
गोकर्णेश्वर नगरपालिकाले हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । नव वर्ष २०७९ को पूर्वसन्ध्यामा विशेष अतिथि कलाकारहरूको उपस्थितिमा नगरपालिकाले ‘वृहत् राष्ट्रिय हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता’ आयोजना गर्ने भएको हो ।
प्रतियोगिताका लागि समसामयिक विषयमा हाँस्य चेतको प्रयोग गरेर लेखिएका मौलिक कविता पठाउन नगरपालिकाले आव्हान गरेको छ । कविताको विषय नेपालको संविधान तथा कानुनसँग नबाँझिने र कसैको चरित्र हत्या नहुने गरी लेखिएको हुनुपर्ने छ । साथै, कविताको शब्दसीमा २ सय शब्द तोकिएको छ । त्यसभन्दा धेरै शब्द भएका कवितालाई प्रतियोगितामा समावेश नगराइने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने कविताका स्रष्टाले प्रमाणपत्रसहित ५० हजार रूपियाँ (करबाहेक) प्राप्त गर्नेछन् । त्यस्तै, द्वितीय तथा तृतीय हुनेले क्रमशः प्रमाणपत्रका साथमा ३० हजार रूपियाँ र २० हजार रूपियाँ प्राप्त गर्नेछन् । त्यस्तै, सान्त्वना पुरस्कार स्वरूप तीन जनालाई १० हजार रूपियाँका दरले पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताका लागि रचना पठाउने अन्तिम मिति २०७८, चैत्र १० गते रातको ११ बजेर ५९ मिनेटसम्म रहनेछ । त्यसपछि प्राप्त कविताहरूलाई प्रतियोगिता समावेश गराइने छैन ।
कविले आफ्नो रचना A4 साइजको कागजमा प्रिती फन्टमा एकातिर मात्र स्पष्ट बुझिने गरी टाइप गराई/गरी मेलमार्फत् gokarneshwor.shikshya2019@gmail.com मा पठाउनु पर्नेछ । अथवा स्वयं उपस्थित भई गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन पनि सकिनेछ ।
रचना पठाउँदा रचनाकारले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, मोवाइल नम्बर, इमेल ठेगाना तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसमेत कवितासँगै संलग्न गरी पठाउनु पर्नेछ ।
प्राप्त रचनाहरूमध्ये विज्ञ समूहको मूल्याङ्कनका आधारमा वाचनका लागि कविहरूको नाम सार्वजनिक गरिनेछ । कार्यक्रम हुने दिनमा वाचनका लागि स्वीकृत भएका रचनाको रचनाकारलाई आमन्त्रण गरिनेछ । त्यस दिनमा रचनाकार स्वयं उपस्थित भई आफ्नो रचना प्रस्तुत गर्नु पर्नेछ । स्थलगत मूल्याङ्कनका आधारमा पुरस्कृत व्यक्तिहरूको छनौटसहित सोही दिन पुरस्कार वितरण गरिनेछ । अन्तिम नतिजाका लागि वाचनको कार्यक्रम गोकर्णेश्व नगरपालिकाको कार्यलय (आरूबारी चोक) मा चैत १८ गते हुनेछ ।
कविता अप्रकाशित हुनुपर्ने छ । साथै, प्रतियोगिताको नजिता नआउन्जेलसम्म अन्यत्र प्रकाशन गर्न पाइने छैन । प्रतियोगितामा पठाइएका रचना कतैबाट चोरिएको वा कतै प्रकाशित भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने नगरपालिकाले जनाएको छ ।
थप जानकारी चाहिएमा नगरपालिकाको सम्पर्क नम्बर ०१४९१२१४० वा ९८२८०८९६५४ मा सम्पर्क गरी बुझ्न सकिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा पहिलो हुने सिजापतिलाई नगद ६० हजार
