
गोपी मैनालीको जीवनीमूलक पुस्तक ‘रमेश विकल समालोचनात्मक अन्वेषण’को परिचर्चा सम्पन्न भएको छ । साहित्यपोस्टको कार्यालय अनामनगरमा भएको उक्त कार्यक्रममा लेखक गोपी मैनालीको साथमा समीक्षकत्रय शैलेन्दुप्रकाश नेपाल, महेश प्रसाईँ र युवराज मैनालीको उपस्थिति थियो ।
नेपाली कथा साहित्यमा गुरुप्रसाद मैनालीपछिको उत्तराधिकारीका रूपमा देखिएका रमेश विकलको आख्यानकारिताको सबैले उच्च प्रशंसा गरेका छन् । गोपी मैनालीको पुस्तकमा पनि यही विषय प्रधान भएर आएको कुरा परिचर्चामा देखियो । समीक्षक शैलेन्दुप्रकाश नेपालले रमेश विकललाई कथाकार गुरुप्रसाद मैनालीको उत्तराधिकारी भएकै कारण उनको कथाकारिताको सामाजिक पक्ष सबल देखिएको बताउनु भयो । समाज पक्षमा रमेश विकलपछि अर्को सशक्त कथाकार खोज्न गाह्रो हुने बताउँदै उक्त पुस्तकमा गोपी मैनालीले यो कुरा स्पष्टसँग लेख्नुभएको औँल्याउनुभयो । पुस्तकमा नेपाली कथा साहित्यका चार स्तम्भ मध्ये एक खाँबो रमेश विकल भएको कार्यक्रममा निष्कर्ष निकालियो ।
गोपी मैनालीका दाजु तथा साहित्यकार युवराज मैनालीले लेखकको पारिवारिक पृष्ठभूमि उल्लेख गर्दै लेखकले यसअघि पनि युगकवि सिद्धिचरण श्रेष्ठको जीवनीमूलक समालोचनाको पुस्तक लेखिसक्नु भएको जानकारी गराउनु भयो । दुबै दाजुभाइ साहित्यमा कसरी आकर्षित हुनुभयो भन्ने कुरा पनि कार्यक्रममा रोचक रूपमा प्रस्तुत भएको थियो । उहाँले रमेश लेखक माथिको यो पुस्तक लेखिसकेपछि अर्को पुस्तक लेख्नुपर्ने आवश्यकता नै नभएको, एउटा साङ्गोपाङ्गो र गहिरो पुस्तक प्रकाशन भएको जिकिर गर्नुभएको थियो ।
कार्यक्रममा अर्का समीक्षक महेश प्रसाईँले नेपाली साहित्यका कालजयी कथा लेख्ने रमेश विकलमाथिको साङ्गोपाङ्गो पुस्तक लेखेर लेखक गोपी मैनालीले नेपाली साहित्यमा गज्जबको काम गर्नुभएको बताउनु भयो । उहाँले रमेश विकलको शैक्षिक योग्यतादेखि कतिपय नदेखिएको पाटो पुस्तकमा आएकाले यो पठनीय भएको बताउनु भयो ।
कार्यक्रममा लेखकको प्राञ्जल भाषा शैली र गहिरो प्रस्तुति पुस्तकको राम्रो पक्ष भएको चर्चा भएको थियो ।
लेखक गोपी मैनालीले पुस्तक लेखिनुको कारण उल्लेख गर्दै अध्ययनका क्रममा पुनः रमेश विकललाई अध्ययन गर्न पाउँदा जीवन सार्थक भएको महसुस भएको बताउनु भयो । तकमाथि तकमाथि ‘करिब ८ महिना यो पुस्तकमाथि काम गर्दा मैले पहिले पढेको रमेश विकललाई अझ गहिरिएर महसुस गर्न पाएँ । यो मेरालागि जीवनको महत्त्वपूर्ण दिनहरू मध्ये एक थिए ।’
कार्यक्रमको सञ्चालन साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रमको सम्पूर्ण कुराकानीका लागि तलको भिडियोमा क्लिक गनुहोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

