शनिबार गोकर्णेश्वर नगरपालिकाले प्रतियोगितात्मक गजल महोत्सव सम्पन्न गर्यो ।
महोत्सवमा ४५६ वटा प्राप्त भएका थिए । तीमध्ये ४१ जनाका गजललाई वाचनका लागि छनोट गरिएको थियो । वाचित गजलमध्ये विपिन सिजापति प्रथम हुनुभयो भने मुना बाेहाेरा दोस्रो हुनुभयो । प्रज्ज्वल अधिकारी तेस्रो रहनुभयो ।
उहाँहरूलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार रूपैयाँ प्रदान गरियो ।
यसैगरी भिजन गुरागाइँ, जगतबहादुर खड्का, लक्ष्मण दाहाल, संयोग बस्याल र प्रकाश समीरले नगद २० हजारसहित सान्त्वना प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रमुख अतिथि निर्देशक एवम् वरिष्ठ गीतकार यादव खरेल, नगर प्रमुख दीपककुमार रिसाल, पूर्व सांसद रामेश्वर फुयालले विजयी प्रतियोगीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
अन्तिम चरण पुगी वाचन गर्ने गजलकारहरूलाई बाटो खर्च नगद रू ३००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस गजल प्रतियोगिताका निर्णायकहरूमा प्रभाती किरण, करुण थापा र घनेन्द्र ओझा हुनुहुन्थ्यो । प्रभाती किरणले सो अवसरमा वाचित गजलबारे टिप्पणीसहित छनोटका आधारबारे आफ्ना धारणाहरू राख्नु भएको थियो ।
सो अवसरमा अतिथि गजलकार बाबू त्रिपाठी, शान्ति शर्मा , मेनका आचार्य पोखरेल , सुदिप कुमार ढुंगाना , भवानी अर्याल , शारदा पराजुली आदिले गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गजलकारहरू ज्ञानुवाकर पौडेल, विजय चालिसे, गंगा अधिकारी खोलाघरे साइँलो, विमल अर्याल, रामबहादुर पहाडी, रवि प्राञ्जल, शान्ति शर्मा, गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख बैकुण्ठ सापकोटा, शिक्षा शाखा प्रमुख दण्डपाणि शर्मा लगायत अन्य वरिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन गोविन्द घिमिरे वेदमणिले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।