बघिनीको अड्डामा सिकार गर्न नआउनु
मलाई पनि शिकारीको सिकार गर्न आउँछ

टिकटकलगायतका सामाजिक सञ्जालमा निकै रुचाइएको, धेरै भ्युज आएको यो शेर अरू कसैको नभएर चर्चित गजलकार एवं गजल अभियन्ता संगीता थापा मगरको हो ।

१५ वर्ष अघिदेखि गजल बुझ्दै, लेख्दै, गाउँदै, त्यसैमा रमाउँदै आउनुभएकी संगीता थापालाई पनि युवाहरूलाई जस्तै नेपालमा बसेर के गर्न सकिउँला र ? भन्ने प्रश्नले सताएको रहेछ । विभिन्न मिडियामा विभिन्न कार्यक्रममा संलग्न भएर अरूका सपनामा साथ दिइरहेकी संगीतालाई आफ्नो अस्तित्वको खोजीले पछ्याउन थाल्यो ।

यही अस्तित्वको खोजी गर्दै जाँदा उहाँले आफ्नो सपनाको नजिक पुगेको अनुभव गर्नुभएको छ । त्यो सपनाको नाम हो–विम्ब आर्ट्स । यही संस्थाले पहिलो पटक ‘उत्सव’ शृङ्खलाका रूपमा आफ्नो सुन्दर पाइला चाल्दै छ ।

हरेक दुई महिनामा काठमाडौँको मन्डला थिएटर थापा गाउँमा एउटा यस्तो गजल उत्सव हुँदै छ, जसलाई संगीता थापाले आफ्नो सपनाको गोरेटो मान्नु भएको छ । यो सपनामा साथ दिन पहिलो कडीमा आइपुग्नु भएको छ, गजलकार डा. निरज भट्टराई ।

कार्यक्रम सशुल्क हुनेछ । त्यसलाई साथ दिएको छ, साहित्यपोस्ट (इ) दैनिकले । जसलाई स्थान उपलब्ध गराइदिएको छ, मण्डला थिएटरले । त्यसबाहेक आभा, मायावी कलेक्सन, साङ्ग्रीला पब्लिकेशन जस्ता संस्थाहरूले पनि साथ दिएका छन् । समग्रमा संगीताको सपनाले उत्सवको रूप लिन थालेको प्रतीत हुन्छ ।

टिकट मूल्य नराखी निःशुल्क यो उत्सव गराउन वा टिकट काटे पनि थोरै मूल्य राख्न शुभचिन्तकहरूले नसुझाएका होइनन् । तर यो गजलको थोरै भए पनि मूल्य हुनुपर्छ भन्ने उहाँको आशयले आखिरमा जितिछाड्यो ।

“कोही कोहीले यो मूल्य धेरै नै भएन र ? कोही कोहीले ५ सय, २ सय को दरले फरक फरक बनाऊ न भन्ने अन्तर्क्रियाहरू पनि आइरहेको छ र पनि म यहाँबाटै भन्न चाहेँ — सबैलाई मूल्य निष्पक्ष होस् । यदि आउने मन छ र केही असुविधा छ भने पनि मसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नु हुनेछ ।”

उहाँ भन्नुहुन्छ, “सिर्जनालाई मूल्य तोक्न खोजेको चाहिँ होइन । माेडेल, अभिनय, पत्रकार, आख्यानकार आ¬–आफ्नो क्षेत्रमा कमाइरहेका छन् । गजलको पनि आफ्नो मूल्य तोक्नु पर्छ जस्तो लाग्छ ।”

यस उत्सव शृङ्खला हरेक दुई दुई महिनामा सञ्चालन हुनेछ । वर्षभरिमा ६ वटा गजल श्रृङ्खला जसमा ५ वटा श्रृङ्खला गजल वाचन हुनेछन् भने अन्तिम शृङ्खलामा चाहिँ वाद्यवादनसहित गजल गायन हुने गजलकार संगीताले बताउनुभयो ।

सपनालाई अन्तिम रूप दिन लागिपर्नु भएकी संगीता भन्नुहुन्छ,  “मेरो सपना, गजलकारलाई राम्रै पे गर्छु भन्ने चाहिँ छ । यसको लागि धेरै मिहिनेत गर्नु पर्ने हुन्छ र गर्छु पनि । सुरु सुरुमा त आफ्नै खल्तीबाट गर्ने विचार गरिरहेको छु । यदि कोही सहयोगको लागि हुनुहुन्छ भने  म उहाँलाई स्वागत  गर्छु । आफूले जस्तो सहयोग गर्न सक्नुहुन्छ जस्तै क्यामराको लागि रविन श्रेष्ठ र अरू एक दुई जना साथीहरू हुनुहुन्छ । आर्थिक सहयोग चाहिँ पाएको छैन । यसको लागि पनि मैले मेरो काम देखाउनु पर्ने हुन्छ ।”

“हुन त गजलको कार्यक्रमहरू नभएको होइन र पनि नेपाली गजलको चाहिँ स्पष्ट देखिने बहर र गैर बहर भन्ने दुई धारका लागि पनि बहस गर्नु पर्ने हुन्छ ।  आजभोलि यसमा छलफल भन्दा पनि झगडा बढी भइरहेको छ । यसलाई रोक्नका लागि म सङ्घर्ष गरिरहेको छु ।’
यही वैशाख २३ गते हुने यो कार्यक्रम बढीमा एक घण्टाको हुनेछ ।

कार्यक्रमको पहिलो श्रृङ्खलामा डा. निरज भट्टराईलाई नै किन ल्याइयो भन्ने कुरामा संगीताको भनाइ छ, “देशबाहिर हुनु भएकाले उहाँलाई हामी कमै सुन्न पाउँछौँ, उहाँ गजल साधक भएका कारण  कार्यक्रम अझ महत्त्वको हुनेछ । उहाँलाई सुन्न पाउनु गजलकारहरूका लागि सौभाग्य हो जस्तो लाग्छ ।”