५ मा सुरु गरेको पेरेस्त्रोइका र ग्लास्तनोस्त नीतिगत आन्दोलनले विशाल सोभियत संघ जातीय आधारमा टुक्रिएर १५ गणराज्य बन्यो । त्यतिबेला, सिमानावासीले कति हण्डर, ठक्कर र यातना खेपे होलान् ? उसै गरी, दोस्रो विश्वयुद्धपछि टुक्रिएको जर्मनी ९० को दशकमा पुनः एकीकरण भयो । बर्लिनवारि र बर्लिनपारि भएका नागरिक आपसमा गाँसिए तर तिनको मन अझै गाँसिएको रहेनछ ।

सोभियत संघ होस् वा जर्मनी टुक्रिँदाको व्यथा वा हिरोसिमा र नागासाकीको बमवर्षा सबै सरसर्ती संसारभित्र अटाएका छन् । युद्ध, अव्यवस्था, अन्तर-कलह र जातीय दंगाले मुलुक कतिसम्म छिन्नभिन्न हुँदो रहेछ भन्ने पाटो छ्याङ्ग खुलाइएको छ । सोभियत साम्यवादी व्यवस्था जीर्ण भएर ढल्दै गर्दा त्यहाँ छरिएका अभाव, दुर्गति र भोकमरिका दृश्य खिचेर रुसी साहित्यकार एन्तोन चेखबले कोरेको यो शाब्दिक चित्रले हृदय हल्लाइदिन्छ- साइबेरिया वनको आदि र अन्त्य चरालाई बाहेक अरूलाई थाहा छैन ।

त्यति मात्र होइन, भारत-चीन दोक्लाम तथा भारत-पाकिस्तान कश्मिर युद्ध उस्तै छ । नेपाल¬-चीन, चीन-जापान, रुस-युक्रेन, स्पेन-मोरोक्को, जापान-कोरिया; विश्वमा यस्ता धेरै सीमा विवाद छन् र कालान्तरसम्म रहलान् । सायद, यो पनि समयको कुरुक्षेत्रमा चलिरहने युद्ध हो, जो कहिल्यै टुङ्गिँदैन । यिनै प्रातडना झेलेर युगौँसम्म बाँच्नुपर्ने सिमाना वारिपारि र तल-माथिका बासिन्दाको नियति होला ।

यता, कालापानी र लिपुलेकमा नेपाल-भारतको वर्षौँदेखि विवाद छ तर नेपाल भारतसँग खुम्चिएर बस्नु परेको छ । कन्चनपुरमा बेला-बेलामा भारतीय सीमा सुरक्षा बलले गोली हानेका घटना ताजै छन् । यी सिमानामा जन्मिनेहरू सीमा-रक्षक मात्र होइनन्, अभागी पनि हुन् । यिनले भाग्यमा आँसु मात्र लिएर आएका छन् । तैपनि, शान्तिको कामना गर्दै विश्व भाइचारा बढाउनु परेको छ । युद्ध र आतंकले जगतको हित गर्दैन भन्ने नै यस नियात्राको निचोड हो ।

० ० ० ०

इतिहास र माटो-प्रेम

सरसर्ती संसारभित्रका हरेक नियात्रामा आफ्नो भूमि र माटोप्रतिको अगाध प्रेम छचल्किएको छ । विश्व-भूगोल डुलिरहँदा नेपालका त्यस्तै ठाउँको चर्चा र तुलना गर्न छुटेको छैन । कृतिमा मात्र होइन, नियात्राकारको मुट्ठीमा माटो र हृदयमा देश छ । उनलाई पलपल मातृभूमिकै चिन्ताले लखेटिरहेको छ । अधिकांश यात्राको ट्रन्जिटमा उनी आफ्नो भूमि, माटो, विकास, प्राकृतिक मनोरमता र पर्यावरणीय चक्र कल्पेर भावुक हुन्छन् । अनि, मौलिक बतासले देउरालीमा हल्लाएको पीपलको पात सम्झेर हर्षविभोर छन् ।

अस्ट्रियामा जन्मेर जर्मनीमा रजगज गरेका हजारौँ यहुदीका संहारकर्ता हिटलरका एक-एक कृत्य जर्मनीले जोगाएर राखेको छ । अस्ट्रियामा साल्जबर्गको सिम्फोनी सुनिरहँदा त्यस सहरको भव्यताले तानिरह्यो । त्यहाँका कलात्मक भवनहरू दोस्रो विश्वयुद्धमा ध्वस्त भए पनि बडो जतनले पुनर्निर्माण गरिएको छ । विश्वमा यस्ता सयौँ हजारौँ वर्ष पुराना ऐतिहासिक संरचना संरक्षित छन् तर नेपालमा ती नामेट हुँदै छन् ।

१२ वर्षे युद्धकालमा देशले दर्जनौँ ऐतिहासिक, पुरातात्त्विक र सांस्कृति सम्पदा गुमायो । भत्काइएका, जलाइएका, ढलाइएका र पड्काइएका संरचनाहरूले पुनः जन्मिने मौका पाएनन् । राज्य सञ्चालकहरू कहिल्यै उत्तरदायी देखिएनन् । राजसंस्था अन्त्यसँगै यसका बहुमूल्य संरचनाहरू मेटिँदै छन् । पोखरा पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको सालिक हटाइयो । नारायणहिटी दरबारभित्रै गणतन्त्र स्मारक बनाएर इतिहासको मौलिकतामा धावा बोलियो । हामी इतिहास मेटेर भुस-यात्रामा छौँ । कूटनीति र राजधर्म सधैँ धार्नी र बिसौलीमा जोखिँदै छ । समयको चित्तामा जलिरहेको इतिहास हेरेर नियात्राकार विचलित छन् ।

साँच्चै, इतिहास वर्तमान र भविष्य हेर्ने दूरबिन हो । यो मेटिँदै गयो भने देशको हविगत के होला ? हामीले भोलिको पुस्तालाई हाम्रो संस्कृति, हाम्रा धरोहर, पूर्वजहरूको विरासत कस्तो थियो भनेर पढाउने ? त्यसतर्फ खोज, अनुसन्धान, पुनर्निर्माण वा विनिर्माण गरौँ, कृतिमा यही सन्देश पाइन्छ । प्रायः हरेक नियात्रा आफ्नो जन्भमूमि, माटो र त्यहाँको उन्नत विकास कल्पेर अन्त्य भएका छन् । भग्नावशेषबाट सूर्योदय हेर्दै उनी बोलेका छन्- विश्वका जुन कुनाका प्रसिद्ध प्राकृतिक स्थान पुग्दा पनि नेपाली मनलाई पिरोल्ने गर्छ ।  लाग्छ, नियात्राकार देश विकासको चिन्ताले भाउन्निएर डुलिरहेका हुन् ।

(क) भाषिक शिष्टता : राजतन्त्रात्मक मुलुक वा विश्वका ऐतिहासिक सहर र पुराना राजसंस्थाको वैभवशाली ठाउँ घुम्दा उनका शब्द निकै शालीन र शिष्ट भेटिन्छन् । प्रिन्स राजा भएको देश होस् वा बेलायत र पेरिसका राजा महाराजा वा नवाबहरूले बनाएका आलिसान महल, ओपेराहरू डुल्दा तिनको भाषिक शिष्टताको झल्को पाइन्छ । पाठकले कृतिको आदिदेखि अन्त्यसम्म यस्तै सुललित भाषिक रसपान गर्न पाउँछन् ।

(ख) संस्कृतको तिर्खा : नियात्राकार कृतिको अन्त्यतिर संस्कृत भाषा खोज्दै जर्मनीको हाइडलबर्ग विश्वविद्यालय पुगेका छन् । त्यहाँ उनले भाषा-साहित्य र पूर्वीय ज्ञान मिमांसाको वर्णन गरेका छन् । जर्मनीका १५ विश्वविद्यालयमा संस्कृत भाषा अध्ययन/अध्यापन गराइन्छ । पूर्वीय दर्शनशास्त्र, ज्ञानशास्त्र र नीतिशास्त्र रूपान्तरण भई पश्चिमतिर पुगेका छन् । … यस भाषाको समृद्धिबाट कति लाभान्वित हुन सकिन्थ्यो होला भनेर अहिले मलाई थकथकी लागिरहन्छ । यसरी उनी पूर्वीय भाषिक प्रेमले पग्लेका छन् । सम्भवतः यो आजको एउटा नेपाली बौद्धिक तप्काको प्रतिनिधि चिन्ता पनि हो ।

५ हजार वर्षअघिको संस्कृत भाषा संसारकै पुरानो मानिन्छ तर आज विश्व अंग्रेजीले निलेको छ । नेपालमा पनि अंग्रेजी राम्रो लेख्न र बोल्न नसक्नेलाई हेयको दृष्टिले हेरिन्छ । विश्वका हरेक नागरिकले अंग्रेजीलाई सम्पर्क भाषा मानेका छन् । संस्कृत भाषा यसरी नै विश्वविख्यात हुन सकेको भए पूर्वीय सभ्यता कति उचाइमा पुग्थ्यो ? पूर्वका देशहरू कति समृद्ध हुन्थे होलान् !

० ० ० ०

सुकरातसँगको भेट

युरोपको रेलमा एक फन्कोबाट उडेका उनी कौतुहलता, रहस्य, दुःख र हर्षको मायावी बताससँगै सुकरातको सहर ‘एथेन्स’मा पुगेर अवतरण भएका छन् । दुई हजार वर्षअघिका महान् दार्शनिक सुकरात सडकमा डुल्दै गरेका भेटिन्छन् । नियात्राकार उनैसँग रमाएका छन् । उनैका पाइला पछ्याउँदै नेपाली सुकरात (डा. गोविन्दराज भट्टराई) द्वारा सुकरातका पाइला र सुकरातको डायरी रचिए । पश्चिमी दर्शनमा पूर्वीय मसी चोपेर ती कृतिले हिमाली स्वाद पस्केका छन् । यी नियात्राकार पनि यात्रागीत गाउँदै देश-देशावर घुमी-हिँड्ने सुकरातकै विनिर्माण हुन् झैँ लाग्छ ।

ग्रिसको अलग्गै महत्त्व छ- जसले पाइथागोरसजस्ता प्रसिद्ध गणितज्ञ जन्मायो । उनकै कारण आज कम्प्युटरको गणना सम्भव भयो । एआईले विश्वको चुली नाघेको छ । विज्ञान र गणितमा प्रयोग हुने थिटा, बिटा, अल्फा, गामा, पाई, फाई सिग्मा त्यहीँबाट उत्पत्ति भए । यसले मेरो धूलिसाथ भएको विश्वविद्यालयको गणितीय पढाइका जरा-जरामा जल सेचन गर्‍यो । म केहीबेर त्रिभुवन विश्वविद्यालय र महेन्द्र रत्न क्याम्पस ताहाचलका गणितका कक्षाभित्र हराएँ ।

पश्चिमी सभ्यताको उद्गम बिन्दुमा उभिएर संसार परिवर्तनशील मात्रै होइन, क्षयशील पनि रहेछ भन्ने बोध भयो । अतः जतिसक्दो चाँडो देशभित्र उपलब्ध स्रोत साधनको सदुपयोग गरी उन्नतिको टाकुरामा पुग्न ढिलो गर्नु हुँदैन । मातृभूमिको विकासको भोकले रन्थनिएका नियात्राकारले यो कृति तयार गर्नुको एउटा ध्येय यो बुझिन्छ- देशले चाँडै उन्नतितिर पाइला दगुराओस् ।

० ० ० ०

प्रश्न-उत्तर

सरसर्ती संसार डुलिरहँदा मनमा केही जिज्ञासाका कोपिला उम्रिन्छन् । कति पाठकले तिनको जवाफ भेट्टाउलान् तर मेरो पाठकीय चक्षुले उठाएका केही प्रश्नहरूले भने उत्तर खोजिरहे-

१) पेज ३७ : … ईश्वरले बनाएको मान्छेमा कति फरक हुन्छ ? मान्छेलाई ईश्वरले बनायो र ? मिथअनुसार त होला तर आधुनिक मानव उत्पत्तिको सुरुवात त एक्स र वाई क्रोमोजोमको सम्मिलन नै होइन ? आज सुनेका, देखेका र भोगेका कति कुराहरू सयौँ, हजारौँ वर्षपछि मिथ बन्लान् । अहिले सुनिएका पौराणिक कथाजस्तै ।

२) पेज ४६ : अमेरिकालाई किन सपनाको देश भनिन्छ ? अमेरिका वर्णित धेरै कृतिसँग भेट भए पनि आजसम्म ठोस् उत्तर पाइएको छैन । के छ त्यहाँ, सपनाको देश हुनलाई ? तिनका मापदण्ड के-के हुन् ? नेपाललाई पनि त विकसित देशका नीति निर्माताले ‘स्वर्गको टुक्रा’ भन्छन् । यसैलाई ‘सपनाको देश’ बनाउन किन नसकिएको ? २०-३० लाख रुपैयाँ दलाललाई बुझाएर नेपालीहरू तल्लो बाटो किन जान्छन्, अमेरिका ? यसको चित्तबुझ्दो जवाफ पाइँदैन ।

३) पेज ४७ : नेपालमा जहाज एक घन्टा ढिलो भयो भने छटपटिने बानी छ । विमान कर्मचारी, सरकार र व्यवस्थापनलाई गाली गरिन्छ । अचम्म ! सपनाको देशमा समेत त्यस्तो हुँदो रहेछ । ५ बजे उड्नुपर्ने जहाज ११ बजे पनि उड्दो रहेछ । उडान ढिलो भएबापत क्षतिपूर्ति दिइँदो रहेछ । यस्तै-यस्तै उदाहरणका कारण सपनाको देश भनिएको हो त ?

४) सेक्स र सुन्दरता : प्रेमिल थाइल्यान्डको विकसित रूप र प्राविधिक चमत्कारको गज्जब स्वाद छ । थाइल्यान्ड भन्नासाथ सेक्सको प्रसङ्ग आउँछ । यससँगै नारीको सुन्दरता र मूल्य जोडिन्छ । थाइल्यान्ड डायरी पल्टाइरहँदा केही सुषुप्त प्रश्नहरू उत्रिए :

संसारमा नारीवादीहरूले सेक्सलाई मौलिक स्वतन्त्रतासँग जोडेर व्याख्या गर्छन् । हुन त, सेक्स संसारकै प्रिय वस्तु एवम् जैविक आवश्यकता र इन्द्रियहरूले लिने सबैभन्दा चरमोत्कर्षको तृप्ति होला । यद्यपि, संसारभरि महिला खेलौना वा तृप्तिको साधनमै बढी किन गनिन्छन् ? अल्पविकसित देशको नागरिकको दृष्टिमा सेक्स इन्द्रियहरूको भोकको आगो निभाउने पानी हो वा गरिबी छल्ने उपाय ? धनाढ्य देशका सम्पन्न नारीहरूले पनि यही पेशा अपनाएको पढ्दा, सुन्दा र गुन्दा ‘यौन व्यवसाय’ गरिबी छल्ने साधन मात्र रहेनछ ।

एसियाको थाइल्यान्डबाट युरोपको नहरै-नहरको सहर हल्याण्ड पुग्दा यौनको अर्को रङ्गिन बजार भेटिन्छ । त्यहाँको ‘डे वालेन’ नामको रेड लाइट क्षेत्र विश्वकै सर्वाधिक नगरबधू भएको क्षेत्र मानिँदो रहेछ । एसियामा थाइल्यान्ड सेक्स टुरिजमका लागि प्रसिद्ध भएजस्तै युरोपमा हल्याण्ड प्रसिद्ध । के नारीलाई यसरी बिक्रीयोग्य वस्तु बनाउन उचित छ ? कहाँ होलान् यसको जवाफ दिने नारीवादीहरू ?

यी अनुच्छेदमा आँखा दौडाइरहँदा १९औँ शताब्दीका महान् भारतीय आख्यानकार आचार्य चतुरसेनको उपन्यास बैशालीकी नगरबधू ‘फ्ल्यास ब्याक’मा आयो । त्यो बौद्धकालीन कृतिकी मुख्य पात्र आम्रपालीलाई सुन्दरता र सेक्ससँग जोडिएको छ । ऊ त्यो राज्यकै रुपसी भएकोले बिहे नगरी ‘नगरबधू’को रूपमा रहनुपर्ने कस्तो नियम ? देवताका पालामा पनि यस्तै हुन्थ्यो ? कि यो पौराणिक तथा पराआदिमकालदेखि जोडिँदै आएको एउटा विरासत हो ? पौराणिक स्वर्गका अप्सरादेखि उत्तरवर्ती युगका सुन्दरीहरू सबै यौनसँग किन जोडिन्छन् ? यी प्रश्नका उत्तर विश्वका नारीवादीहरूसँग छ कि छैन ?

० ० ० ०

घुम्नु, देख्नु र लेख्नु

समय एआईको रकेटमा अन्तरिक्षका अनेकन् सञ्जालमा झुण्डिएर बेगिएको छ । एआईका उत्पादनहरू इतिहासको फाँट बिर्सेर ऐकान्तिक संसार निर्माणमा जुटेका छन् । सरसर्ती संसारले इतिहास र वर्तमानलाई एउटै जुवामा नारेको छ । विश्व-इतिहास, खोज र समृद्धिलाई नेपालसँग तुलना गरेको छ । अतः यो विकासे योजनाको दस्ताबेज पनि हो । जसले, नयाँ पुस्तामा कौतुहलता, प्रेरणा र केही गर्ने हुटहुटी जगाउने तागत राख्छ ।

वैश्विक गोलार्द्धलाई सजिलै फन्को मार्न सक्ने क्षमताका जीवा लामिछाने एक भाग्यमानी नियात्राकार हुन् । भाग्य लेखिएर होइन, आफैँले लेख्न सक्नुपर्ने पनि रहेछ । उनीमाथि देश, माटो र आउने कति पुस्ताका लागि केही गर्नुपर्ने जिम्मेवारी छ । संसार घुम्ने मान्छे धेरै होलान्, घुम्ने र लेख्ने कम । अतः उनले संसार फन्को मारेर लेखिरहनु पर्छ । उदाइरहेको एआई पुस्तालाई समेत चकित पार्ने कथाका प्रसङ्ग उत्खनन् गरिरहनु पर्छ । तब, उनले देखेको संसारलाई हरेक नेपालीले चिहाउन सक्लान् ।

विश्वग्राममा छरिएका हरेक नेपालीले मातृभूमिप्रतिको कर्तव्य यसरी नै सम्झिरहुन् । यही भाव दोस्रो र तेस्रो पुस्तामा प्रवाहित हुँदै जाओस् । नेपाली जनमनमा चेतना, विवेक, निष्ठा, प्रतिज्ञा र विकासप्रतिको प्रतिबद्धता प्रवाह गराउन पनि जीवा बाँचुन्जेल घुमिरहुन् । अर्को, लोकको कथा लेख्ने एआई दुनियाँको खाका कोरिरहुन् । यस्तै वृत्तचित्र खिचिरहुन् ।