अभिनव साहित्य समाजको आयोजना र गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रमअन्तर्गत संस्मरण लेखन प्रशिक्षण एवम् लेखन प्रतियोगिता सम्पन्न भएको छ । जसमा मा.वि. स्तरीय छात्राहरू तथा शिक्षिकाहरूलाई अगल अलग संस्मरण लेखन प्रशिक्षण तथा लेखन प्रतियोगिता गराइएको थियो ।
विभिन्न विद्यालयका २५ जना शिक्षिका र ७७ जना छात्राहरूले संस्मरण प्रशिक्षण तथा लेखन प्रतियोगितामा भाग लिएका थिए । अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’को सभापतित्वमा भएको यस कार्यक्रममा गो.न.पा. वडा नं. ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसैगरी, अथितिहरूमा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साहित्यकार रामचन्द्र दाहाल, सहित्यकार तथा समाजसेवी वसन्त रिजाल, शिक्षासेवी राजभाइ धौगोडा, शिक्षासेवी अनिल पराजुली, वडा नं. ५ का वडा सदस्यद्वय लक्ष्मी पुडासैनी र श्री योगी रहेका थिए ।
प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर उट्घाटन गरिएको कार्यक्रममा भैरव स्मृति भवनको वासुदेव लुँइटेल हलमा छात्राहरूलाई र रमेश विकल हलमा शिक्षिकाहरूलाई संस्मरण तथा आत्मकथा लेखन गराइएको थियो । दिउँसो १२ः४५ बजेबाट सुरु भएको यस कार्यक्रममा सभापतिले कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथि नारायणबहादुर सुवेदीले अभिनव साहित्य समाजले गरेको यो कार्यक्रम अत्यन्त आवश्यक र सार्थक रहेको भन्दै यस्ता कार्यक्रमले महिलामा साहित्य लेखनको जागरण ल्याउने कुरा बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाले प्रायोजन गरेको यो कार्यक्रम अत्यन्त उत्साहपूर्ण रहेको जानकारीसमेत गराउनुभयो । वहाँले यस्ता अभियानहरूमा नगरपालिका सदैव सहयोगी रहने पनि बताउनुभयो ।
साहित्यकार एवम् अभिनव साहित्य समाजका सचिव परशुराम पराशर र साहित्यकार मेनका पोखरेल आचार्यले संस्मरण लेखन प्रशिक्षण दिनुभएको थियो भने प्रतियोगीहरूलाई साढे एक घण्टासम्मको अवधि संस्मरण लेख्न दिइएको थियो । संस्मरण लेखनपश्चात् शिक्षिका एवम् छात्राहरूलाई विभिन्न खेलहरू खेलाएर पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा सहभागी हुने सबैलाई सहभागिताको प्रमाणपत्र दिइएको थियो । कार्यक्रमको सञ्चालन अभिनव साहित्य समाजका सहकोषाध्यक्ष शारदा पराजुलीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।