काठमाडौं, वैशाख २४ / गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम हुनुभएको छ ।

प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय हुनुभयो ।

यसै गरी भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

पुरस्कृत गजलकारहरूलाई कार्यक्रमका सभापति तथा प्रमुख अथिति लगायत अतिथिहरुले नगद, प्रमाण प्रदान गर्नुभएको थियो ।

पुरस्कृत गजलकारहरुमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना रु. २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाललले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरू गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल बिधामा युवा पुस्ताको आकर्षण लोभलाग्दो रहेको बताउनुभयो । कार्यक्रममा पूर्व मन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसे लगायतका वक्ताहरूले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

मुलुकका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो । प्रतियोगितामा वाचन गरिएका गजलहरुको मूल्यांकनकर्तामा करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझा रहनुभएको थियो ।